चैत्र १५, २०८० बिहीबार

नेपालकाे पहिलाे महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य



वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका हुन्।

त्यसअघि बुधबार विहान शाक्यलाई नेकपा एमाले वागमती प्रदेश संसदीय दलको नेता चयन गरेको थियो। मुख्यमन्त्री पौडेलले आज वागमती प्रदेश एमाले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता बनाइएको थियो।

शाक्य नेपालमा मूख्यमन्त्री बन्ने पहिलाे महिला हुन्  नेपालमा संघीय प्रणालीको शुरूआत भएर बनेका सात प्रदेश सरकारमा अहिलेसम्म महिला मूख्यमन्त्री थिएनन् ।

मुख्यमन्त्री शाक्यले आफू कहिल्यै पनि फुट र विभाजनको पक्षमा नलागेको बताएकी छिन् । ‘म कहिल्यै फुटमा लागिनँ । पार्टीको सामूहिक नेतृत्वमा विश्वास गरेँ । त्यसले मात्र पार्टी बलियो बन्छ भन्ने मेरो विश्वास हो । यत्रो राजनीतिक परिवर्तन भएको छ, यो उपलब्धिलाई हामीले जोगाउन सकौँ ।’

यस्तै राजीनामा दिएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अष्टलक्ष्मी शाक्यलाई पार्टी एकताको पक्षमा लडेको पुरस्कार स्वरुप मुख्यमन्त्री बनाउन लागिएको प्रतिक्रिया दिएका छन् ।

‘पार्टी एकताको लागि मैले त्याग गरेको हुँ, पहिला उहाँ (अष्टलक्ष्मी) जसरी सशक्त विरोधमा हुनुहुन्थ्यो, तर अहिले पार्टी एकताको पक्षमा उभिनुभएको छ’, पौडेलले भने, ‘पार्टी फुटेर जाँदा पनि उहाँ एकताका पक्षमा लड्नुभयो, त्यसको पुरस्कार हामीले उहाँलाई दिएका हौं ।’

कुल ११० सांसद रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ । वागमतीमा एमालेबाट ५६ जना सांसद ओलीपक्षका ३५ र माधवपक्षका २१ सांसद छन् ।

प्रदेशमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।

मूख्यमन्त्रीको  रूपमा शाक्यकाे कार्यकाल  करिब डेढ वर्ष हुने छ ।

२०७४ सालको निर्वाचनमा शाक्य प्रतिनिधिसभाको उम्मेदवार नबनेर वागमती प्रदेशसभामा मूख्यमन्त्रीको आकाँक्षा सहित प्रदेशसभा उम्मेदवार बनेकी थिइन् । काठमाडौं ९ (ख) बाट प्रदेशसभा चुनाव जितेपनि पार्टीभित्रको गुटगत राजनीतिका कारण उनलाई मूख्यमन्त्री नदिई केपी ओली समूहका डोरमणी पौडेललाई मूख्यमन्त्री बनाइयो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपछि डोरमणीलाई हटाएर अष्टलक्ष्मीलाई मुख्यमन्त्रीबनाउने प्रयास भएका थियो । माधव समूहले उनलाई संसदीय दलको नेता चयनसमेत गरेर डोरमणीविरुद्ध अविश्वास प्रस्ताव दर्तासमेत गरेको थियो । तर, २३ फागुनमा सर्वोच्च अदालतले नेकपाको एकता भंग गरेर एमाले र माओवादी ब्युँताइदिएपछि उक्त अविश्वासको प्रस्ताव फिर्ता भयो।

गत ६ जेठमा सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापालाई हराएर नेपाल समूहका उम्मेदवार डा. खिमलाल देवकोटालाई निर्वाचित बनाउने नेतृत्व उनले गरेकी थिएन । आफ्ना उम्मेदवारलाई हराउन भूमिका खेलेको भनेर संस्थापन पक्षले शाक्यसहित १४ प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको थियो । तर, पछि एकता प्रयास स्वरुप उक्त स्पष्टीकरण फिर्ता लिइयो । स्पष्टीकरण फिर्तासँगै एमालेभित्र मेलमिलापको वातावरण बनेको हो ।

को हुन् अष्टलक्ष्मी ?
देशकै अग्रणी महिला नेतृको सूचीमा आउँछिन् ६८ वर्षिया अष्टलक्ष्मी । २०१० सालमा दशैंको अष्टमीका दिन जन्मेको भएर उनको नाम अष्टलक्ष्मी राखिएको हो ।

काठमाडौंको झोँछेमा बसोबास गर्ने नेवार परिवारमा जन्मेकी अष्टलक्ष्मीले २०२९ सालमा एसएलसी पास गरेकी थिइन् । घरपरिवारले बिहेको लागि दबाब दिएपछि उनी २०३६ सालमा घर छोडेर भागिन् र पूर्णकालीन राजनीतिमा लागिन् ।

शाक्यले पञ्चायतकालमा ११ वर्षसम्म भूमिगत जीवन बिताएकी थिइन् । उनको विवाह २०३७ सालमा पार्टीकै सहयोद्धा अमृतकुमार बोहरासँग भएको थियो । बोहरा अहिले एमालेका स्थायी समिति सदस्य हुन् । उनी माधव नेपाल समूहकै भए पनि अहिलेको विभाजनमा सहभागी छैनन्।

पार्टीको महिला संगठन स्थापनामा उनको ठूलो योगदान छ । उनल गौरा प्रसाइ सुशील श्रेष्ठ लगायतसँग मिलेर हेटौंडामा नेकपा मालेको गोप्य सम्मेलन आयोजना गरेकी थिइन् । सो सम्मेलनले नेपाल महिला संगठनको पुनर्गठन गरेको थियो ।

शाक्य २०५४ सालको संसदीय चुनावमा काठमाडौंबाट सांसद निर्वाचित भएकी थिइन् । यस्तै, २०७१ सालमा भएको संविधानसभा चुनावमा पनि निर्वाचित भएकी उनी आफ्नो राजनीतिक जीवनमा दुईपटक मन्त्री बनिन् । एकपटक उनी महिला, बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी थिइन् भने अर्कोपटक उद्योग तथा वाणिज्य मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।

लामो राजनीतिक संघर्ष र योगदानका कारणले सबैले सम्मान गर्ने नेतृ हुन् अष्टलक्ष्मी । उनका राजनीतिक जीवन धेरै महिलाहरुका लागि प्रेरणादायी छ । क्षमताको हिसाबले भने उनी औसत मानिन्छिन् । पार्टीको जिम्मेवारीमा छँदा होस वा मन्त्री बन्दा, उनको विशेष खुबी केही देखिएको छैन । अब मुख्यमन्त्रीका रूपमा उनले छोटो समयमा आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती आइपरेको छ ।