बैशाख ८, २०८१ शनिबार

अन्तर्राष्ट्रिय साहसी महिला भूमिका र मुस्कानले भेटे अमेरिकी प्रथम महिला



काठमाडौँ — अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेका भूमिका श्रेष्ठ र मुस्कान खातुनले अमेरिकी प्रथम महिला जिल बाइडेनलाई भेटेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ह्वाइटहाउसमा आयोजना गरिएको कार्यक्रममा उनीहरुले बाइडेन सहित अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई पनि भेटेका हुन् ।

अमेरिकी विदेश मन्त्रालयले सन् २००७ मा विश्वभरका महिलाहरूको जीवनमा उल्लेखनीय परिवर्तन ल्याउने महिलाहरूलाई सम्मान गर्ने उद्देश्यले उक्त पुरस्कार स्थापना गरेको थियो । यसअघि कोभिड(१९ सँग सम्बन्धित प्रतिबन्धका कारण उनीहरू दुई जनाले वासिंटनमा भौतिक रूपमा कार्यक्रममा भाग लिन पाएका थिएनन् ।

भूमिकाले लैंगिक अल्पसंख्यक समुदायको जीवनस्तर सुधारप्रतिको आफ्नो समर्पणका लागि गत वर्ष पुरस्कार प्राप्त गरेकी थिइन् । सन् २०२१ मा मुस्कानलाई तेजाब आक्रमण अन्त्य गर्ने कामका लागि पुरस्कृत गरिएको थियो ।