बैशाख १२, २०८१ बुधबार

उपचार गर्न पैसा छैन, माईतिमा गएर आमाको काखमा मर्छु



parbatiबाजुरा, ८ पुस – मिर्गाैला फेल भएकी मुगु, ह्याङ्लु गाविसस्थित रिगा गाउँकी २३ वर्षीया पार्वती उपाध्याय उपचार खर्च कतैबाट नजुटेपछि बाह्र ट्याब्लेट औषधि बोकेर माइती पुगेकी छिन् । ‘मर्नु अघि आमाको मुख हेरौं भनेर माइती आएँ’ उनले भनिन् । बाल्यकालदेखि अनेकांै हन्डर खेप्नुपरेको थियो । माओवादीले दुःख दिएपछि भाग्दाभाग्दै १४ वर्षअघि कर्णाली नदीमा हामफालेर उनका बुबाले मृत्युवरण गरेका थिए ।

बाबुको मृत्युपछि टुहरी बनेकी उनलाई आमाले गाह्रोसारो गरेर हुर्काइन् । कक्षा आठमा पढ्दै गर्दा पार्वतीको जीवनमा अर्को बज्रपात प¥यो । इष्टकुटुम्बकै युवाले ललाइफकाइ विहे गरी भारत पु¥याएर अलपत्र पारे ।

पतिको खप्की सहन नसकेर घर फर्किएकी उनको जीवनमा अर्को विपत्ति आइलागेको छ । चिकित्सकले मिर्गौला ‘फेल’ भएको बताएर थप उपचार गर्न सुझाए पनि बेसहारा भएर उनी मृत्युको दिनगन्ती गर्न बाध्य भएकी हुन् । दुई महिनादेखि बृद्धा आमाको सहारामा दिन काट्दै आएकी पार्वती दर्जनौंपटक भक्कानिन्छन् । उपचार गराउन नसकेर थलिएकी, उनका खुट्टा सुन्निएका छन् । ‘मृत्यु पर्खिबस्नुबाहेक केही विकल्प छैन,’ उनले रुँदै आफ्नो वेदना पोखिन् ।

उनका पाँचजना दिदीबहिनी र एक दाजु छन् । चारवटै दिदीबहिनीको विहे भइसक्यो । दाजु नन्दकेश सुर्खेतमा बस्छन् । अस्वस्थ छोरीको स्याहार गर्ने जिम्मेवारी गाउँमा बस्दै आएकी ७० वर्षीया आमाको काँधमा छ । ‘छोरीको उपचार गर्दिने सहारा कोही भएन,’ आमा दुधाले भनिन्, ‘छोरा नन्दकेश बुहारीको औषधिमुलो गर्ने झन्झटमा फसेको छ ।’ गएको जेठ महिनामा पार्वतीलाई रोगले च्याप्यो ।

साहिली दिदी उमा पाण्डेले कोहलपुरस्थित मेडिकल कलेजमा लाँदा चिकित्सकले मिर्गौला फेल भएको बताएपछि उमाका श्रीमान्ले काठमाडौंको वीर अस्पताल पु-याए । ‘एक साता अस्पतालमा राख्यौं, डाक्टरले मृगौलाको समस्या भनेपछि खर्च अभावमा घर फर्कायौं,’ भिनाजु रत्नलाल पाण्डेले भने, ‘हामीसँग भएको खर्च आउन जान ठिक्क भयो, थप उपचार गराउने पैसा भएन ।’ दाइ भाउजूले पनि मन मारेपछि पार्वती बेसहारा बन्दै गइन् । ‘अस्पतालले उपचार गर्न पाँच लाख माग्यो, हाम्रो सबै जग्गा जमिन बेचेर सकिसकेका थियौं बाँकी केही रहेन, अब उपचार गर्न सकिँदैन आमाको काखमा गएर मर्छु भन्ने सोचेर यहाँ आएकी हुँ ।’ आँखाबाट आँशु बगाउँदै पार्वतीले दुःख सुनाइन् । उनले काठमाडौंबाट बोकेर ल्याएका औषधिमा अब उनीसँग १२ ट्याब्लेलमात्र बाँकी छ । औषधि सकिएपछि खट्टामा जडीबुटी लगाउँछु । सरकारले निशुल्क उपचारको कुरा रेडियोमा गर्दा आशा जाग्छ तर उनीसँग मुगुबाट काठमाडौं जानसम्म पनि खर्च छैन । बाजुरा बाधुका शंकर भण्डारीले चार वर्षअघि पार्वतीलाई ललाइफकाई विवाह गरेर भारत पु¥याएका थिए ।