मंसिर २३, २०८१ आईतबार

नेपालको महिला क्रिकेट टोली पहिलो पटक विश्वकपमा



काठमाडौं । नेपाली महिला क्रिकेटमा इतिहास रचेको यू १९ टोली पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ ।  युएईमा सञ्चालन भएको एसिया छनोटमा नेपालले घरेलु टोलीलाई पछि पार्दै बुधबार यू १९ विश्वकपमा स्थान पक्का गरेको हो।

छनाैटसँगै यू-१९ टोलीले भने आगामी वर्षको जनावरी १८ देखि २ फेब्रुअरीसम्म मलेसियामा हुने विश्वकपमा स्थान पक्का गरिसकेको छ।

डबल राउन्ड रोबिन लिगको आधारमा भएको छनोटमा नेपालले सुरूवाती पाँच मध्ये चार खेलमा जित निकालेको थियो। पहिलो राउन्डमा घरेलु टोली युएईसँग पराजित हुँदा नेपालमाथि छनोटको दबाब बढेको थियो।

पाँचौं खेलमा नेपालले कुवेतमाथि सानदार जित निकालेर रनरेटमा युएईमाथि दबाब बढाएको थियो। कुवेतविरूद्ध १६५ रनको जित निकाल्दा नेपालका लागि कप्तान पूजा महतोले १३० रन जोड्नुका साथै पाँच विकेट लिएकी थिइन्। जससँगै पूजा नेपालका लागि एकै खेलमा शतक प्रहार गर्ने र पाँच विकेट लिने पहिलो खेलाडी बनिन्।

कुवेतविरुद्ध सानदार जित निकालेसँगै नेपालका लागि युएईविरूद्धको अन्तिम खेल निर्णायक सावित बनेको थियो। जुन खेलमा नेपालले ८ विकेटले जित निकाल्न सफल भयो। १५ ओभर चल्दै गर्दा ८४ रनको लक्ष्य पूरा गरेसँगै नेपालले युएईसँग अंक बराबर गर्दा रनरेटमा अघि रहेको थियो।

जससँगै नेपाली महिला यू-१९ टोलीले पहिलो पटक विश्वकपमा स्थान पक्का गर्न सफल भयो। छनोटमा नेपालकी कप्तान पूजा महतोले सर्वोत्कृष्ट खेलाडी बनिन्। उनले प्रतियोगितामा एक शतकसहित २७२ रन जोडिन्। यस्तै ६ खेलमा १० विकेट समेत लिन सफल भइन्।

अब नेपालले आगामी जनावरी-फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा समूह ‘डी’ मा प्रतिस्पर्धा गर्नेछ। समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा भिड्नेछन्। समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन्।

सन् २०२३ देखि सुरु भएको यू-१९ विश्वकपको यो दोस्रो संस्करण हो। अघिल्लो संस्करणको छनोटमा नेपाल तेस्रो हुँदा छनोट हुन असफल भएको थियो।

सन् २०२७ मा विश्वकपको आयोजना गरेसँगै नेपालले क्रिकेटको ग्लोबल इभेन्ट पहिलो पटक आयोजना गर्ने इतिहास पनि बनाउनेछ।विश्वकपमा छनोट भएसँगै नेपाली यू-१९ टोलीले एसिया कप समेत खेल्ने भएको छ। विश्वकपमअघि हुने एसिया कप मलेसियामै हुनेछ। मलेसियामा यू-१९ एसिया कप १५ देखि २२ डिसेम्बरसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको समूह ‘बी’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने खेल तालिका समेत पक्का भइसकेको छ।

यू-१९ महिला एसिया कप एसिसीले पहिलो पटक सञ्चालन गर्न लागेको हो। प्रतियोगितामा समूह ‘बी’ मा नेपाल, भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दा समूह ‘ए’ मा श्रीलंका, मलेसिया र बंगलादेशले भिड्नेछन्।

महिला क्रिकेटमा इतिहास

नेपालको सिनियर पुरुष टोलीले दुई पटक टी–२० विश्वकप र यू–१९ टिमले ८ पटक विश्वकप खेलिसकेपनि महिला क्रिकेटमा नेपालको कुनै टोली विश्वकपमा पुग्न सकेको थिएन ।

कृष्मा गुरुङको ४, अनि रिया शर्मा र सीमा केसीको २–२ विकेट मद्दतमा नेपालले यूएईलाई २० ओभरमा ८३–९ रनमै रोक्न सफल भयो यूएईका लागि कप्तान समाइरा धर्निधार्काले सर्वाधिक ३१ रन बनाइन् भने रिनिथा रजिथले २० रन जोडिन् ।

लावान्या केनी र इन्धुजा नन्दकुमारले समान १० रन जोडे । कृषामा गुरुङले १८ औं ओभरमा इन्धुजासहित ३ खेलाडीलाई आउट गरेपछि नेपालले स्कोर गति रोकेको थियो ।

नेपालका लागि कृष्माले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ४ विकेट लिइन् । रियाले ४ ओभरमा १२ र सिमानाले १८ रन खर्चेर समान २ विकेट लिए ।

८४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले आक्रमक सुरुवात गर्दै पहिलो ओभरमै १० रन जोड्यो । त्यसलाई कायम राख्दै नेपालले १६ ओभरमै जित हात पार्‍यो ।

आक्रामक सुरुवात गरेकी विकेटकिपर सावित्री धामी तेस्रो ओभरको चौथो बलमा १२ रन बनाएर आउट भइन् । ९ बलको सामना गरेकी उनले एक चौका प्रहार गरेकी थिइन् । त्यसपछि कप्तान पूजा महतोले ओपनर साना प्रविनसँग ३० रनको महत्वपूर्ण साझेदारी गरिन् ।

पूजा १८ बलमा ४ चौका मदतमा २१ रन बनाएर सातौं ओभरको अन्तिम बलमा आउट हुँदा नेपाल ४८–२ को स्थितिमा थियो । त्यहाँबाट साना प्रविन र उपकप्तान सोनी पाख्रिनले इनिङ्स अघि बढाए । यही जोडीले तेस्रो विकेटका लागि अविजित ३८ रनको साझेदारी गर्दै नेपाललाई विश्वकपमा पुर्‍याए ।

सानाले अन्तिमसम्म क्रिजमा रहँदै ४२ बल खेलेर अविजित ३५ रन बनाइन् । ४२ बल खेलेकी उनले १ चौका पनि प्रहार गरिन् । सोनीले १९ बल खेलेर अविजित १३ रन योगदान गरिन् ।

१६ वटै टोलीको टुङ्गो

एसियाबाट नेपाल छनोट भएसँगै विश्वकप खेल्ने सबै १६ टोलीको टुङ्गो लागेको छ । यू–१९ महिला टी–२० विश्वकप जनवरी १८ देखि फेब्रुअरी ७ सम्म मलेसियामा हुने तय भएको छ, जसमा अघिल्लो संस्करणका शीर्ष १० टोली, आयोजक मलेसिया स्वतः छनोट भएका छन् ।

अघिल्लो पटक विश्वकप खेलेका अष्ट्रेलिया, बंगालदेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इन्डिज सोझै छनोट भएका हुन् ।

नेपालसहित नाइजेरिया, समावा, स्कटल्याण्ड र अमेरिका क्षेत्रिय छनोटबाट आएका छन् । अमेरिकी क्षेत्रमा भने अन्य कुनै टिम नभएकाले अमेरिका छनोट नखेली स्वतः विश्वकप खेल्न छानिएको हो ।

युरोपियन क्षेत्रबाट छनोट भएर आएको स्कटल्याण्डले अघिल्लो पटक पनि विश्वकप खेलेको थियो । एसियाली क्षेत्रबाट अघिल्लो पटक नेपाल र थाइल्याण्डलाई पछि पार्दै यूएई विश्वकपमा पुगेको थियो । यस पटक भने यूएईलाई रोकेर नेपाल विश्वकपमा पुगेको छ ।

दोस्रो प्रयासमा सफल

नेपालको यू१९ महिला टोलीले यू१९ विश्वकप छनोट खेलेको दोस्रो पटक हो र दोस्रो प्रयासमा नेपाल विश्वकप पुग्न सफल भएको छ ।

यसअघि सन् २०२२ मा नेपालले यू१९ विश्वकप एसिया क्षेत्र छनोट खेलेको थियो । जहाँ युएई र थाइल्याण्ड भन्दा पछि तेस्रो स्थानमा रहेपछि नेपालले यू १९ विश्वकप खेल्न पाएन । पुरुष टोलीले ८ पटक यू १९ विश्वकप खेलेपनि महिला टोलीले भने अहिलेसम्म खेलेको छैन । यसपटक युवा टोली विश्वकप पुग्ने लक्ष्य र जोशका साथ युएई पुगेको थियो ।

त्यसका लागि नेपालले दाङमा दुई महिना तयारी गरेको थियो भने दिल्लीमा चार अभ्यास खेल खेलेर युएई गएको थियो । त्यसैले प्रशिक्षक रिजालले राम्रो नतिजाको आशा गरेको बताएका थिए । नेपालमा गरिएको अभ्यास र दिल्लीको अभ्यास खेलले गर्दा सबै पक्षमा राम्रो सुधार आएको र त्यसलाई प्रतियोगितामा निरन्तरता दिने रिजालले बताएका थिए ।

रिजालका लागि पनि यो अवसर र चुनौती दुवै थियो । यसअघि पनि नेपालले यू१९ विश्वकप छनोट प्रतियोगिता रिजालकै प्रशिक्षणमा खेलेको थियो । तर विश्वकप पुग्न सकेन । उनले दोस्रो पटक फेरि अवसर पाए । यस पटक भने उनले त्यसलाई महत्वपूर्ण अवसरका रुपमा लिएका थिए र आफूलाई प्रमाणित गर्न चाहन्थे । उनले क्यानले देखाएको विश्वासलाई पूरा गर्दै महिला क्रिकेट रुपान्तरणका लागि आधार तयार पार्ने बताएका थिए । ‘यस प्रतियोगिताले हाम्रो महिला क्रिकेटको रुपान्तरणको आधार तयार गर्ने कुरामा म विश्वस्त छु ।’

रिजालले भनेजस्तै नेपालबाट कुनै पनि पर्म्याटको महिला विश्वकप खेल्ने यो पहिलो टोली बन्नेछ । अनी यसबाट नेपाली महिला खेलाडीहरु मोटिभेट हुनेछन् र भर्खर क्रिकेट खेल्न सुरु गरेका खेलाडीहरु पनि यो देखेर बलर ब्याट समाउन प्रेरित हुनेछन् ।

अर्को महत्वपूर्ण विषय भनेको नेपालले बंगलादेशसँग मिलेर यसपछि सन् २०२७ मा हुने यू-१९ महिला टी २० विश्वकप आयोजना गर्दैछ । त्यसका लागि पनि यो ठूलो आधार हुनेछ । घरेलु मैदानमा हुने त्यस विश्वकपका लागि पनि अहिलेदेखि नै खेलाडी तयार पार्नको लागि यस पटकको विश्वकपले ठूलो सहयोग पुग्नेछ र प्रेरणा मिल्नेछ । प्रशिक्षक रिजालले पनि खेलाडीहरुले यसको महत्व बुझेको बताएका थिए । ‘यो प्रतियोगिताको महत्व हाम्रा खेलाडीहरुले पनि राम्ररी बुझेको छन् ।’

महिला टोली पहिलो पटक यू१९ विश्वकपमा छनोट भएमा (क्यान) अध्यक्ष चतुर बहादुर चन्दले खुशी व्यक्त गर्दै सबैलाई बधाई र धन्यवाद दिए । उनले यस पटक लामो समयको तयारी र प्रशिक्षक अनी खेलाडीहरुको मिहिनेतले यो सफल भएको बताए । ‘सबैलाई बधाई र धन्यवाद छ । नेपाली क्रिकेटका लागि यो ठूलो कुरा हो । यस पटक टिमले लमही भैर।हवा तिलोत्तमा लामो समय तयारी गरेको थियो । दिल्लीमा पनि अभ्यास म्याचहरु खेल्यो । त्यसले पनि ठूलो सहयोग पुग्यो, अध्यक्ष चन्दले अनलाइनखबरसँग भने, ‘खेलाडीहरुले पनि व्यक्तिगत रुपमा निकै मिहिनेत गरेका थिए । तयारी पनि राम्रो थियो र सफल भयौँ ।’

अध्यक्ष चन्दले यो जितले सिनियर महिला टिमलाई पनि मोटिभेट हुने र बउने जेनेरेसनलाई पनि प्रेरणा दिने बताए । यस्तै सन् २०२७ मा बंगलादेशसँग मिलेर आफैँ यू१९ महिला टी२० विश्वकप आयोजना गर्दा अझ जोश बढ्ने बताए । ‘यही टिमका आधा खेलाडीहरु २०२७ मा पनि खेल्न लायक हुन्छ । त्यो बेला अनुभवी टिम हुन्छ ।’ चन्दले भने ।