बैशाख ११, २०८१ मंगलबार

अस्पत्तालमा गर्भवतीको मृत्यु, डाक्टरको लापरवाही भएको परिवारको दाबी



१ कार्तिक, धनुषा – धनुषामा उपचारको क्रममा एक गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा विक्रमपुरकी २२ वर्षीया किरण यादव रहेको छ ।

जनकपुर अञ्चल अस्पतालकै अगाडी सञ्चालनमा रहेको आर्या केयर एण्ड क्यूर अस्पतालको लापरवाहीले किरणको ज्यान गएको परिवारले जनाएको छ ।

९ महिनाकी गर्भवती किरण उपचारका लागि शनिवार त्यस अस्पतालमा भर्ना भएकी थिइन् । उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विषेशज्ञ डा. विजय सिंहको लापरवाहीले किरणको आईतबार मृत्यु भएको मृतकका बुबा राजेश यादवले बताए । अत्यधिक रक्तश्राव भएर विरामीको अवस्था गम्भीर भए पनि डा.सिंह वेवास्ता गर्दै बाहिर निस्केको र त्यसको केहीबेर पछि नै मृत्यु भएहो उनको गुनासो छ ।

पटक पटक विरामीको स्वास्थ्य अवस्थाको विषयमा अस्पताललाई जानकारी गराउँदा समेत कुनै वास्ता नगरेको र त्यहाँबाट अन्यत्र रेफरसमेत नगर्दा मृत्यु भएको परिवारको दावी छ ।
गर्भवती यादवलाई जनकपुरको ओम क्लिनिकमा डा.विजय सिंहले चेकचाँच गरेपछि आर्या अस्पतालमा भर्ना गरिएको अस्पतालका कर्मचारी डा.प्रियरंजनले स्वीकार गरे ।
अस्पताल पक्षले भने बिरामीका परिवारलाई रगतको व्यवस्था चाँडो गर्न भनेको तर बिरामीको आफन्तले रगतको व्यवस्था गर्न नसक्दा बिरामीको मृत्यु भएको दावी गरेको छ ।

यसमा अस्पताल र चिकित्सकको कुनै दोष नभएको अस्पतालको भनाइ छ । जनकपुर अञ्चल अस्पतालमा समेत कार्यरत रहेका डा.सिंह यस्तो विषयमा पटक पटक विवादमा पर्ने गरेको स्थानीय अगुवाहरुले बताएका छन् ।  केही दिन अगाडी पनि एक महिलाको सुत्केरी गराउने समयमा नै मृत्यु भएको थियो ।