चैत्र १६, २०८० शुक्रबार

नकुन्नी र निर्मलालाई न्याय माग्दै फेरी माइतीघरमा प्रदर्शन



परिवारकै मिलेमतोमा मारिएको भनिएका बाँकेका नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुले काठमाडौंको माइतिघरमा ६ दिनदेखि धर्ना जारी राखेका छन् ।

स्थानीय प्रहरी प्रशासनले मुद्धा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै उनीहरुले पीडितको न्यायका लागि नेपालगञ्जदेखि काठमाडौं आएर धर्ना दिएका हुन् । उनीहरुले न्यायका लागि कलम चलाउनुस्, कहाँ हे हमरे मानव अधिकार, राष्ट्रिय छानविन समितिको सिफारिस पनि बेकार लेखेको प्लेकार्ड बोकेका छन् ।

बाँकेको जानकी गाउँपालिका–२ नेवाजी गाउँकी ३८ वर्षीय नन्कुन्नी धोबी गत साउन ६ गते बिहानै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । यस्तै, नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुरकी एकल महिला निर्मला कुर्मी बेपत्ता थिइन् र उनको ५ बिघा जग्गा अरूले नै हडपेका थिए ।

सरकारी छानबिन समितिले गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाएको ८ दिनपछि कात्तिक २२ मा प्रहरीले निर्मला कुर्मीको जग्गा हडप्ने काममा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गर्‍यो । २१ दिन हिरासतमा बसेर सबै जना हाजिरी जमानीमा थुनामुक्त भए ।

यसअघि असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेर काठमाडौं आई माइतीघरमा अशसनमा बसेपछि गृहमन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । तर छानविन समितिका संयोजक नै सीडीयो भएर दाङ सरुवा भएपछि समिति निश्क्रिय भएको छ । समिति निश्क्रिय भएपछि उनीहरु फेरि धोबी र कुर्मीको न्यायका लागि धर्नामा बसेका हुन् ।

पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागिय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतिघर मण्डलामा धर्ना शुरु गरेका थिए ।

बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुटो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुव्र्यवहार गरेको पीडितहरुले बताएका छन् ।उनीहरुले स्थानीय प्रशासनले दोषीलाई कारबाही गर्न आलटाल गरेको तथा पीडितको कुरा नसुनेका कारण पैदल यात्रा हुँदै काठमाडौंसम्म आएर न्याय माग्नुपरेको बताएका छन् ।

सरकारले अनुसन्धान समिति गठन गरेर अपराधीलाई कारबाही गर्ने आश्वासन दिएपनि अहिलेसम्म अभियुक्तहरुलाई समातेर अनुसन्धान गर्न ढिलाइ गरेको उनीहरुको गुनासो छ । पीडित परिवारले अभियुक्तलाई समातेर छानबिन नगरेसम्म धर्ना नछोड्ने बताएका छन् ।

शुक्रबार काठमाडौं आएका उनीहरूले सुरुमा गृह प्रवक्ता फणीन्द्रमणि पोखरेललाई भेटे । पोखरेलले उनीहरूलाई निर्मला कुर्मीको जग्गाको विषयमा थप छानबिन अघि बढाउन भूमिसुधार मन्त्रालयमा पठाएको बताए । त्यसपछि उनीहरूले भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठलाई भेटे । सोमबार भने उनीहरूले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महान्यायाधिवक्तालाई भेटेर न्यायको अपिल गरेका छन् ।

उनीहरू शुक्रबारयता नियमित कलंकीबाट हिँडेर माइतीघर मण्डल आउने, दिनभरि आन्दोलन गर्ने र साँझ पैदल फर्कने गरिरहेका छन् । दुई महिनाअघि २० दिने पैदल यात्रा गर्दा उठेका फोका सुकिसके । खुट्टाको घाउ पनि धेरथोर निको भइसक्यो । रुबीले उतिबेलाको हिँडाइले घाउ बनेपछिका निसानी दाग देखाउँदै भनिन्, ‘हेरौं यसपाला सिंहदरबारले हामीलाई कसरी न्याय दिन्छ !’