चैत्र १५, २०८० बिहीबार

यूएनमा एपीसी चालक पहिलाे नेपाली महिला असिम बानियाँ



काठमाडौँ – नेपाली सेनाको ईतिहासमै पहिलो पटक महिला सैनिकले संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा एपीसी (बख्तरबन्द गाडी) चलाउने भएकी छन् । प्युठ असिम बानियाँले यूएन राष्ट्रसंघीय शान्ति मिसनको एपीसी चलाउने भएकी हुन् ।

बानियाँ नेपाली सेनामा पनि एपीसी चलाउने पहिलो महिला चालक हुन् । शान्ति मिशनमा जान थालेको ६० वर्षभन्दा लामो इतिहासमा नेपालबाट महिलाहरुले यो अवसर पहिलोपटक पाउँदैछन् ।

२०६२ पुस १० मा सेवामा प्रवेश गरेकी बानियाँ अहिले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा ‘प्रि–डिप्लोयमेन्ट’ तालिम लिइरहेकी छन् । ‘सैनिक सेवामा प्रवेश गरेपछि नै मैले ड्राइभिङ गर्ने अवसर पाएँ । मेरो कामको मूल्यांकन गरेरै युनिटले मलाई हेभी ड्राइभिङ र त्यसपछि एपीसी ड्राइभिङको तालिममा पठाएको हुन सक्छ,’ बानियाँले नेपाली सेनाको ‘सिपाही पाक्षिक’ सँग भनेकी छन् ।

उनले पहिलोपटक एपीसीको ड्राइभिङ सिटमा बस्दाको अनुभव सुनाइन्, ‘तालिमको दौरानमा पहिलो पटक ड्राइभिङ सिटमा बस्दा अलि धेरै नर्भस भएँ । एपीसीभित्र सबै मेसिनरी सामान मात्रै, कुनै सानो फ्याट्रिभित्र छिरेको जस्तो भयो,’ उनले भनिन्, ‘ड्यास बोर्डहरु हेरें । सम्हालिदै स्टेरिङ समातें । गुरुजीले सिकाएअनुसार गरें । विस्तारै आत्मविश्वास बढ्दै गयो ।’

नेपाली सेनाका अनुसार एपीसी हाँक्न विशेष प्रकृतिको तालिम र क्षमताका साथै आँट चाहिन्छ । एपीसी युद्धग्रत क्षेत्रमा सैनिकहरुले हतियार बोक्न तथा आफूलाई क्षति नहुने गरी विपक्षीलाई आक्रमण गर्न प्रयोग गर्छन् । एपीसीका विभिन्न भागमा जडित हतियार चलाएर विपक्षीविरुद्ध लड्न सकिन्छ । सेनाका अनुसार बानियाँ मध्य अफ्रिकी गणतन्त्रको ‘मल्टिडाइमेन्सन इन्ट्रिग्रेटेड स्ट्याबिलाइजेसन’ मिसनमा भाग लिन चाँडै जानेछिन् ।

राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकहरुमा सन् १९४८ देखि शान्ति सैनिक र पर्यवेक्षक खटाउँदै आएको छ । नेपालले सन् १९५८ देखि नेपाली शान्ति सैनिक द्वन्द्वग्रस्त मुलुकमा पठाइरहेको छ । नेपालबाट पहिलो पटक लेबनानमा नेपाली सैनिक पर्यवेक्षक खटाइएको थियो । नेपालले कन्टिन्जेन्टका रुपमा सन् १९७४ देखि नेपाली शान्ति सैनिकको फौज खटायो । सन् १९७४ मा युनाइटेड नेसन्स इमर्जेन्सी फोर्सअन्तर्गत साईनाईमा नेपालका तर्फबाट पुरानो गोरख गणले भाग लिएको थियो ।

सेनाका अनुसार हालसम्म विभिन्न मिसनमा १ लाख ३७ हजार ६ सय २२ नेपाली सैनिकले विश्वशान्तिका लागि योगदान गरिसकेका छन् । अहिले नेपालका ५ हजार २ सय ३५ शान्ति सैनिकले विभिन्न मुलुकमा जिम्मेवारी बहन गरिरहेका छन् ।

सुरुआती दिनमा महिला डाक्टर र नर्स मिसनमा जाने गर्थे । पछिल्ला दिनमा भने महिला सैनिक सबैमा खटिन थालेका छन् । सेनाका अनुसार हालसम्म एक हजार ७ सय २९ महिला सैनिकले शान्ति सेनामा भूमिका खेलिसकेका छन् । महिला सैनिकले पुरुष सैनिक सरह सबै काम गर्न सक्छन् भन्ने आफ्नो कामले देखाएको बानियाँ बताउँछिन् । ‘आफूलाई कमजोर नठानी आँट गरे अगाडि बढ्न सकिन्छ,’ उनले भनिन् ।