बैशाख २, २०८१ आईतबार

आमा तथा आण्टीका लागि बालबालिका स्याहार गर्ने रोजगारी खुल्यो



बालबालिका स्याहार गर्ने जागिर गर्न चाहना भएका महिलाहरुका लागि १८ महिने तालिम सहितको रोजगारी खुलेको छ । पारिवारिक संरक्षण बिहीन बालबालिकाहरुको हेरचाह गर्ने संस्था एसओएस बालग्रामले २५ जना आमा तथा आण्टीहरुका लागि तालिम तथा रोजगारीको लागि आवेदन मागेको हो ।

शुरुमा खाना र आवासीय सुविधा र भत्ता सुविधा सहित १८ महिने तालिम हुने र तालिम पुरा गरेकाहरुलाई रोजगारीको व्यवस्था रहेको एसओएसले जनाएको छ । शुरुमा ३ महिनाको सैद्धान्तिक तालिम, त्यसपछि १५ महिने प्रयोगात्मक तालिम सञ्चालन हुने र तालिम पूरा गरेकाहरुलाई ६ महिना परिक्षणकालको रुपमा रोजगारी दिइने छ । परिक्षणकाल पूरा गरेपछि स्थायी जागिर मिल्ने एसओएस बालग्रामले जनाएको छ ।

एसओएस राष्ट्रिय तालिम केन्द्र काभ्रेमा हुने शुरुको ३ महिने तालिममा खाना, आवास सहित रु ७ हजार ३ सय भत्ताको सुविधा छ । उक्त तालिम पूरा गरेपछि विभिन्न एसओएस बालग्रामहरुमा १५ महिने प्रयोगात्मक तालिम हुने छ । उक्त तालिममा खाना र आवास सहित रु १५ हजार मासिक भत्ता हुने छ । १८ महिने तालिम पूरा गरेपछि ६ महिना परिक्षणकालका रुपमा विभिन्न एसओएस बालग्रामहरुमा जागिर मिल्ने छ । जसमा कार्यवाहक आण्टीको लागि रु १७ हजार र कार्यबाहक आमाहरुका लागि रु १८ हजार ५ सय तलव सुविधा सहित खाना र आवासको सुविधा हुने छ ।

परिक्षणकाल पनि पुरा गरेपछि स्थायी जागिर मिल्ने छ । जसमा एसओएस आण्टीहरुको लागि खाना र आवास सहित रु २० हजार २ सय र एसओएस आमाहरुका लागि रु २५ हजार ६ सय तलवको सुविधा छ । स्थायी जागिरेलाई पेन्सन सहितको सुविधा समेत हुने छ ।
तालिम लिएर जागिर खान चाहनेहरुले २ जेठसम्म निवेदन दिनुपर्ने छ ।

निवेदन दिएकाहरु मध्येबाट लिखित तथा अन्तरवार्ताका माध्यमबाट छनौट गरी २५ जना छनौन हुनेछन् । तालिममा लिन चाहनेहरुले १० कक्षा पास गरेको २५ देखि ३५ वर्ष पुरा गरेको हुनुपर्ने छ ।

उनीहरुले शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकता, पासपोर्ट साइजको २ प्रति फोटो र आफूलाई राम्ररी चिन्ने २ जना व्यक्तिको नाम र सम्पर्क नम्बर सहित निवेदन दिनुपर्ने छ ।

आवेदन दिन चाहनेले एसओएस बालग्रामको राष्ट्रिय कार्यालय सानोठिमी वा एसओएस बालग्रामका कार्यालयहरु इटहरी, काभ्रे, जोरपाटी, भरतपुर, पोखरा, भैरहवा, वीरेन्द्रनगर र कैलालीमा पनि आवेदन दिन सक्नेछन् ।