चैत्र ३०, २०८० शुक्रबार

स्तनबाट दूध बग्ने समस्या र यसको उपचार



काठमाडौँ । ल्याटिन भाषामा ‘ग्यालाक्टो’को अर्थ ‘दूध’ भन्ने बुझिन्छ। मेडिकल शब्दावलीमा पछिल्तिर ‘रिया’प्रत्यय थप्नुको अर्थ असामान्य वृद्धि भन्ने बुझिन्छ। जस्तैः झाडा लाग्ने अवस्थालाई डाइरिया, पीप बढी बग्ने अवस्थालाई पाइरिया, रुघा लागेको बखत अधिक पातलो सिँगान बग्ने अवस्थालाई राइनोरिया आदि।

स्तनबाट असामान्य तवरमा दूध बढी बग्ने अवस्थालाई ग्यालाक्टोरिया भनिन्छ। यस्तो असामान्य प्रकारको दूध कञ्चन हुनुका साथै पहेँलो, सेतो वा हरियो रङको पनि हुनसक्छ। सुत्केरी अवस्था वा सन्तान उत्पादनसँग सम्बन्धित नभईकन पनि एउटा वा दुवै स्तनबाट दूध बहनु सामान्य अवस्था होइन।

गर्भावस्थाको दोस्रो त्रैमासिकदेखि वा स्तनपान गराइरहेकी महिलामा बाहेक अन्यमा स्तनबाट दूध आउने समस्या सामान्य होइन। ग्यालाक्टोरिया जुनसुकै उमेरमा पनि हुनसक्छ। कहिलेकाहीँ महिनावारी सुकिसकेकी महिलामा पनि यो समस्या हुनसक्छ।

यस समस्याबाट पीडित एकतिहाई महिलाको रगतमा प्रोल्याक्टिन हर्मोनको मात्रा बढ्न सक्छ। दूध उत्पादनका लागि प्रोल्याक्टिन निकै महत्वपूर्ण हुन्छ। गिदीमा रहने पिट्युटरी ग्रन्थिमा प्रोल्याक्टिनोमा भनिने ट्युमर आयो भने रगतमा प्रोल्याक्टिनको मात्रा बढ्छ।

यसरी बढी मात्राको प्रोल्याक्टिन भयो भने दूधको उत्पादन असामान्य तवरले बढ्न जान्छ।बिरलै भएपनि पुरुषमा पनि ग्यालाक्टोरियाको समस्या हुनसक्छ।प्रोल्याक्टिनोमाको समस्या भएका महिलामा एक वा दुवै स्तनबाट स्राव बग्ने, महिनावारी अनियमित हुने वा रोकिने, टाउको दुख्ने वा दृष्टि समस्या आउने हुनसक्छ। प्रोल्याक्टिन बढी मात्रामा उत्पादन हुने समस्यामा रजोनिवृत्तिका लक्षण (गर्मी महसुस हुने, योनि सुक्खा हुने, हड्डी खिइने समस्या) हुनसक्छ।

किन देखिन्छ यो समस्या ?

मानसिक वा शारीरिक तनावले रगतमा दूध उत्पादन गर्न सघाउने प्रोल्याक्टिन नामक हर्मोनको उत्पादन बढाउने गर्छ। त्यसैलेस्तनबाट असामान्य गरी दूध बग्नुको कारण जीर्ण प्रकारको तनाव पनि हो।

त्यसैगरी, स्तनको अधिक उत्तेजना, स्तनको थिचाइ, कतिपय औषधिको साइड–इफेक्ट एवं पिट्युटरी ग्रन्थिको समस्यामा पनि ग्यालाक्टोरियाको समस्या हुनसक्छ। यौन क्रियाकलापका क्रममा स्तन माड्ने कार्यले तथा किशोरी वा महिलामा आफैँले आफ्नो स्तनमा क्यान्सर वा ट्युमर पलायो कि भनेरपटक–पटक गरिने स्तन जाँचका कारण पनि बिस्तारै दूध उत्पादन तथा निष्कासन हुनसक्छ।

बिरलै मात्रामा कडा वा खरो खालको ब्रा वा भित्री कपडाको घर्षण पनि कारक तत्व हुनसक्छ। कतिपय पिल (चक्की) का कारणले पनि असामान्य स्तनस्राव हुनसक्छ। र, अधिकांश केसमा ग्यालाक्टोरियाको कारण नखुट्टिन पनि सक्छ।

परीक्षण

महिलाको शरीरमा अधिक मात्रामा प्रोल्याक्टिनको मात्रा बढ्न गयो भने महिनावारी अनियमित हुने वा रोकिन सक्छ।तर, ग्यालाक्टोरिया भएकी करिब ३० प्रतिशत महिलामा सामान्य महिनावारी हुनसक्छ।

यसकै कारणले महिनावारी नगराउने वा गडबडी गराउने हुनाले निःसन्तानको समस्या भएकी महिलाको उपचारको क्रममा ती महिलाको शरीरमा प्रोल्याक्टिनको मात्राको जाँच वा ग्यालाक्टोरियाको समस्या छ÷छैन, सम्बन्धित चिकित्सकले निक्र्यौल गर्नुपर्छ।

ग्यालाक्टोरियाको समस्यामा स्तनबाट निक्लिएको रस वा दूध जाँच गर्ने क्रममा चिल्लोका कणिका भेटिन्छ÷भेटिँदैन भन्ने आधारमा दूध हो÷होइन भन्ने कुरा प्रमाणित गर्छ।

ग्यालाक्टोरियाको समस्या हुनुको मुख्य कारण मस्तिष्कभित्रको प्रोल्याक्टिनोमा भनिने पिट्युटरी ग्रन्थिको ट्युमर पनि हुनसक्ने हुनाले सीटीस्क्यानबाट कारण पत्ता लाग्छ।

उपचार

बिनाकारण देखिएको ग्यालाक्टोरियाको समस्या समयक्रममा आफैँ निको हुन्छ। यो आफैँमा रोग होइन, तर कतिपय गम्भीर रोगको लक्षण–चिन्ह भने हुनसक्छ। स्तनको मुन्टा चलाउन छोडेमा वा दूध उत्पादन हुने औषधिको सेवन बन्द गरेमा समस्या ठीक हुन सक्छ।

निरन्तर वा यदाकदा दूध आफैँ झर्ने वा चलाउनेबित्तिकै दूध बग्ने हुन्छ। त्यसो भएमा स्तन खेलाउने, यौन क्रियाकलापका बेला मुन्टा छुने गर्नु हुँदैन। स्तनमा गिर्खा आएको, ट्युमर पलाएको छ कि भनेर चेकजाँच महिनामा एक पटकभन्दा बढी गर्नु हुँदैन।

त्यसैगरी, निकै कसिलो र स्तनको छालामा घर्षण गराउने ब्रा लगाउनु हुँदैन। नरम खालको प्याडयुक्त ब्रा प्रयोग गर्नु राम्रो हुन्छ। यी सबै उपायबाट पनि ग्यालाक्टोरियाको समस्या समाधान भएन भने सम्बन्धित चिकित्सकको निगरानीमा औषधि सेवन गर्नुपर्ने हुन्छ।

गर्भावस्थाको दोस्रो त्रैमासिकबाटै दूध उत्पादन हुन थाल्ने हुनाले कसैको दोस्रो त्रैमासिकपछि गर्भ खेर गयो भने ती महिलामा दूध उत्पादन रोकिने औषधि चलाउनुपर्ने हुन्छ। नत्र, स्तन गान्निएर पीडा हुने, पीप जम्ने, कामज्वरो छुट्ने हुनसक्छ।