बैशाख १२, २०८१ बुधबार

कोभिडबाट सबैभन्दा धेरै मृत्यु हुने देश अमेरिका, जहाँ ८ लाखले ज्यान गुमाए



संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मङ्गलबार अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८ लाख २६६ पुगेको हो ।

अमेरिका कोभिड सङ्क्रमणबाट सबैभन्दा बढी ज्यान जाने देशमा पर्दछ । अमेरिकाको क्यालिफोर्निया राज्य सबैभन्दा बढी प्रभावित छ । जहाँका ७५ हजार ४५५ जनाको यो सङ्क्रमणबाट ज्यान गएको छ ।

अमेरिकाभित्र क्यालिफोर्निया पछि सबैभन्दा बढी प्रभावित टेक्सासमा कोभिडका कारण ७४ हजार भन्दा बढीको ज्यान गएको छ । त्यस्तै फ्लोरिडामा ६२ हजार र न्युयोर्कमा ५८ हजार जना भन्दा बढीको ज्यान गएको समाचारमा जनाइएको छ ।

विश्वमा कोभिड १९ सङ्क्रमणबाट भएको मृत्युको १५ प्रतिशत अमेरिकामा मात्र रहेको समाचारहरुमा जनाइएको छ । त्यसैगरी विश्वभरीका कूल सङ्क्रमितहरुमध्ये १८ प्रतिशत सङ्क्रमित अमेरिकामा रहेका पनि बताइएको छ । हालसम्म भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५ करोडभन्दा पनि भन्दा बढी पुगेको सो तथ्यांकमा जनाइएको छ ।

अमेरिकामा गएको करिब दुई महिनायता कोभिड सङ्क्रमण घट्ने क्रममा रहेकामा पछिल्ला दुई हप्तामा दैनिक सङ्क्रमितको संख्या बढ्न थालेको देखिन्छ । अमेरिकामा खासगरी भरमोन्ट, न्यू ह्यामशायर र मिचिगन जस्ता चिसो क्षेत्रमा सङ्क्रमित बढ्न थालेका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

अधिकारीहरुले अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या पनि बढ्न थालेको जनाएका छन् । नोभेम्बरको अन्त्यमा अस्पताल भर्ना हुने कोभिड सङ्क्रमितको संख्या २० प्रतिशतले बढेको बताइएको छ । अमेरिकामा डेल्टा भेरियन्ट नै सबैभन्दा बढी मात्रामा संक्रमणको प्रमुख कारण बनिरहेको अधिकारीहरूले बताएका छन् ।

उता यहाँ नयाँ ओमिक्रोन भेरियन्ट फैलिने क्रम पनि जारी रहेको छ । यहाँ पनि प्रत्येक दिन नयाँ ओमिक्रोन भेरियन्टका सङ्क्रमितहरु थपिँदै गएका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले यहाँका संक्रमितहरुमध्ये ९९ प्रतिशत डेल्टा भेरियन्टका छन् ।