बैशाख १२, २०८१ बुधबार

बच्चा नजन्मिदै रक्तश्रावका कारण जोखिममा रहेकी गर्भवतीकाे हेलिकोप्टरमार्फत उद्धार गरी उपचार



बच्चा नजन्मिदै निरन्तर रक्तश्रावका कारण जोखिममा रहेकी ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिका वडा नं ३ हाङ्पाङकी ३५ वर्षीया चन्द्रकला बिकको हेलिकोप्टरमार्फत उद्धार गरी उपचार गरीएको छ ।

आमा र पेटमा रहेको बच्चा समेतको जीवन जोखिममा परेपछि राष्ट्रपति निःशुल्क हवाइ उद्धार सेवा कार्यक्रममार्फत नेपाली नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी कोशी अञ्चल अस्पताल बिराटनगरमा उपचार गरीएको हो ।

आर्थिक रुपमा अति बिपन्न ति महिलाको उपचारका लागि आफूहरुको अनुरोध अनुसार सरकारले उद्धार गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति इन्द्रबहादुर गुरुङले बताए ।

रेडक्रसको हाङपाङ उपशाखा तथा जिल्ला शाखाले प्रशासन कार्यालय र ताप्लेजुङ अस्पतालसहितका निकायमा समन्वय गरेको थियो ।

ति महिलाका श्रीमानको बोली आउँदैन। ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाका अनुसार पेटमा ३० हप्ताको गर्भ रहेकी ति महिलामा प्लासेन्टा पृभियाको समस्या रहेको छ।

लामाका अनुसार यो भनेको निकै गम्भीर प्रकृतिको समस्या छ। समस्या जटिल बन्दै गएपछि अस्पतालले आफ्नो फेसबुकपेजमार्फत मनकारीहरुलाइ उद्धारको पहल लिइदिन आग्रह समेत गरेको थियो।

सरोकारवालाले थाहा पाएर सरकारी निःशुल्क कार्यक्रम अन्तर्गत उद्धार गरेपछि गर्भवतीको ज्यान जोगिएको छ ।