बैशाख ८, २०८१ शनिबार

जब इन्स्पेक्टर अनिताले बाटोमा बन्डलका बन्डल पैसा टिपेको देखिन्…



दाङ । गत २६ मंसिरका दिन घोराही १० नारायणपुरका व्यवसायी खिमराज शर्मा घोराहीस्थित सिद्धार्थ बैंकबाट ७ लाख रुपैयाँ निकाली घरतर्फ लागे । तर, घर पुग्दा उनीसँग रकमको झोला थिएन । रकम हराएपछि आत्तिएका उनले तुरुन्तै प्रहरीलाई जानकारी गराए ।

महानगरीय प्रहरी शिक्षालय काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक अनिता महत साँझ ५ बजे अटो चढेर घोराही उपमहानगरपालिका-१० खैराबाट पूर्व घोराही बजार जाँदै थिइन् । त्यसक्रममा उनले सडकमा अनौठो दृश्य देखिन् । दृश्य कस्तो भने व्यस्त बीच सडकमा दुई युवा छिटोछिटो पैसाको बन्डल टिपेर झोलामा राख्दै थिए । ती युवा अलि आत्तिएको र हडबड गरिरहेको उनले ठम्याइन् ।

सडकमा सवारीसाधन गुडिरहेका थिए । पैदल यात्रु पनि थिए । तर, कसैले पनि यो दृश्यलाई गम्भीर रूपमा लिएको प्रहरी निरीक्षक पाण्डेले पाइनन् । आफ्नै मनको एक कुनाले उनलाई भन्यो, ‘पैसा उनीहरूकै भएकाले कसैले केही भनेनन् ।’

तर, अर्काे मनले भन्यो, ‘पैसा उनीहरूकै भएको भए उनीहरू आराम साथ टिप्थे । सडकको छेउमा एकछिन गफिन्थे पनि । हडबडाहट पनि गर्दैनथे । र, पैसा टिप्नेबित्तिक्कै मोटरसाइकल हुँइक्याउँदैन थे ।’

आफ्नो मनको पछिल्लो तर्कसँग उनी नजिक भइन् । त्यसपछि उनले प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरिन् । ‘कतैबाट पैसा हराएको सूचना आएको छ ?’ उनको प्रश्न भुईंमा खस्न नपाउँदै जवाफ आयो-छ ।’

त्यसपछि हतार हतार सडकबाट त्यो पैसा टिप्नेहरूको पैसा नभएको निष्कर्षमा उनी पुगिन् । र एउटा जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्नतर्फ लागिन् ।

हटलाइन नम्बर उठाउने प्रहरी कर्मचारीसँग उनले जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको नम्बर मागिन् । तर, उनी बिदामा रहेको जानकारी पाइन् । त्यसपछि उनले जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालको नम्बर लिएर सम्पर्क गर्न खोजिन् । डीएसपी रिजालले रिसिभ नगरेपछि उनले ‘सर, आइएम इन्स्पेक्टर अनिता महत’ भनेर म्यासेज गरिन् । त्यसपछिको कल भने डीएसपी रिजालले रिसिभ गरेपछि आफूले देखेको सबै विवरण सुनाइन् । मोटरसाइकल नम्बर पनि टिपाइन् ।

प्रहरी निरीक्षक महत र डीएसपी रिजालको टेलिफोन कुराकानीपछि भने अनुसन्धान प्रक्रियाले तीव्रता पायो । भोलिपल्ट २७ मंसिरको बिहानैदेखि डीएसपी रिजालले आफूले पाएका सूचनाका आधारमा तुलसीपुरस्थित यातायात कार्यालयबाट मोटरसाइकलको खोजी थाले ।

सोधखोजकै क्रममा मोटरसाइकल धनीको पहिचान खुलेपछि इलाका प्रहरी कार्यालयले तुलसीपुर उपमहानगरपालिका-१२ स्थित अस्थायी प्रहरी पोस्ट जसपुरलाई त्यसको रिले ग¥यो । जसपुर प्रहरीले लगत्तै तुलसीपुर १२ कचिलाका निमबहादुर चौधरीलाई सम्पर्क ग¥यो ।

उनीसँगको सम्पर्कपछि रकम कसरी हरायो ? निमबहादुरको हातमा कसरी त्यो रकम पुग्यो ? उनीहरूले त्यो रकम कसरी राखेका थिए भन्ने बाहिर आयो । सिभिल पोसाकमा बाटोमा हिँडिरहेकी प्रहरी निरीक्षक महतको शंका र त्यसपछि उनले चालेको असल कदमले पीडितले पनि हराएको रकम पाउन सके ।

प्रहरी निरीक्षक महतले जसरी एउटा असल नागरिकको जिम्मेवारी बहन गरेकी थिइन्, रकम फेला पार्ने निमबहादुरले पनि त्यसैगरी असल नागरिकको जिम्मेवारी बहन गरेको पाइएको छ । उनले रकम फेला परेपछि सुरक्षित ढंगले राखेका थिए । प्रहरीले सोधखोज गर्दा पनि उनले कुनै कुरा लुकाएका थिएनन् ।

खासमा घोराहीको भरतपुरमा साथीको विवाहबाट फर्किंदै गर्दा बाटोमा उनी र अर्का एक जनाले पैसा देखेपछि टिपेर ल्याएका थिए । सर्रा चोक पुग्नुभन्दा १ सय मिटर पूर्वतर्फ सडकमै केही पैसा झोला बाहिरै निस्किएको र केही झोलामै देखेपछि उनीहरूले पैसा टिपेका थिए । तर, त्यसको जानकारी भने उनीहरूले प्रहरीलाई दिएका थिएनन् । उल्टै झमेलामा पर्ने ठानेर प्रहरीलाई जानकारी नदिएको उनको भनाइ छ ।

पैसा धनी शर्माका अनुसार, त्यस दिन उनी घोराहीस्थित सिद्धार्थ बैंकबाट रकम निकालेर झोलामा राखेर मोटरसाइकलको लेगगार्डमा झुन्ड्याएर पश्चिम घर जाँदै थिए । त्यसक्रममा झोला चुँडिएर त्यो पैसा खसेको थियो । त्यसपछि उनले त्यसको जानकारी प्रहरीलाई दिएका थिए ।

प्रहरी निरीक्षक महत भने भोलिपल्ट २७ गते हुन लागेको भान्जीको विवाहका लागि खैरास्थित घर गएकी थिइन् । उनको माइत भने स्याङ्जा हो । उनका श्रीमान् मदनजीत महरा नेपाल प्रहरीका डीएसपी छन् । महरा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत छन् ।

भेटिएको रकम डीएसपी रिजाल र प्रहरी निरीक्षक महतले संयुक्त रूपमा धनी शर्मालाई हस्तान्तरण गरेका थिए । प्रहरी निरीक्षक महतले आफ्नो चासो र सक्रियताका कारण रकम भटिएको र रकम धनीलाई बुझाउन पाउँदा खुसी लागेको बताइन् । उनले एउटा असल प्रहरीले ड्युटीमा हुँदा वा नहुँदा आफ्नो कर्तव्य पालनातर्फ जहिल्यै पनि गम्भीर हुनुपर्ने बताइन् । आजको राजधानी दैनिकमा समाचार छ