बैशाख १०, २०८१ सोमबार

आमिर खानकी छोरी इरा डिप्रेसनमा, १४ वर्षमा यौन शोषण



बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान डिप्रेसनमा परेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय इराले आफू चार वर्षदेखि डिप्रेसनमा परेको बताएकी छन् ।

डिप्रेसनमा परेपछि डाक्टरकहाँ पनि गएकी र खासमा क्लिनिकल्ली डिप्रेस्ड भएको उनले लेखेकी छन् । इराले आफू डिप्रेसन रहेको खुलासा गरेपछि उनको ट्रोल पनि बनेको थियो । यसको जवाफमा उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘मानसिक स्वास्थ्यमाथि मैले लेखेको पोस्टप्रति तपाईंलाई घृणा लाग्छ भने म तपाईंको कमेन्ट डिलेट गरिदिन्छु । यदि दोस्रोपटक पनि कमेन्ट गर्नुहुन्छ भने म तपाईंलाई ब्लक गरिदिन्छु ।

उनले आफू १४ वर्षकी हुुँदा यौन शोषणमा परेको पनि भिडियोमार्फत सार्वजनिक गरेकी छन् । ‘जब म १४ वर्षकी थिएँ, मेरो यौन शोषण भएको थियो’ उनले भनेकी छन्, ‘त्यो समयमा त्यो मान्छेले यौन शोषण नै गरेको भन्ने महसुस नै भएन ।’

उनले त्यो व्यक्तिले गरेको कृयाकलाप यौन शोषण हो भन्ने कुरा थाहा नभएको र महसुस गर्न एक वर्ष लागेको बताएकी छन। आफूलाई यौनशोषण हो भन्ने थाहा भएपछि तुरुन्त आमाबाबुलाई इमेल लेखेको र यो कुरा बाहिर ल्याएको उनले सार्वजनिक गरेकी छन् ।

उनले आफ्ना बुबाआमाको सम्बन्ध विच्छेदबारे पनि धारणा राखेकी छन् । आमिर खान र रिना दत्त सन् २००२ मा अलग भएका थिए । यसबारे आफ्नो धारणा राख्दै इराले आफ्नो मातापिताको डिभोर्स हुँदा आफू दुःखी हुने कारण पनि थाहा नभएको बताएकी छिन् । ‘मेरो आमाबाबुको सम्बन्धविच्छेद हुँदा म सानी थिएँ । त्यो घटनाले ममा कुनै झट्का लागेन’, इराले भनेकी छन्, ‘किनभने दुवै आपसी सहमतिमा छुट्टिएका थिए ।’
सम्बन्धविच्छेदपछि पनि दुवै साथी रहेको र परिवार अहिले पनि नटुटेको उनको भनाइ छ । सम्बन्ध विच्छेदपछि पनि आफू र भाइ जुनैदबारे सँगै बसेर निर्णय लिने गरेको बताएकी छिन् ।