चैत्र १५, २०८० बिहीबार

माओवादीको नजरबन्दबाट भागेकी युवती एमालेको सबैभन्दा कान्छी केन्द्रीय सदस्य



नेकपा (एमाले) को केन्द्रीय समतिमा ३२ वर्षीया युवतीले प्रवेश पाएकी छन् । आदिवासी जनजाति महिलातर्फको कोटाबाट
रोल्पाको नुवागाउँकी ईश्वरी घर्तीमगर (जिएम) एमालेको १० औं महाधिवेशनबेशनबाट केन्द्रीय सदस्यमा प्रवेश गरेकी हुन्।

एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ईश्वरी सबैभन्दा कान्छी सदस्य हुन् । २०४६ सालमा जन्मिएर २०६२ सालदेखि एमालेको राजनीतिमा लागेकी थिइन् ।

त्यसताका माओवादी आधार क्षेत्र मानिने रोल्पामा भूमिगत शैलीमा एमालेको संगठन विस्तार थालेकी ईश्वरीले पार्टीमा लागेको १६ वर्षमै केन्द्रीय कमिटीमा पुग्न सफल भएकी हुन् ।

उनी प्रेस चौतारीको जिल्ला अध्यक्ष र नेपाल पत्रकार महासंघको सचिव रहेकै बेला पत्रकारिता छाडेर पूर्णकालीन राजनीतिमा लागेकी थिइन् । उनले केन्द्रीय कमिटिमा पुग्नु आफ्नो लागि मौका भएको भन्दै अब चुनौती थपिएको बताइन् ।

माओवादी आधार ईलाकाबाट भूमिगत राजनीति गर्दै केन्द्रीय सदस्य

२०६२ सालमा उनी रोल्पाको नुवागाउँस्थित अरनिको माविको कक्षा १० मा अध्ययनरत थिइन्। माओवादीको प्रभाव सबैतिर थियो। रोल्पाका कुनै पनि विद्यालयमा माओवादीको भ्रातृ सङ्गठन बाहेक अन्य राजनीतिक दलका विद्यार्थी सङ्गठनको कमिटी थिएन। अन्य पार्टीका भ्रातृ सङ्गठनलाई कमिटी बनाउन उनीहरूले रोक लगाउँथे। तर, अरनिको माविमा भने जिएम सहितले अनेरास्ववियूको कमिटी गठन गरेर एक हिसाबले माओवादीलाई चुनौती दिए।

अनेरास्ववियूबाट राजनीति शुरू गरेकी जिएम त्यसपछि उच्च मावि एकाइ कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य, अञ्चल कमिटी सदस्य भइन्। विद्यार्थी राजनीति छोडेर उनी केही समय पत्रकारितामा समेत आबद्ध भइन्।

उनी पहिलो पटक कमिटीको उपाध्यक्ष भइन्। त्यति वेला कमिटी गठनका लागि हाल नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय नेता मेटमणि चौधरी पुगेका थिए। “माओवादीको प्रभाव र दबदबा यस्तो थियो कि अन्य राजनीतिक दलका मान्छेलाई बोल्न पनि दिंदैनथे, हामीले एमाले सम्बद्ध विद्यार्थी कमिटी बनाउनुलाई उनीहरू चुनौती दिएको ठान्थे,” उनी भन्छिन्।

अनेरास्ववियूबाट राजनीति शुरू गरेकी जिएम त्यसपछि उच्च मावि एकाइ कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य, अञ्चल कमिटी सदस्य भइन्। विद्यार्थी राजनीति छोडेर उनी केही समय पत्रकारितामा समेत आबद्ध भइन्।

पत्रकारितामा रहँदा उनले प्रेस चौतारी रोल्पाको अध्यक्ष भएर काम गरिन्। २०४६ साल फागुनमा जन्मेकी जिएमलाई विद्यार्थी राजनीतिमा क्रियाशील रहेका वेला २०६१ सालमा माओवादीले हप्तौं दिनसम्म अपहरण गरेर आफ्नो अभियानमा सामेल गराएको थियो। तर, उनी माओवादीको नजरबन्दबाट भाग्न सफल भइन्।

पत्रकारिता छोडेर उनी पुन: पार्टी राजनीतिमा फर्किइन्। अनेमसंघ जिल्ला कमिटी सदस्य, केन्द्रीय सदस्य तथा एमाले इलाका कमिटीको उपसचिव, जिल्ला कमिटी रोल्पाको दुई कार्यकाल सदस्य भएर काम गरेकी उनी सम्भवत: एमालेको १०औं महाधिवेशनबाट निर्वाचित कान्छी केन्द्रीय सदस्य हुन्।