बैशाख १२, २०८१ बुधबार

यस्ता छन् हाँस्नुका फाइदाहरु



काठमाडौं । हाँस्नु स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ। यो सिद्धान्त निकै पूरानो हो। पूरातन, वैदिक संस्कृत ग्रन्थमा यसलाई मन, मस्तिष्क र मुटुको उत्कृष्ट व्यायाम भनिएको छ।

योगमा यसको फाइदालाई दृष्टिगत गर्दै दैनिक व्यायामका हिसाबले हाँस्ने सल्लाह दिइन्छ। यसले मानिसको जीवनको निरसता, एकाकीपन, तनाव, डिप्रेसन र थकानबाट राहत दिन्छ। छाति र पेटको मांसपेशी तथा मुटु, फोक्सो र रक्तसञ्चार व्यवस्थाको राम्रोसँग व्यायाम हुन्छ। हाँस्नु मनका लागि सबैभन्दा उत्कृष्ट टनिक मानिन्छ ।

अनुसनधानकर्ताहरुले हाँस्ने उपयोगितालाई जैव–रासायनिक आधारमा खोजी गरेका छन्। उनीहरुले हाँस्नाले मस्तिष्कमा कैयौं रासायनिक पदार्थ उत्पन्न हुने बताएका छन्। जसमा केटकोलिमिन्स र प्राकृत पीडानाशक एन्डरोफिन्स प्रमुख मानिन्छ।

यसका फाइदाः १ । हाँस्नु एक खालको वर्कआउट हो–हाँस्नु एक सरल प्रक्रिया हो। यसलाई उत्कृष्ट आन्तरिक कसरत मानिन्छ। खुलेर हाँस्दा पेट, श्वासप्रश्वास प्रणाली र काँधको पनि अभ्यास हुन्छ। हाँसेपछि मांसपेशी बढी रिल्याक्स र शान्त हुन्छन्। यसका साथै हाँस्दा लिइने गहिरो श्वासले वायुमार्ग थप खोल्न मद्धत गरी शरीरमा अक्सिजन बढाउँछ।

२ । तनावबाट राहत दिलाउँछ–हाँस्नु तनावबाट मुक्ति पाउने शानदार तरिका हो। यसले कोर्टिसोल र एपिनेफ्रीनजस्ता तनाव गराउने हार्मोन कमी गराउँछ। मानिसलाई स्वस्थ पार्ने हार्मोनको स्तरलाई बढाउँछ। मांसपेशीको पूर्ण कसरत हुन्छ र शरीरमा रक्तसञ्चारलाई सहज बनाउँछ।

३ । राम्रो निद्रामा सहयोगी–यदि रातमा राम्रो निद्रा परेन भने हाँस्नु उत्कृष्ट औषधि बन्न सक्छ। हाँस्दा निस्कने मेलेटनोन नामक रासायनिक पदार्थले राम्रो निद्रा पर्ने विशेषज्ञहरु बताउँछन्। यसैले साँझको समयमा परिवारका साथ या साथीभाइबीच रहेर हाँस्नुपर्छ, जसले तनाव र चिन्ता कम गर्दै गहिरो निद्रा पार्न सहयोग गर्छ।

४ । डिप्रेसनबाट बचाउँछ– हाँस्नाले डिप्रेसनबाट पीडित मानिसलाई समस्या समाधान गर्न मद्धत गर्छ। ‘जर्तिट्रिक्स जेरोट्रोजी इन्टरनेशनल’ नामक पत्रिकामा प्रकाशित एक अध्ययनका अनुसार हाँस्य थेरापीले ज्येष्ठ नागरिकमा भएको डिप्रेसनबाट समेत मुक्त पार्न सहयोग गर्ने पाइएको छ।

५ । प्रतिरोधी प्रणालीमा सुधार ल्याउँछ–नियमित रुपमा हाँस्ने अभ्यासले प्रतिरोधी प्रणालीमा सुधार ल्याउन सहयोग गर्छ। यसका साथै रगतमा टी–कोशिकाको संख्यामा पनि वृद्धि गर्छ।

६ । हाँसोले प्राकृतिक पीडानिवारकको काम गर्छ।

७ । मुटुको स्वास्थ्यका लागि फाइदाजनक, उच्च रक्तचाप कम गर्छ।

८ । मधुमेह नियन्त्रणमा मद्धत गर्छ। जापानमा भएको एक अध्ययनले खाना खाएपछिको हाँसोले टाइप टु मधुमेहबाट पीडितहरुमा सुगरको मात्रा कम गरेको पाइएको थियो। हाँसोले न्यूरोइन्ड्रोक्रिनिक प्रणालीमा सिधा प्रभाव पार्ने र यसले शरीरको ग्लुकोजको स्तर निगरानी गर्ने भएकाले मधुमेह नियन्त्रणमा भूमिका निभाउँछ।

९ । मानिसलाई सधै जवान देखाउँछ। हाँस्दा मानिस मुस्कुराउने भएकाले यस्तो अवस्थामा अनुहारका १५ मांसपेशीले एकसाथ काम गर्छन्। यसबाट अनुहारमा चारैतिर रक्तप्रवाह हुन्छ। जसले मानिसलाई सधैं युवा र स्वस्थ देखाउन मद्धत गर्छ।

१० । मन र शरीरमा ऊर्जा भर्छ।