चैत्र १६, २०८० शुक्रबार

पहिरोमा पुरिएर गुल्मीमा एकै घरका तीन दिदीबहिनीको मृत्यु



गुल्मी – मंगलबार राती परेको अविरल वर्षाका कारण गएको पहिरोले पुरेर गुल्मीमा ३ जनाको मृत्यु भएको छ । सदरमुकाम रेसुङ्गा नगरपालिका ( ८, भगवती मन्दिर नजिकै रहेको तिलक नेपालीको घरमाथिबाट खसेको पहिरोले पुर्दा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका वडानम्बर-८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

राती करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिरोले घरको एउटा कोठा पुरेको थियो । पहिरो खसेर छोरीहरूलाई पुरेपछि अर्को कोठामा सुतेका तिलकले एकजनालाई सानो प्वालबाट तानेर बचाएको वडाध्यक्ष भरत भलामीले बताए ।

राती नै नेपाली सेना, नेपाल प्रहरीको टोलीले पुरिएको कोठाबाट शब निकालेको थियो । पहिरोका कारण तानसेन -तम्घास सडक खण्ड अबरूद्द भएको छ । सो सडकको उर्लेनी र भंगारीमा पहिरो खसेर सडक अबरूद्द भएको हो । उर्लेनीमा एउटा गाडी समेत पहिरोमा फसेको र चालकले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।