चैत्र १५, २०८० बिहीबार

वर्षमा २१५ महिला जले , ५८ को मृत्यु, १५७ जना घाइते



गएको एक वर्षमा २१५ जना महिला आगलागीमा परेर जलेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार २०७७ मंसिर १५ देखि २०७८ मंसिर १४ सम्म २१५ जना महिला (अधिकांश वयस्क र वृद्धा तथा बालिकासमेत) आगलागीमा परेर जलेका हुन् ।

जलेका मध्ये ५८ को मृत्यु भएको र १५७ जना घाइते भएको प्राधिकरणको तथ्यांक छ । नेपालमा एकवर्षमा आगलागीबाट भएको (घाइते र मृत्यु) का ४८९ घटनामध्ये महिलाहरु ४३.९७ प्रतिशत छन् । त्यसबाहेक पुरुष १८० पुरुष र ९४ जना पहिचान नखुलेका थिए ।

महिलाहरुको आगो अथवा घुर ताप्ने क्रममा, खाना पकाउँदा र ग्याँस चुहिएर तथा पड्केर आगलागी हुँदा जलेर घाइते तथा मृत्यु भएका छन् । एक वर्षमा खाना पकाउने क्रममा आगो लागेर, ग्यास चुहिएर तथा पड्केर ५८, जाडोयाममा आगो अथवा घुर ताप्ने क्रममा २५ महिलाको मृत्यु र ४२ महिला घाइते भएको तथ्यांक छ । तीमध्ये ५१ जनाको साडी र शरीरमा लगाएका अन्य कपडाबाट आगो सल्किएको थियो ।

यी घटनाले खाना पकाउनेजस्ता काममा संलग्न हुने र धोतीलगायत पहिरन लगाउने गरेका कारण अधिक जोखिममा महिला रहेको देखाउँछ । कीर्तिपुर अस्पतालका बर्न एन्ड प्लास्टिक सर्जन तथा सिनियर कन्सल्ट्यान्ट सुरेन्द्रजंग बस्नेतका अनुसार महिलाहरु धेरैजसो महिला घरायसी काम गर्दागर्दै आगलागीमा परेका छन् ।

पुरुषप्रधान समाज भएको कारण महिलाले बच्चा स्याहार्दै खाना पकाउने, भान्सामै सुत्ने, लामो कपडा लगाउने लगायतका कारणले आगोको जोखिममा पर्ने गरेको र तराईका कतिपय महिला दाइजोका कारण जलाइने गरेको बस्नेतको भनाई छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को अध्ययनले पनि खुला आगोमा खाना पकाउने वा असुरक्षित चुलोका कारण महिलाहरु आगलागीको उच्च जोखिममा रहेको देखाउँछ ।

तराईमा महिलालाई भान्सामा जोखिम धेरै हुने, लामो साडी लगाएका कारण भाग्न समस्या हुने, पहाडी भेगमा रक्सी बनाउँदा ह्वार्रर आगो लागेर जल्ने लगायतका घटना हुने गरेको महिला मानवीय सहायता तथा विपद् जोखिम न्यूनीकरण मञ्चकी संयोजक कृष्णा कार्कीको भनाई छ । घरायसी काममा संलग्न महिला तथा गृहिणीहरु धेरै आगोको जोखिममा रहेकोले सचेतना जगाउने, आगो प्रयोग गर्दा प्राविधिक कुरामा ध्यान दिने जस्ता सावधानी अपनाउन चेनतामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवस्यकता देखिन्छ ।