चैत्र १५, २०८० बिहीबार

भारतमा हरेक २५ मिनेटमा एक गृहिणीको आत्महत्या, एकवर्षमा २२ हजार ३७२ घटना



भारतमा गृहिणीको आत्महत्याबारे डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । नेशनल क्राइम रेकर्ड्स ब्यूरो (एनसीआरबी) भारतमा गत वर्ष देशभरि २२ हजार ३७२ गृहिणीहरूले आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरेको हो ।

यो सन् २०२० को तथ्यांक हो । जुन वर्ष भारतमा १ लाख ५३ हजार ५२ आत्महत्याका घटनामध्ये १४ दशमलव ६ प्रतिशतमा गृहिणीहरूले अकाल मृत्युवरण गरेका छन्।

उक्त तथ्यांकले दैनिक औसतमा ६१ जना वा प्रत्येक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गरिरहेको देखाउँछ।

सन् १९९७ देखि पेसाका आधारमा आत्महत्याका विवरण राख्न थालेको एनसीआरबीका अनुसार त्यसयता २०,००० भन्दा धेरैले गृहिणीहरूले बर्सेनि आत्महत्या गरेको तथ्याङ्क छ। सन् २००९ मा त्यो सङ्ख्या बढेर २५,०९२ पुगेको थियो।

पत्रपत्रिकामा समाचार आउँदा ती आत्महत्यालाई ‘पारिवारिक समस्या’ वा ‘विवाहसम्बन्धी विषय’सँग जोड्ने गरिन्छ।

गृहिणीले त्यसरी आत्महत्या गर्नुको एउटा मुख्य कारण उच्च घरेलु हिंसा रहेको मानसिक स्वास्थ्य विज्ञहरू बताउँछन्। हालैको एक सरकारी सर्वेक्षणमा तीस प्रतिशत महिलाहरूले पतिबाट हिंसा खेपको बताएका थिए।

उनीहरूले दैनिक निरन्तर काम गर्दा वैवाहिक सम्बन्ध शोषणजस्तो हुने र माइतीले पनि त्यसको मार खेप्नुपर्ने बताएका थिए। हिँसा सहनै नसकेपछि आत्महत्याको अवस्था आइपरेको वाराणसीमा रहेकी क्लिनिकल मनोविद् डा. उषा वर्मा श्रीवास्तव बताउँछिन् । ‘महिलाहरू साँच्चिकै धेरै सहन सक्छन्, तर सहनुको पनि एउटा सीमा हुन्छ,’ उनले भनिन् ।

भारतमा धेरैजसो महिलाहरू कानुनले तोकेको उमेर १८ वर्ष पुग्दापुग्दै विवाह गर्ने र बुहारी र श्रीमती बनेर दिनभरि घरमा बसेर खाना पकाउने, सरसफाइजस्ता घरायसी काम गर्ने गरेका उनीहरुमाथी अनेकथरी हिँसा हुने गरेको डा. श्रीवास्तवको दावी छ ।

‘उनीहरूमाथि अनेकथरी प्रतिबन्ध लगाइन्छ, उनीसँग थोरै स्वतन्त्रता हुन्छ र आफ्नै पैसामा समेत निकै कम पहुँच हुन्छ, ’उले भनिन्, ‘उनको पढ्ने सपनाको त्यसपछि कुनै अर्थ रहँदैन र महत्त्वाकाङ्क्षा बिस्तारै सेलाउँदै निराशामा बदलिन्छ र आफ्नो अस्तित्व नै यातना बन्छ।’

डा. श्रीवास्तवका विचारमा पाका उमेरका महिलाहरुभने सन्तान हुर्किएर घरबाहिर गएसँगै एक्लोपनको समस्याका कारण उनीहरुमा विरक्तता आउने देखिन्छ।
अर्को कारण भनेको रजोनिवृत्ति अर्थात् महिनावारी सुक्ने प्रक्रिया चलिरहेको बेला हुने निराशा र बिनाकारण वा ससाना कारणले रुने अवस्था हो।

आत्महत्या गर्न लागेका महिलालाई केही क्षण रोक्न सकियो भने सजिलै बचाउन सकिने डा. श्रीवास्तवको तर्क छ ।

मनोविद् सौमित्र पथारे पनि भारतमा हुने आत्महत्याहरू हिँसा र यातनापछिको आवेगका भरमा हुने गरेको बताउँछन्। उनका अनुसार निष्पक्ष अध्ययनहरूले भारतमा आत्महत्या गर्ने एकतिहाइ महिलाको पृष्ठभूमि घरेलु हिंसासँग रहेको देखाउने गरेका छन्। ‘पुरुष घर आउँछन्, श्रीमतीलाई कुट्छन् र उनी आफ्नै हत्या गर्छिन्’, उनी भन्छन् । तर एनसीआरबीको विवरणमा घरेलु हिंसालाई कारणको रूपमा उल्लेख गरिएको छैन।

विश्वभरि हुने आत्महत्याको एकचौथाइ अंश भारतीय पुरुषहरूको छ। यद्यपि भारतीय महिलाको आत्महत्या १५ देखि ३९ उमेर समूहमा विश्वको ३६ प्रतिशत छ।

तर मानसिक स्वास्थ्य र आत्महत्यासम्बन्धी विज्ञहरू भारतको सरकारी तथ्याङ्कले वास्तविक अवस्था नदेखाउने बताउँछन्। ‘यदि तपाईँले मिलिअन डेथ सर्भे (जसले सन् १९९८ देखि २०१४ बीचमा २४ लाख घरमा भएका एक करोड ४० लाख मानिसलाई हेरेको थियो) वा लान्सिट जर्नलमा प्रकाशित अध्ययनहरू हेर्नुभयो भने भारतमा हुने आत्महत्या ३० प्रतिशतदेखि १०० प्रतिशतसम्म अभिलेखमा नआएको देखिन्छ’, डा. पथारे भन्छन्। बीबीसी नेपालीबाट