बैशाख २, २०८१ आईतबार

महिलालाई पदाधिकारीसहित एक तिहाइ सहभागिताको अनिवार्य व्यवस्था गर्न माग



काठमाडौँ –  अन्तरपार्टी महिला सञ्जालले हरेक राजनीतिक दलमा महिलालाई पदाधिकारीसहित एक तिहाइ सहभागिताको व्यवस्था अनिवार्य गर्न माग गरेको छ । सञ्जालले निर्वाचन ऐन एवं नेपालको संविधानको पूर्णरुपमा पालना गर्न सम्पूर्ण दलको ध्यानाकर्षण गराएको छ ।

सञ्जालका अध्यक्ष कल्याणी रिजालले शुक्रबार विज्ञप्ति जारी गर्दै यतिखेर मुलुकका प्रमुख राजनीतिक दलको महाधिवेशन निकट आइरहेको सन्दर्भमा महिलाका सवाल सिङ्गो समाज र राष्ट्रका सवाल भएको उल्लेख गरेकी छन् । लैङ्गिक समानता र सामाजिक न्यायमा आधारित समृद्ध, समुन्नत र समतामूलक समाज निर्माण गर्न महिलालाई राजनीतिक दल र राज्य संरचनाका हरेक नीति निर्माण गर्ने थलोमा पु¥याउन अनिवार्य शर्त भएको विज्ञप्तिमा उल्लेख छ ।

संविधानको प्रस्तावना, मौलिक हकको मूल मर्म र भावनाअनुरुप राजनीतिक दल तथा राज्यका सम्पूर्ण निकायमा समानुपातिक समावेशी सहभागितामूलक सिद्धान्तका आधारमा सहभागिता गराइनु वाञ्छनीय हुने सञ्जालले जनाएको छ । लोकतान्त्रिक राज्य व्यवस्थामा राज्यका नीति निर्माण र कार्यान्वयन गर्ने कार्यमा राजनीतिक दलको भूमिका नै महत्वपूर्ण र निर्णायक हुने उल्लेख गर्दै अध्यक्ष रिजालले महिलालाई नीति निर्माण र कार्यान्वयनको अभियानमा सरिक नगराई सिङ्गो राष्ट्र निर्माणको काम पूरा हुन नसक्ने बताएकी छन् ।