चैत्र ८, २०८१ शनिबार

हात हेर्न घर-घरमा डुल्नेसँग भागिन् ६ सन्तानकी आमा



नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा एक महिला भिखारीसँग फरार भएको घटनाले धेरैको ध्यान तानेको छ । ती महिलाले पति र ६ छोराछोरी छाडेर भिखारीसँग भागेको जनाइएको छ ।

उत्तर प्रदेश राज्यको हरदोई जिल्लाको हरपालपुर निवासी राजुले प्रहरीमा यसबारे उजुरी गरेका छन् । राजुका अनुसार उनकी पत्नी लामो समयदेखि नियमितजसो आफ्नो घरमा माग्न आउने एक भिखारीसँग भागेकी हुन् ।

ती भिखारी प्रायः आफ्नो घरमा माग्न आइरहने, उसले हात हेरेर भविष्यवाणी समेत गर्ने गरेको पीडित राजुको भनाइ छ । सोही क्रममा आफ्नो पत्नीले ती भिखारीसँग लामो समय कुरा गर्दै आएको राजुले बताएका छन् ।

चार दिनअघि तरकारी र कपडा किन्न भनेर घरबाट निस्किएकी आफ्नी पत्नी फर्केर नआएको राजुले प्रहरीलाई जानकारी दिएका छन् । पत्नीले घरमा राखेको एक लाख ६० हजार नगद रकम लगेको उनको आरोप छ ।

भिखारीले आफ्नी पत्नीलाई फकाएर लगेको भन्दै उनले चाँडो खोजी गरिदिन प्रहरीसमक्ष निवेदन दिएका छन् ।

हरपालपुर थानाका प्रहरी प्रमुख राजदेव मिश्राले पत्नी भागेको सम्बन्धमा राजुले निवेदन दिएको बताए । उनको निवेदनका आधारमा भिखारी र राजुकी पत्नीको खोजी भइरहेको मिश्राको भनाइ छ ।