बैशाख १, २०८१ शनिबार

 न्याय सेवा तर्फ अधिकृतमा ४२ प्रतिशत महिला सिफारिस 



काठमाडाैं । लोकसेवा आयोगबाट यो वर्ष न्याय सेवा तर्फको शाखा अधिकृत पदमा ४२ प्रतिशत महिला सिफारिस भएका छन् । आयोगले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार न्याय, कानून र सरकारी वकिल समूहको परीक्षा उत्तीर्ण गरी जागिरमा नियुक्तिका लागि सिफारिस भएकामध्ये ४२.१९ प्रतिशत महिला सफल भएका हुन् ।  

लोकसेवाले  आर्थिक वर्ष २०७६/०७७ को विज्ञापन १६६८६ देखि १६६९२ सम्मका ७ वटा सूचनाबाट २३७ जनाको पदपूर्ति गरेको छ । जसमध्ये विभिन्न चरणमा भएको लिखित परीक्षा, सामूहिक परिक्षण, सूचना प्रविधि सीप परिक्षण र अन्तरवार्तामा १०० जना महिला मात्रै उत्तीर्ण भएका छन् ।

आयोगले गत पुस १५, १६ र १७ मा सञ्चालन गरेको लिखित परीक्षाबाट उत्तीर्ण भएका उम्मेदवारहरूको गत साउन १० देखि १८ गतेसम्म भएको अन्तरवार्ता, सामूहिक परिक्षण र सीप परिक्षण गरेको थियो । सबै परीक्षाको एकमुष्ट प्राप्तांकबाट योग्यताक्रम तोकी बुधबारमात्रै योग्यताक्रमका आधारमा उनीहरूलाई सिफारिस गरेको छ ।

आयोगको विज्ञापन नम्बर १६६८६ को खुलातर्फको परीक्षामा सिफारिस भएका १०४ जनामध्ये ४६ जना महिला छन् । खुल्लातर्फ लिखित परीक्षा पास गरेका १७९ जना मध्ये  १६९ जना उपस्थित भएका थिए।

त्यस्तै विज्ञापन नम्बर १६६८७ को महिला तर्फ ३७ जना सिफारिस भएका छन् । महिलातर्फ लिखितमा १०४ जना उत्तीर्ण भएकोमा १०३ जना अन्तरवार्तामा सहभागी थिए । महिलातर्फ लिखितमा नाम निकालेका मध्ये ४३ जना खुलातर्फ नै सिफारिस भएका छन् ।

विज्ञापन नम्बर १६६८८ को आदिवासी जनजातितर्फ १५ जना महिला सिफारिस भएका छन् । सो विज्ञापन अन्तर्गत ३० जना माग गरेकोमा ४८ जनाले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

आयोगले लिएको विज्ञापन न. १६६८९ को मधेसीतर्फ १५ जना सिफारिस भएकोमा १ जना महिला छन्। दलित कोटातर्फको विज्ञापन नं. १६६९० बाट ८ जनामध्ये ३ जना महिला सिफारिस भएका छन् । त्यस्तै अपाङ्ग आरक्षण कोटाको विज्ञापन नम्बर १६६९१ बाट सिफारिस ६ जना मध्ये १ महिला छन् । पिछडिएको क्षेत्रमा सिफारिस भएका ५ जनामा भने महिला सिफारिस भएका छैनन् ।

नाम निकाल्न सफल भएकाहरूमध्ये सरकारी वकिल समूहका उम्मेदवारलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र न्याय र कानून समूहका उम्मेदवारहरूलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा नियुक्तिका लागि सिफारिस गरिएको लोकसेवाले जनाएको छ ।