बैशाख १२, २०८१ बुधबार

नेपालमा विवाहित महिलामध्ये ७ लाख ३६ हजारको जन्मिएनन् बच्चा



काठमाडौँ – राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार १५ देखि ४९ वर्षसम्मका विवाहित महिलामध्ये १२ प्रतिशतले जीवित बच्चा नजन्माएको पाइएको छ । शुक्रबार सार्वजनिक गरिएको जनगणनाको संक्षिप्त नतिजाअनुसार १५-४९ वर्षका ६१ लाख ४५ हजार ३९ जना विवाहित महिलामध्ये १२ प्रतिशतले (७ लाख ३६ हजार ४ सय ९९) जीवित बच्चा नजन्माएको देखिएको हो ।

जनगणनाअनुसार २ जीवित बच्चा जन्माउने विवाहित महिलाको संख्या ३३ प्रतिशत रहेको छ भने १ जीवित बच्चा जन्माउने विवाहित महिला २३.१ प्रतिशत रहेको छ ।

‘१५-४९ वर्षका कूल ६१ लाख ४५ हजार ३९ विवाहित महिलाले हालसम्म १ करोड २७ लाख ९९ हजार ६९ बच्चा जन्माएका छन्‚ जसमध्ये छोरा ५२.७ प्रतिशत र छोरी ४७.३ प्रतिशत जन्मिएका छन्‚’ जनगणनाको संक्षिप्त नतिजामा उल्लेख गरिएको छ ।

त्यस्तै कूल जीवित जन्मिएका बच्चाहरूमध्ये ३.२ प्रतिशतको मृत्यु भएको छ । मृत्यु भएका बच्चाहरूमध्ये छोराको संख्या ५७.६ प्रतिशत र छोरीको संख्या ४२.४ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

जनगणना २०७८ अनुसार गणनाको १२ महिनाअघिको समयमा जम्मा ४ लाख १२ हजार ९ सय ३५ जना बच्चाको जन्म भएकोमा २ लाख १८ हजार ७४ जना अर्थात् ५२.८ प्रतिशत छोरा र १ लाख ९४ हजार ८ सय ६१ अर्थात् ४७.२ प्रतिशत छोरीको जन्म भएको पाइएको छ ।

यसैगरी, गणना भएको दिनदेखि १२ महिनाअघिसम्मको समयावधिमा कूल प्रजनन् उमेर समूह (१५-४९ वर्ष) का १२ हजार ९ सय ७६ महिला मृत्युमध्ये ६ सय ५३ जना (पाँच प्रतिशत) को मृत्यु गर्भावस्थाससँग सम्बन्धित जटिलताका कारण रहेको जनगणनामा उल्लेख छ । त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा गरिएको भर्वल अटप्सीबाट उल्लिखित गर्भावस्थासँग सम्बन्धित मृत्युमध्ये ६२२ जना (९५ प्रतिशत) को मातृमृत्युसँग सम्बन्धित रहेको पाइएको छ । यसै अवधिमा उक्त उमेर समूहबाट कूल ४ लाख १२ हजार ९ सय ३५ जना जीवित बच्चाको जन्म भएको देखिएको छ, जसअनुसार मातृमृत्युदर १५१ जना (प्रतिलाख जीवित जन्ममा) रहेको नतिजाले देखाएको छ ।