बैशाख १५, २०८१ शनिबार

नेपालको पहिलो जुम्ल्याहा टेष्टट्युव बेबीकी आमा भन्छिन् – बच्चा नहुनुमा महिलालाई नै दोष दिइन्छ



काठमाडौँ — नेपालको पहिलो जुम्ल्याहा टेष्टट्युव वेवीकी आमा  कुमुदिनी कोइरालाले बच्चा नहुनुमा समाजमा महिलालाई नै दोष दिने गरिएको बताएकी छन् । पुण्यर्जन फाउन्डेसनकी निर्देशक रहेकी पूर्व प्राध्यापक कोइरालाले सामाजिक सोच र पितृसत्तात्मक सोचले महिलालाई नै कमजोरी देखाइने बताइन् ।

कान्तिपुर पब्लिकेसन्स लिमिटेडले बिहीबार आयोजना गरेको ‘निर्भीक नारी’ कार्यक्रममा निर्देशक कोइरालाले समाजमा महिलाहरूलाई बच्चा जन्माउन दबाब रहेको बताएकी हु्न् ।

कुमिदीनी र वरिष्ठ दन्त विशेषज्ञ डा. सुशिल कोइराला दम्पतीले २०६१ साल फागुन २१ गते  आईभीएफ प्रविधिबाट बच्चा जन्माएका थिए । उनीहरूका  छाेराहरू युगोत्तम र युगेश्वर कोइराला नेपालको पहिलो जुम्ल्याहा टेष्टट्युव वेवी हुन् भने नेपालकै दाेस्राे र तेस्राे टेष्टट्युव वेवी हुन् ।

३० वर्ष अगााडि आईभीएफ प्रविधिबाट बच्चा जन्माएको अनुभव सुनाउँदै उनले भनिन् ‘शिक्षित परिवारको छोरी र बुहारी आफू भए पनि बच्चा जन्माउनु पर्ने दबाब मलाई पनि थियो’ पारिवारिक सहायताका कारण आईभीएफबाट बच्चा जन्माउन सफल भएको उनले बताइन् ।

‘सन्तान नहुदा मैले भन्दा बढी पिर गर्ने सासुससुरा हुनुहुन्थ्यो, मैले भन्दा मलाई बढी बुझ्ने परिवारका सदस्य हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘लामो समय बच्चा नभएपछि आईभीएफ प्रविधि प्रयोग गरेका हौँ ।’

२०५० सालमा यो बच्चा नहुँदा र आईभीएफ प्रविधि प्रयोग गर्दा एकदमै गाह्रो रहेको उनको भनाई छ । ‘त्याे अवस्थामा सामाजिक प्रेसर त्यसपछि मानसिक प्रेसरबाट गुज्रीरहेको हुन्छ । मेरो परिवार शिक्षित रहेकोले मलाई त्यो अवस्थाबाट गुज्रिन परेन,’ उनले भनिन्, ‘हामी सबैजनाको डिसीजनबाट यो निर्णय लिएका थियौ ।’

विवाहको ५ वर्षसम्म पनि बच्चा नभएपनि उनी दान, पाठ, पूजा, धामी, झाँक्री सबै गरेको र सबै प्रयास असफल भएपछि आईभीएफ प्रविधिबाट बच्चा जन्माएको बताउँछिन् ।