बैशाख ८, २०८१ शनिबार

नेपाली महिला पनि भोक, शोक सबै आत्मसात गरेर बस्नु परेको छ, अफगानी जस्तै



अमेरिकन सेनाहरूले छोडेपछि अहिले समय समयमा अफगानिस्तानमा गोली चलेको समाचार हेरिरहेकी छु । आजका दृश्यहरू देख्दा म १८ वर्ष अघि कसरी त्यहाँ बसेछु, सम्झँदा पनि अत्यास लाग्छ ।

मलाई लाग्छ- तालिवानी सेनाले अब महिलालाई काम गर्न दिने छैन । १८ वर्ष अघि म त्यहाँ जाँदा अफगानिस्तानका गाउँहरू अस्तव्यस्त देखिन्थे । भत्किएका घर र कति ठाउँमा रसियनले देश छाडेपछि फ्याँकेका बन्दुकहरू भेटिन्थे । हिलो र माटोले गर्दा गाडी भासिएका सडकहरू देखिन्थे । मानिसहरू उदास, चुपचाप, मौन देखिन्थे । मानौं उनीहरू मसानमा छन् जस्ता ।

त्यो बेलामा पनि महिलाहरू घर बाहिर निस्कन र पढ्न बन्देज थियो । विवाहित महिलालाई बाहिरका मानिससँग कुरा गर्न बन्देज थियो । नेपालबाट त्यहाँ पुगेकी मेरो लागि यी सबै छक्क पर्ने विषय थियो ।

‘तिमीहरूमाथि यस्तो अत्याचार हुँदा पनि किन नबोलेर बसेको ? कसरी यस्तो अत्याचार सहेको होला, कस्ता साहस नभएका मानिसहरू तिमीहरू त,’ मैले अफगानिस्तानमा रहँदा एक डाक्टर सहकर्मीलाई भनेकी थिएँ ।

‘किन तिमीहरू यस्तो अत्याचारको विरुद्धमा र आफूलाई परेको पीडाको विरुद्धमा बोल्दैनौ ?,’ मेरी सहकर्मी डाक्टर नजिमा, तालिवान शासनको समयमा दुःख खपेर आएकी एक अफगानी महिला थिइन् । नजिकै बसेका उनका श्रीमान् पनि डाक्टर थिए । महिला सहकर्मी डा. नजीमाले मलाई हेरिन् तर, केही बोलिनन् । मुस्कुराइन् मात्र ।

किनभने उनलाई अङ्ग्रेजी भाषामा बोल्न आउँदैन थियो, तर उनी भाषा बुझ्थिन् । डा. नजीर अर्थात् नजिमाको पतिचाहिं पाकिस्तानमा केही समय बसेकाले अङ्ग्रेजीको बढी ज्ञान थियो । उनले भने– ‘तिमीहरूलाई के थाहा ? हतियार हातमा भएका मानिसहरूको अगाडि बोल्दा कति सतर्क हुनुपर्छ ।’

‘तालिवानको शासनमा महिलालाई बाहिर काम गर्न नदिइने भएको हुनाले यसले अफगानी समाजको शिक्षा, राजनीति र स्वास्थ्यलाई नराम्रोसित भत्काइदिएको छ,’ ताहिराले भनिन् ।

मलाई एकजना डाक्टर साथीले आफ्नो तीतो अनुभव सुनाएका थिए । उनको अनुभव थियो– ‘एकपटक म क्लिनिकमा काम गर्दै थिएँ । एक महिला आफ्नो बिरामी बच्चा लिएर मकहाँ आइन् । उनी बाहिर कुरिरहँदा केही तालिवान् पुलिस मेरो क्लिनिकभित्र आएर बाहिर ती महिला के गर्दैछन् भनेर केरकार गरे । मैले भनेँ कि उनको बच्चा बिरामी छ र मकहाँ जँचाउन ल्याएकी हुन् । तर उनीहरूले मलाई ती महिलालाई नजाँच्न आदेश दिए र भने कि म एक पुरुष भएको हुनाले मैले उसलाई जाँच्न पाउने छैन । म निराश भएँ । मैले ती बच्चा लिएर फर्किन आग्रह गरेँ । उनी पनि धेरै दुःखी भइन् र मेरो सामु रोइन् पनि । मलाई यति एकदमै बेसहारा र ग्लानी अनुभव भयो कि मैले मेरो डक्टरी पेशा र अफगानिस्तान नै छोडेँ ।’ ती साथी अहिले पाकिस्तानमा छन् ।

ती डाक्टर एक्लो व्यक्ति होइनन्, जसले यस्ता तीता अनुभवहरू सङ्गालेका छन् । अफगानिस्तानमा महिला डाक्टरहरूको पीडा पनि उस्तै थियो र तिनीहरूलाई कडा नियमको पालना गर्नुपर्थ्यो । एकजना महिला डाक्टर भन्छिन्– ‘एकपटक ट्याक्सीमा गइरहँदा मलाई अफगानिस्तानको धार्मिक प्रहरीले लखेट्यो । तिनीहरूले मलाई रोके र सोधे– तिमी किन एक्लै हिँड्दै छौ ?’

मैले भनेँ– ‘म डाक्टर हुँ र अस्पतालतर्फ जाँदैछु ।’ तिनीहरूले मेरो कुरा विश्वास नगरेपछि मैले मेरो हाकिमलाई बोलाएँ । मेरो आफ्नो बुर्का उतारेपछि हाकिमले मलाई चिनाउनुभयो । तर उल्टो उनले मलाई डण्डाले हिर्काए र मेरो शरीरमा घाउ बनाए । यस्ता घटनाले अफगानी महिला तथा पुरुष दुवैलाई कैदमा झैँ बस्न बाध्य गराएको थियो । त्यस्तो अवस्थामा मैले कसरी काम गरेँ हुँला भन त ।’

तालिवानहरूले अफगानिस्तानमा राज्य गर्दा उनीहरूका विरुद्धमा बोल्ने त के कुरा आँखामा आँखा मिलाएर हेर्न पनि सकिँदैनथ्यो । कडा धार्मिक कानून लागू गरेर उनीहरूले देशलाई एउटा जेल बनाएका थिए । कसैले उनीहरूको विरुद्धमा बोल्यो कि गोली खानुपर्थ्यो वा जेल जानुपर्थ्यो । अनि को बोल्ने ?

‘तर अब त बोले हुन्छ नि,’ मैले भनेकी थिएँ, ‘तालिवानहरू गए अब तिमीहरू कहाँ सुरक्षा गर्ने फौज छ र जुन तिमीहरूको धार्मिक कानून छैन।’

‘त्यस्तो लाग्छ बाहिरबाट हेर्दा,’ डा.नजिरले भने– ‘तर स्थितिमा त्यति धेरै सुधार छैन । तालिवानहरू गाउँ–गाउँमा अझै छन् । उनीहरूको पालामा भनेका कतिपय कानून तोड्न हामीले सकेका छैनौं । अनि फेरि शक्तिशाली भएर उनीहरू आए भने आज हामीले बोलेका गरेका कुरालाई लिएर नै गोली ठोक्न बेर छैन ।’

डा.नजिरका कुरा सुनेर मलाई अफगानीहरूको अवस्थाप्रति दया लागेको थियो । छ महिनासम्म अफगानिस्तानमा बस्दा प्रत्येक दिन कुनै न कुनै घटनाले मलाई उनीहरू यस्तो पीडा सहेर कसरी बसेका होलान् जस्तो लाग्थ्यो ।

डा.नजिरका कुरा सुनेर मलाई अफगानीहरूको अवस्थाप्रति दया र एकप्रकारको गहिरो सहानुभूति जागेको थियो । छ महिनासम्म अफगानिस्तानमा बस्दा प्रत्येक दिन कुनै न कुनै घटनाले मलाई उनीहरू यस्तो पीडा सहेर कसरी बसेका होलान् जस्तो लाग्थ्यो । अहिले अमेरिकी सेनाले अफगानिस्तान छोडेपछि पुनः त्यहीँ चक्र दोहोरिन लागेको छ ।

अफगानिस्तानको हेरात शहरको एउटा मस्जिदमा महिला भएको कारणले मलाई भित्र पस्न दिइएन । मैले मस्जिदको बाहिरी भागको मात्र फोटो खिचेँ । मसँगै गएका पुरुष सहकर्मीले चाहिँ मस्जिदभित्र गए, फोटो खिचे ।

महिला भएकै कारणले म अफगानिस्तानमा एक्लै, स्वतन्त्र हिंड्न पाइनँ । ‘बुर्का लगाएर हिँड र कुनै सुरक्षा गार्डलाई साथमा लिएर जाऊ,’ मलाई भनिन्थ्यो । दुईवटै कुरा मान्य नभएपछि म घर र अफिस मोटरमा आउने जाने मात्रै गर्थेँ ।

त्यो देशमा छ महिनाको लागि मात्र आएकी मलाई उनीहरूको कानून र संस्कृतिको विरुद्धमा बोल्नु जरुरी थिएन । त्यसैले झण्डै छ महिना म केवल मोटरमा ओहोरदोहोर गर्ने व्यक्ति बनेँ ।

नेपाल आउनुभन्दा एक दिन अघि काबुल शहरको केही भाग हेर्नुपर्‍यो भन्ठानेँ । मैले मेरो ‘एक्लै हिंड्न नपाउने भए नहिंड्ने भन्ने’ आत्मसम्मानलाई केही छिन् बिर्सेर एउटा गार्डलाई लिएर हिँडे । मेरो हातमा भएको रेडियोबाट मैले बारम्बार आफ्नो अफिसमा खबर दिनुपर्थ्यो । एक घण्टाजति हिँडेपछि र तालिवानको पालामा नष्ट गरिएका मात्र छोडेर हिंडेका महिला, धूलो र उजाड काबुल देखेपछि मलाई अन्त कतै जान मन लागेन ।

अफगानिस्तानमा म हुँदा नेपालमा पनि माओवादीहरूले दुःख दिइरहेका थिए । उनीहरूले नेपालका कति गाविसहरू ध्वस्त पारेका थिए । माओवादीले राजनीतिको नाममा र तालिवानले धर्मको नाममा नष्ट गरे ।

अफगानिस्तानको गाउँहरूमा पनि त्यस्तै भत्किएका घर र कति ठाउँमा कसैले फ्याँकेका पुराना बन्दुक देखिन्थे । हिलो र माटोले गर्दा गाडी भासिएका सडकहरू देखिन्थे । मानिसहरू उदास, चुपचाप, मौन र मानौं मसानमा छन् जस्ता देखिन्थे ।

अब सम्भवतः त्यस्तै दिनहरू शुुरु हुनेछन् । जसरी माओवादीको पालामा डरले गाउँका मानिसहरू रात नपर्दै घर छिर्थ्यो । अफगानिस्तानमा यी सबै देखेपछि ‘नेपाल पनि माओवादी युद्धको कारणले यस्तै अवस्थाबाट गुज्रिरहेको’ भन्ने विचार गरेकी थिएँ । तर अफगानीहरू त भागेर जान पनि नसक्ने । मैले अफगानिस्तान बसुन्जेल ‘अफगानी विचराहरू त जेलमा नै बसेका रहेछन् त’ भन्ने महससुस गरेँ ।

त्यहाँ बस्दाँ लेख्न र बोल्न डर लाग्यो अफगानिस्तानको बारेमा । तालिवानको हातमा बन्दुक र गोली भएकोले उसले जे चाहन्छ, त्यही नै हुन्छ । अफगानिस्तानमा कसैले तालीवानको आलोचना गर्ने साहस गर्दैन । शायद अब अफगानिस्तान १०० वर्षपछि जान्छ होला ।

अफगानिस्तानमा अस्पताल, औषधिहरू प्रायः पाइँदैन थियो । नेपालमा पनि अछामका जनताहरू औषधि नपाएर तड्पिन्छन् । अफगानिस्तानका स्वास्थ्यचौकी, अछाम र कर्णाली पुग्दा अस्पतालहरू प्रायः डाक्टरविहिन र औषधिविहिन देखिन्छन् । त्यहाँका महिलाहरू बोक्सी र बलात्कारको शिकार भए पनि स्थानीय सरकार मौन हुन्छ । अझ कति ठाउँमा त अगुवाहरू नै बलात्कारी हुुन्छन् ।

अफगानिस्तानमा जस्तै नेपाली महिला कुसंस्कारको कारण दुःखी छन् । अफगानी महिलाहरू सबै कुरा सहेर बस्छन् । म काबुल र अफगानिस्तान घुम्दा त्यहाँका महिलाहरूले बुर्का लगाएको देख्दा दुःख लाग्यो । अहिले नेपाली महिलाहरू पनि भोक, शोक सबै आत्मसात गरेर केही भएको छैन जस्तै गरेर बस्नु परेको छ, अफगानी महिला जस्तै ।

त्यहाँ कति महिलाहरू प्रसुतिको बेला मर्छन्, तथ्याङ्क छैन । नेपालमा तथ्याङ्क त छ, तर विश्वास गर्न लायक छैन । अर्को महत्वपूर्ण यथार्थ के छ भने अफगानिस्तानमा बोल्न पाइन्न, नेपालमा धन्य बोल्न पाइन्छ । अनलाइनखबरबाट