बैशाख १५, २०८१ शनिबार

लाहुरे श्रीमानलाई गाउँमा बोलाएर विश्वकै महँगाे वनस्पति खेती



गुल्मी । श्रीमान् भारतीय सेनाको पेन्सनर । भरतपुरमा ५ विगाह खेत । परिवारका अन्य सदस्य भरतपुरदेखि थाइल्याण्डसम्मका व्यापारी । २०५३ सालमा श्रीमान् पेन्सन निस्केर आएपछि मनग्य पैसा । लाहुरेहरुकै गाउँ तत्कालिन भार्से गाविस (हाल सत्यवती गाउँपालिका ३)बाट धेरै छिमेकी सहर पस्नेक्रम बढेको बेला गोविन्दथानकी रुकमाया पुनलाई गाउँमै बस्नुपर्ने बाध्यता थिएन । तर पनि शहरप्रति कुनै लालच लागेन । श्रीमानलाई गाउँमै बस्न र केही नयाँ काम गर्न सुझाउनुभयो । त्यही सुझाव र सहयोगले धनबहादुर पुन विश्वकै महंगो वनस्पती खेतीमा लाग्नुभयो । अहिले गाउँमै हुर्किएका छन्, हजारौं अगरउडका रुख । ‘मलाई श्रीमतीको प्रेरणाले गाउँमा बस्नुपर्छ भन्ने बनायो, यतै बसेँ’, धनबहादुर भन्नुहुन्छ, ‘यहिँको स्वस्थ हावापानीमा बस्नका लागि के गर्ने त भन्ने छलफल हुँदा अगरउडको खेती सुरु ग¥यौं ।’

जन्मथलो भार्से छाडेर शहर नपस्ने भएपछि थाइल्याण्डमा व्यापारी भाई रतनबहादुर र चितवनमा रहेका बहिनी ज्वाईं नरेन्द्र कन्दङ्वासँग सरसल्लाह गर्दा अगरउड खेतीतर्फ लाग्नुभयो । गाउँमा खेती गर्ने भएपछि जग्गा लिने, कामदार खोज्ने, मलजल आदिको सबै व्यवस्थापन रुकमायाले गर्नुभयो । म्यालडाँडामा ४ सय रोपनी भन्दा धेरै जग्गामा २५ हजार अगरउडका बिरुवा, सुन्तला, कागती, अमिलोका बिरुवा लगाउनुभयो । त्यो सँगै जंगलमै हुर्कन थाले १६ भैंसी, १५० बाख्रा, एक डेढसय लोकल कुखुरा । ‘बिरुवा लगाउने, खेताला लगाउने, कहाँ दिनुपर्ने, कहाँ नदिनुपर्ने, व्यवस्थापन सबै उहाँकै हात हो’, धनबहादुर भन्नुहुन्छ ।

धन पैसा प्रसस्त कमाएपछि गाउँ छोडेर शहर पस्नेहरुको लहर चलिरहेको बेला उहाँहरु भने मानववस्ती भन्दा टाढा, घना जंगलको बीचमा बोटबिरुवा र पशुपंक्षीसँग रमाउन थाल्नुभयो । नेपालमा नयाँ बनस्पती खेती अगरउडको रिपोर्टिङ्ग, अध्ययन र अवलोकन गर्न देश विदेशबाट मानिसहरु आउन थाल्नुभयो । संघसंस्था र सरकारी निकायबाट सम्मान पुरस्कारहरु पाउनुभयो । जंगलको बसाइले स्वस्थ जीवनसँगै जीवनमा खुसी ल्यायो । ‘नारायणघाटमा ५ सात बिगाह खेत थियो । तर उहाँको सल्लाह उहाँ भन्दा यहाँ ठीक हुन्छ भनेर भन्नुभयो, मान्छेलाई स्वस्थ ठाउँ चाहियो ।

‘पोलुसन भएको ठाउँमा बस्नु र स्वस्थ ठाउँमा बस्नु फरक हो’, श्रीमान् धनबहादुर भन्नुहुन्छ, ‘प्रेरणा दिने सबै उहाँ (श्रीमती), मेरो सफलता भनेकै उहाँ हो । उहाँ (श्रीमती) को हात म माथी पर्ने थिएन भने म खुम्चिएर बसेको हुन्थेँ ।’

वन तथा प्राकृतिक स्रोत साधन व्यवस्थापन विज्ञ मथुरा खनालका अनुसार अगरउड संसारभर सर्वाधिक माग भएको बहुमूल्य बास्नादार काठ हो । यो काठ बास्नादार तेल, धुप, अत्तर र औषधि बनाउने कच्चा पदार्थका रूपमा प्रयोग भएको पाइन्छ । यसलाई स्वर्गको सुगन्ध पनि भन्ने गरिन्छ । अगरउडबाट सौन्दर्य प्रशाधन, सौखिन र औषधिजन्य वस्तु उत्पादन गरिन्छ । यसमा ७० भन्दा धेरै किसिमका रसायन हुनेहुँदा यसको प्रयोग गरी बनाइएका औषधि कलेजो, मिर्गौला, क्यान्सर, दम, क्षयरोग, मानसिक तनाव, बाथ, अपच, अरुचि, शरीर दुख्ने र रिङ्गटा लाग्नेजस्ता बिरामीको उपचारमा प्रयोग गरिन्छ ।

अति सुगन्धित र विशिष्ट किसिमको बास्नाका कारणले नैराश्य, हतोत्साह र कुण्ठाले ग्रस्त मानिस पनि चङ्गा, उत्साही, उमङ्गित र प्रफुल्लित हुन पुग्छन् । संसारका धनी मानिस घरमा विशिष्ट पाहुनाको स्वागत, चाडबाड र पूजाआजामा सुन वा चाँदीले बनेका र त्यसमा हीरा, मोती र मूल्यवान रत्नजडित धुपौरोमा अगरउडको धुप बाल्ने गर्छन् । अगरउडका पारखीले यसबाट बनेको तेल, साबुन, मन्जन, डिटरजेन्ट पाउडर, क्रिम, चक्लेट, कन्फेक्सनरी, चिया, चुरोट र रक्सीमा समेत प्रयोग गर्छन् । यसको सेवनले शरीरमा शक्ति, स्फुर्ति बढ्ने, रक्तसञ्चार, श्वासप्रश्वास र पाचन प्रणाली पनि राम्रो राख्ने हुन्छ । अगर निकालेर बाँकी रहेको काठबाट अगरबत्ती तथा माला बनाएर लगाउने चलन पनि छ । यसको काठमा काष्ठशिल्प गरेर सजावट गर्ने पनि गरिन्छ ।

यसका अलावा पुनको निजी बनमा एवोकाडो, ग्राउण्ड एप्पल, सुन्तला, कागती, खुर्सानी, मसालाजन्य खेती र हरियो तरकारी खेती, मौरी पालन, तथा चिराइतो, सतुवा, सिस्नु, बकाइनो, सतविज, तुलसी, सयजडी लगाएतका जडीबुटी पनि लगएका छन् । ८० वटा बाख्रा छन् ।

दर्जनौं लोकल कुखुरा छन् । जंगलमा हुर्किएका कागती, अमिलोको चुक छ । यी उत्पादन खरिदका लागि मानिसहरु जंगलमै पुग्छन् । पुन दम्पत्तिका जेठो छोरा बुहारी जापान छन् । कान्छो छोरा प्याराग्लाइडिङ पाइलट हुनुहुन्छ । तर उहाँहरुलाई गाउँमै वनस्पती र पशुपंक्षीसँगको जीवन खुसीयालीपूर्ण छ । रमाइलो छ । ‘आफू जन्मेको, हुर्केको ठाउँमा बस्न पाउनु खुसीको कुरा हो, त्यसैले उहाँ (श्रीमान्)लाई यहीँ बसौँ भनेँ, उहाँले पनि मान्नुभयो’, रुकुमाया भन्नुहुन्छ, ‘खुसी छौं ।’