बैशाख १३, २०८१ बिहीबार

ओली र नेपाल दुवैको सहमतिमा आफू मुख्यमन्त्री भएको वागमती प्रदेश प्रमुख शाक्यको भनाई



काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री बन्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नयाँ पार्टी गठन गर्ने नेता माधवकुमार नेपाल दुवैको सहमति रहेको बताएकी छन् ।

आफूले दुवै नेतालाई भेटेर वागमती सरकार परिवर्तनको विषयमा  जानकारी गराएको र दुवैको सहमति पाएको उनले बताइन् । आफूले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसँगै ओलीलाई भेटेको मुख्यमन्त्री शाक्यको भनाई छ ।

‘वागमतीको यस्तो स्थिति छ । के गर्नुहुन्छ तपाईंले ? हामी मिलेर अघि बढ्न चाहन्छौं, मिलेर अघि बढेका छौं । नीति पास गर्‍यौं, बजेट पास गर्‍यौं । अब सरकार पनि हामी चलाउँछौं भनेपछि खुशी हुनुभयो’ शनिबार काठमाडौंको धुम्बाराहीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाक्यले भनिन्, ‘राम्रो काम गर्न थाल्नुभयो अगाडि बढ्नुस् भन्नुभयो । यति पाएपछि के चाहियो ?’

त्यसपछि आफूले नेता नेपाललाई पनि वागमतीमा सरकार फेर्ने सहमतिबारे जानकारी गराएको शाक्यले बताइन् ।

‘हामी यस्तो चरणसँग पुग्यौं । नीति पनि पास गरिसक्यौं, बजेट पास गर्यौं, सरकार परिवर्तन गर्न बाँकी छ । सरकार निर्माण गर्दैछौं । तपाईको निर्देशन चाहियो भनेपछि उहाँ पनि खुशी हुनुभयो’ मुख्यमन्त्री शाक्यले भनिन्,‘केपी कमरेडले यसो भन्नुभएको हो म पनि भन्दिहाल्छु नि, म पनि एकताकै पक्षमा छु भन्नुभयो ।’

नेकपा विभाजन गरेर माधव नेपालले नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएको दिन वागमती प्रदेशमा सरकार फेरबदल भएको थियो । त्यस दिन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिई शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।