बैशाख ८, २०८१ शनिबार

ट्रक किनेकाे पैसा नदिन कुलचन्द्रले गरे आफ्नै साथीकाे हत्या



सन्धिखर्क : आफूले बेचेको ट्रकको पैसा उठाउन भनी अर्घाखाँचीको पोखराथोकमा आएका विष्णु बहादुर पाण्डेको हत्या भएको छ ।

गाडी किनेको पैसा दिने बहानामा अर्घाखाँचीको पोखराथोकमा लगी अर्घाखाँची घरभई रुपन्देहीको बुटवलमा गाडिको कारोबार गर्दै आएका कुलचन्द्र गौतम (दिपक) ले आफ्नै साथी बिष्णुबहादुर पाण्डेको हत्या गरेका हुन् ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका –१३ वेलवास बस्ने ४४ वर्षीय विष्णु बहादुर पाण्डेको शव शनिबार पोखराथोकमा भेटिएको थियो । शवबारे अनुसन्धान गर्दै जाँदा  हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए ।

पाँचदिनदेखि सम्पर्कविहीन पाण्डेको शव पाणिनी गाउँपालिका- २ मा पर्ने डाँडाकटेरीको वनमा भेटिएको थियो । हत्याको अभियोगमा पाणिनि–२  पोखराथोक घर भई हाल सैनामैना नगरपालिका – ६ कलौनी बस्ने ४३ वर्षीय  कुलचन्द्र गौतमलाई प्रहरीले पक्राउ गरेको छ । गौतमले आफ्नै साथीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

गौतमलाई बिक्री गरेको लु १ ख ७७८१ नं. को ट्रक पास गर्न भनि हिँडेका पाण्डे सम्पर्कमा नआएपछि उनकी छोरीले प्रहरीमा उजुरी गरेकी थिइन्  । साउन ११ गते इलाका प्रहरी कार्यालयमा निवेदन दिए पछि प्रहरीले खोजतलास गर्दा पाण्डेको शव जंगलमा मृत भेटिएको थियो ।

प्रहरीका अनुसार गौतमले पाण्डेको नाममा रहेको लु १ ख ७७८१ नं. को ट्रक सोह्र लाख मुल्य कायम गरी पछि दिने सर्तमा नामसारी गरेकोमा ट्रकको पैसा बुझाउन नसकिने देखेपछि हत्या गर्ने योजना बनाएको बुझिएको छ। ।  घटनापछि फरार रहेका गौतमलाई नेपाल भारत सिमाना बेलहियाबाट प्रहरीले पक्राउ गरेको थियो ।

गौतमले योजनाबद्ध रुपमा साउन नौ गते पाण्डेलाई अर्घाखाँची स्थित घरमा गएर पैसा दिने भन्दै ललाई, फकाई  गरेर पोखराथोकमा लगेका थिए । भोलिपल्ट घरवाट कालिज मार्न भनि झण्डै साढे २ किलोमिटर टाढाको जंगलमा लगि पछाडिबाट टाउकोमा फलामको रडले प्रहार गरेर हत्या गरी सोही स्थानमा रहेको भीरबाट तल खसालेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको अर्घाखाँचीका प्रहरी प्रमुख , प्रहरी नायव उपरीक्षक थापाले बताएका छन् ।

मृतक पाण्डेको पर्स पनि गौतमको घरको कोठामा भेटिएको छ ।  पाण्डेलाई योजनाबद्ध तरिकाले अपहरण गरी अर्घाखाँची पुर्‍याएर हत्या गरिएको परिवार तथा आफन्तको आरोप छ । गौतमले सुनियोजित रुपमा विष्णु पाण्डेसँग किनेको गाडीको पैसा अर्घाखांची  गएर दिन्छु भनी बुटवलबाट अपहरण गरी अर्घाखाँची पुर्याएर हत्या गरेको मृतकका आफन्तको  दाबी छ ।

शव भेटिएपछि पाण्डेका दाजु तेजबहादुर पाण्डेले अपहरण गरी  शरीर बन्धक बनाएर हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन्  ।

अभियुक्तले मृतकको नामबाट आफ्नो नाममा गाडी पास गरी रकम समेत नदिएकाले उक्त गाडी बरामद गरी परिवारलाई दिनुपर्ने तेजबहादुरको भनाइ छ । साथै मृतकका छोराछोरीको पालनपोषण, शिक्षादीक्षा, स्वास्थ्योपचारको व्यवस्था गराई क्षतिपूर्ति समेत दिलाउन परिवारले माग गरेका छन् ।