बैशाख १, २०८१ शनिबार

स्थानीय तहको पद रिक्त हुन ६ महिना बाँकी, निर्वाचनको तयारीमा आयोग



स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त हुने दिनगन्ती शुरु भएको छ । निर्वाचन आयोगका अनुसार आगामी जेठको ५ गते स्थानीय तहका सबै पदाधिकारीहरूको पद रिक्त हुने भएको हो ।

बुधवार काठमाडौंमा निर्वाचन पर्यवेक्षण समितिले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरुमा गरिएको अन्तक्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पद रिक्त हुनु अगावै स्थानीय तहको निर्वाचन गराउन आयोगबाट आवश्यक तयारी प्रारम्भ भएको बताए ।

त्यसका लागि आयोगले मंसिर १७ गतेदेखि मतदाता नामावली दर्ता शुरु गर्न लागेको छ । ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको पनि प्रमुख आयुक्त थपलियाले बताए ।
त्यस्तै सम्बन्धीत स्थानीय तहका बासिन्दाका लागि पनि आफ्नै पालिका कार्यालयमा नामावली दर्ता शिविर सञ्चालन हुने उनले जानकारी दिए ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको बेलामा उम्मेदवारले हरेक साता आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बनाएको र त्यसका लागि स्थानीय तहको निर्वाचनमा ७५३ ठाउँमा, प्रदेशको निर्वाचनमा ३३० ठाउँमा, प्रतिनिधिसभाको निर्वाचन हुँदा १६५ ठाउँमा अनुगमन समितिको व्यवस्था गरिएको पनि जानकारी दिए ।

प्रमुख आयुक्त थपलियाले दलहरु आफैँ व्यवस्थित हुनुपर्ने, नियमित हुनुपर्ने र आफैँ सुशासन कायम राख्नुपर्ने भन्दै बलियो कानून बनाएर मात्रै अहिलेको अवस्थामा धेरै राम्रा काम गर्न सकिन्छ भन्ने स्थिति नरहेको प्रस्ट्याए ।