बैशाख ८, २०८१ शनिबार

अकालमा ज्यान गुमाउँदै गर्भवती आमाहरू



Dead Pragnent

नेपालगन्ज – बाँकेमा चालू आवको ६ महिनामा १२ सुत्केरी महिलाले ज्यान गुमाएका छन् । साउनदेखि पुससम्म उनीहरूले अकालमा ज्यान गुमाएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । गत आवमा २२ जनाले सुत्केरी अवस्थामै ज्यान गुमाएका थिए । कार्यालयका अनुसार पाँच वर्षको अवधिमा प्रत्येक वर्ष कम्तीमा २० सुत्केरी महिलाको मृत्यु भएको छ ।

होलिया गाविसमा यो वर्ष दुई महिलाले अकालमा ज्यान गुमाए । गत वर्ष पनि तीन जनाको मृत्यु भएको थियो । बेतहनीमा गत वर्ष एक र चालू वर्षमा एकले ज्यान गुमाएको जनस्वास्थ्यले जनाएको छ । जयसपुरमा गत वर्ष दुई सुत्केरीको ज्यान गएको थियो । कोहलपुर नगरपालिकामा भने पाँच वर्षे अवधिमा कुनै सुत्केरीले ज्यान गुमाउनुपरेको छैन । सुत्केरी अवस्थामा अत्यधिक रक्तस्राव र मुर्छा पर्ने समस्याले ज्यान जाने गरेको चिकित्सकको भनाइ छ ।
मृत्यु हुने महिलामध्ये ८० प्रतिशतभन्दा बढी मधेसी र मुस्लिम समुदायका रहेको कार्यालयका पब्लिक हेल्थ नर्स सरिता चन्दले बताइन् । उनका अनुसार पूर्वतयारीको चेतना कम हुनु, आकस्मिक अवस्थामा परिवारको सहयोग नहुनु, यातायात समस्यालगायत कारणले सुत्केरी अवस्थामा महिलाको मृत्यु हुने गरेको हो । आफ्नो स्वास्थ्यबारे गर्भवती महिलाले हेलचेक्र्याइँ गर्दा समस्या हुने गरेको उनले बताइन् । मुस्लिम र मधेसी समुदायमा गर्भवती अवस्था जाँच गराउने न्यून छन् । ढिलोगरी स्वास्थ्य संस्था जाने कारणले पनि जोखिम बढी पाइएको छ । चन्दका अनुसार ग्रामीण क्षेत्रमा परिवार नियोजन अधिकृत वसन्त गैरेले बाँके मध्यपश्चिममा सबैभन्दा बढी मातृ मृत्युदर हुने जिल्ला भएको जनाए । उनका अनुसार मृत्यु हुनेमा नेपालगन्ज उपमहानगर आसपासका महिला बढी छन् । ‘उनीहरूमध्ये घरैमा सुत्केरी भई अस्पतालमा आउने र अस्पतालबाट डिस्चार्ज भएर घर गएपछि जटिल समस्या आउने बढी छन्,’ गैरेले भने, ‘यो आवमा एक महिलाको मात्र घरमै मृत्यु भएको छ । अन्य सबैको अस्पतालमा मृत्यु भएको हो ।’ उनले उपमहानगर आसपास र भारतसँग सीमा जोडिएका महिलामा सुत्केरी अवस्थामा समस्या देखिने गरेको जनाए । कार्यालयका अनुसार सामाजिक, आर्थिक र सांस्कृतिक प्रभावका कारण महिलामा सुत्केरी अवस्थामा समस्या आउने गरेको छ ।

आमा बचाउ
जिल्ला जनस्वास्थ्य कार्यालयले मातृ मृत्युदर कम गर्न जिविस, महिला तथा बालबालिका कार्यालय तथा अन्य गैरसरकारी संस्थाको सहयोगमा मंसिर १८ गतेदेखि आमा बचाउ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत विभिन्न सचेतना कार्यक्रम, नवदम्पतीलाई परामर्श, घरदैलो, विपन्न महिलाका लागि नि:शुल्क एम्बुलेन्स सेवालगायत कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
जनस्वास्थ्य प्रमुख खिमबहादुर खडकाका अनुसार प्रत्येक गाविसमा गर्भवती महिलाको नामावली र सम्पर्क नम्बरसहितको प्रोफाइल तयार गरिएको छ । ‘उनीहरूलाई गर्भवती अवस्थामा चारपटक स्वास्थ्य जाँच गर्न आउने समयबारे तीन/चार दिनअघि नै खबर गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘उनीहरूलाई विभिन्न परामर्श फोन र घरदैलो कार्यक्रमबाट दिन थालिएको छ ।
यही कारण मातृ मृत्युदर कम गर्न सहयोग पुग्दै आएको हो ।’ गर्भवती महिलाका लागि विभिन्न अस्पतालका हटलाइन नम्बर वितरण गर्ने, स्वास्थ्यकर्मीमार्फत प्रत्यक्ष परामर्श दिने, प्रत्येक दिन कार्यालयबाटै तीन जनासम्म गर्भवतीलाई टेलिफोनमा परामर्श दिने गरिएको उनले बताए ।
कार्यालयले गर्भवतीका लागि २० प्रश्नसहितको सूची तयार पारी प्रत्येकलाई विभिन्न माध्यममार्फत सोध्ने व्यवस्था गर्न लागेको छ । प्रश्नावलीमार्फत उनीहरूको स्वास्थ्य अवस्थाबारे सचेत बनाउन लागिएको प्रमुख खडकाले जनाए ।