चैत्र १६, २०८० शुक्रबार

सरकारी अनाथालय प्रमुख नै बलात्कारी, पुर्पक्षका लागि थुनामा



धनगढी – कञ्चनपुरमा बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अनाथालयका प्रमुखलाई कारागार चलान गरिएको छ ।

भीमदत्त नगरपालिका–४ को समाज कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकरबहादुर चन्दलाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

अनाथालयमा आश्रित बालिकालाई एक वर्षदेखि जबर्जस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका चन्दलाई थुनछेक बहसपछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

अदालतको आदेश अनुसार उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए । उनकाअनुसार चन्दलाई बालयौन दुरुपयोग कसुरमा ५० हजार रुपैयाँ धरौटी माग समेत गरिएको छ भने जबर्जस्ती करणी र गर्भपतन कसुर मुद्धामा पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

चन्दले अनाथालयमा आश्रित नाबालिकालाई औषधी खुवाएर गर्भपतन गराएको पनि अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । अनाथालय प्रमुख चन्द १७ माघमा पक्राउ परेका थिए ।