चैत्र १६, २०८० शुक्रबार

सौर्य एयरलाइन्सकी कर्मचारी ५० लाख सहित पक्राउ



सौर्य एयरलायन्सकी एक कर्मचारी स्रोत नखुलेको रकम ५० लाख रुपैयाँ सहित पक्राउ परेकी छन् ।

विराटनगरबाट काठमाडौँ आएको जहाजमा ५० लाख रुपैयाँसहित सौर्य एयरलायन्सकी सहायक रेखा शाक्य पोखरेल त्रिभुवन विमानस्थलबाट पक्राउ परेकी हुन् ।

शनिबार दिउँसो १ः५५ बजेको समयमा विराटनगरबाट काठमाडौँ आएको विमानमा उक्त रकम लुकाईछिपाई ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा खटिएका सादा पोसाकका प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भद्रपुर लेखिएको रातो रंगको मेलब्याग चेकजाँच गर्दा उक्त ब्यागभित्र लुकाईछिपाई राखेको रातो प्लास्टिकले बेरिएको करेन्ट चाउचाउ लेखिएको कार्टुनभित्र स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नेपाली रुपैयाँ ५० लाख बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ। प्रहरी अनुसार बरामद रकममध्ये रु १००० दरका ४ हजार ९५० वटा र रु ५०० दरका १०० वटा रहेका छन्।

बरामद रकम र रकम संकलन गर्न आउने सौर्यकी कर्मचारी पोखरेललाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।