बैशाख १, २०८१ शनिबार

बेहुलीकाे पहिरनले बुटिक व्यवसाय चम्कियो, कस्तो पहिरन चलेको छ ?



हाम्रो समाजमा विवाहलाई सुन्दर, अस्मिरणीय एवं सुखद् उत्सवका रूपमा लिइन्छ । यस्तो शुभ अवसरमा आकर्षक देखिने चाहना सबैमा हुनु स्वाभाविक हो । त्यसैले विवाहमा अहिले फेसनको चमक बढ्न थालेको छ । त्यसका लागि विवाह तथा इङ्गेजमेन्टका लागि बुटिकले तयार पारेका नयाँ डिजाइन र फेसन अनुरुपका पहिरिनहरु अनिवार्य जस्तै छ । दुलहीको रोजाई र डिजाइनरहरूले ग्राहकको बजेटअनुसार पहिरन तयार गरिदिने भएकाले पनि आफूलाई सुहाउने पोसाकप्रति दुलहीहरूको लगाव बढ्दैछ ।

तर गत २ वर्ष कोभिडको कारण बुटिक ब्यवसाय नराम्ररी थला प¥यो । यो वर्ष भने बुटीकहरुमा विवाह तथा इङ्गेजमेन्टका लागि माग अनुसारको कपडा सिलाउन भ्याई नभ्याई छ । विशेषत मंसिर, माघ, फागुन जस्ता महिनाहरुमा विवाहका लगानहरु धेरै हुने भएकाले यतिबेला बुटीकहरुलाई नयाँ नयाँ डिजाइन र फेसन अनुरुपका पहिरिनहरु बनाउने चटारो बढेको हो ।

कोभिडको समयमा सरकारले निश्चित व्यक्तिभन्दा धेरैलाई जमघट हुने रोक लगाएपछि धेरै विवाहहरु रोकिएको कारण यो वर्ष निकै माग बढेको काभ्या बुटिक फेसनका सीईओ उमा निमकुलले बताइन् ।
निमकुल अन्य समयमा इङ्गेजमेन्ट त्यति तामझामका साथ नहुँने हुँदा यस समयमा बेहुलाले कोट पाइन्ट नै रोज्ने गरेको बताउँछन् । यो समयमा लगाइने कोट पाइन्ट १५ हजार रुपैयाँसम्मान तयार हुने गरेको उनले बताइन् ।

विवाहमा मात्र होइन, विबाह भन्दा पहिले इङ्गेजमेन्ट अर्थात टिकाटालो, ९बिहेको छिनोफानो० मा समेत आजभोली भने साडी, लेँहेगा, गाउन लगाउने गरेका छन् । निमकुलका अनुसार इन्गेजमेन्टमा आजभोली बेहुलीका लागि गुलाबी, रानी, गोल्डेन, सेतो, पहेंलो आदि रंगको प्रयोग हुन थालेको छ ।

कपडामा सम्झौता गर्ने र मन बुझाउने भन्ने कुरा आजका दुलहीहरूका लागि असम्भव नै छ । इन्गेजमेन्टदेखि विवाहपछिका पार्टी एवं भेटघाटका लागि फरक फरक पहिरनमा देखिने चलन छ । डिजाइन र फेसनमा पनि परिवर्तन आएको छ । फेसनप्रतिको यही उत्साह र लहरलाई बुझेर डिजाइनर एवं व्यवसायीहरूले विवाहमा विशेष पहिरन बजारमा ल्याउने गरेका छन् ।

बुटिकमा अर्डरअनुसार व्यक्तिको वर्ण उचाइ, मोटाइलगायत कुरालाई ख्याल गरेर उपयुक्त डिजाइन दिइ आफ्नो इच्छा अनुरुपको कपडा तयार हुने भएकोले विवाह, फेस्टिभल, पार्टी जस्ता विभिन्न कार्यक्रमको अनिवार्य जस्तै बनिसकेको क्यास (क्रिएटिभ एन्ड स्टाइल हाउस) की सञ्चालक सङ्गीता खड्का बताउँछिन् ।

करिब एक दशक अघिबाट ललितपुरको कुपण्डोलमा बुटिक व्यावसाय सञ्चालन गर्दै खड्काका अनुसार यस एक दशको अन्तरालमा पहिले भन्दा अहिले धेरै बुटिक फस्टाएको छ । उनका अनुसार अहिले नयाँ फेसन डिजाइनको विकास भएसँगै नयाँ पहिरनको शोख भएका मध्यम र उच्च बर्गका महिलाहरु यसप्रति आकर्षित भएका हुन् । ‘आफूले चाहेजस्तै रंग र डिजाइन र साइजमा आकर्षक कपडा लगाउन पाइने भएकोले धेरैको रोजाइमा बुटिक परेको हो’ उनी भन्छिन् ।

विवाह भन्ने वित्तिकै सौभाग्य र प्रेमको प्रतीक रातो रंगको कुरा आउँछ । त्यसमा पनि दुलहीको अनुहारको बनोटअनुसार रातो, मरुन, रानी र गुलाफी रङ्ग मिसाएर विभिन्न डिजाइनका पहिरन तयार गर्ने गरिन्छ । विवाह विशेष लेहेँगाको मूल्य १० हजार देखि अधिकतम १० लाख बढी रुपैयाँसम्म पर्ने गरेको उमा बताउँछिन् । ग्राहकको माग अनुसार यस्तो लेहङ्गा तयार पार्न १५ देखि २० दिनसम्म लाग्ने गरेको छ ।

विवाह तथा पार्टी वेयरका लागि भने स्काई ब्लु, गोल्डेन, ग्रीन, प्याजी आदि रंग प्रयोग भएका लेहेंगाको माग बढेको डिजाइनरहरु बताउँछन् । विवाहमा प्रयोग हुने पहिरनमा साडी र ब्लाउज सधैं एक नम्बरमा पर्छन् ।

८ बर्षदेखि बुटिक व्यवसाय गर्दै आएकी कुपण्डोलकै बिबा बुटिककी सञ्चालक कल्पना सिंह बानिँयाले पनि बुटिक सानो लगानीले सञ्चालन गर्न गाह्रो भएता पनि यसमा लगाबका साथ लागियो भने धेरै राम्रो हुने बताउँछिन् । ‘केहि बर्ष अघि युवतिहरुमात्र बुटिकमा आकर्षित थिए तर अहिले सबै उमेर समुहका र पुरुषहरु पनि यसमा अकर्षित हुँदै गएका छन्’, उनी भन्छिन् ।

नेपालमा मात्र होइन अहिले अमेरिका, अष्ट्रेलिया, जपान लगायतका देशहरुमा बसोबार गर्ने नेपालीहरुबाट पनि अर्डर आउने गरेकोले व्यवसायमा उत्साह थपेको उनको भनाइ छ छ । बुटिकमा आकर्षण बढेसँगै प्रतिस्पर्धा भने बढेको क्यासकी खड्काको भनाइ छ । ‘माग जति धेरै छ, बुटिक व्यावसाय गर्नेको संख्या पनि उतिकै बढेको छ’, खड्का भन्छिन्, ‘जसले गर्दा बजारमा प्रतिस्पर्धा धेरै छ ।’

भनिन्छ साडी र ब्लाउजमा लगाउने व्यक्तिको व्यक्तित्व देखिन्छ, त्यसैले जति नै परिवर्तन र आधुनिकता भित्रिए पनि साडीको पहिरनको आकर्षण घटेको छैन । अहिले साडीमा जर्जेट, फ्रेन्च सिफन, नेट, जापानीज सिफन, सिन्थेटिक, क्रेभ तथा सिमरको प्रयोग बढी देखिन्छ । साडीमा विभिन्न फूल र पातका बुट्टा ग्राहकको मागअनुसार नै भरिन्छ । विवाहको दिनलाई बढी रातो र मरुन जाने गरेको छ ।

मंसिर जाडो मौसम भएकाले कतिपयले विवाहको अवसरमा पस्मिना, स्लिक र पस्मिना सिफनको साडी पनि रुचाउने गरेका छन् । यस्ता साडीको मूल्य १४ हजारदेखि ४० हजारसम्म पर्ने गरेको छ । साडीमा स्टोन, डाइमण्ड, सोरसोकी, मोती, सितारा एवं पोतेले मागअनुसार बुट्टा भरिने गरिन्छ ।

साडी लगाउनेहरूका लागि ब्लाउज, कम्मर पेटी, सितारा, पोते एवं डाइमण्डले भरिएको हुन्छ । मखमलको रातो चप्पल र रातो व्यागसहित पूरै सेट नै पाइन्छ । साडीसँग पस्मिनाको पछौरी पनि प्रयोग गर्ने चलन छ । यी सामान भारत, जापान, फ्रान्स, हङकङ, सिङ्गापुर, इटाली आदि देशबाट भित्रिने गरेका छन् । अहिले हातले भरिएका साडीको माग पनि उच्च नै हुने गरेको छ ।