बैशाख १५, २०८१ शनिबार

मसलाको रुखले मरूभूमीकरण बन्ने विज्ञहरूको चेतावनी, मधेशमा झण्डै ६ करोड बिरुवा



महोत्तरी । सदावहार हरियाली देखिने, छिटो वृद्धि विकास हुने र काठको लागिसमेत उपयोगी मसलाको रुख मधेशका जंगलमा मात्र हैन किसानहरुको खेतमा समेत देख्न सकिन्छ ।आयआर्जनका हिसावले समेत अन्य बिरुवाहरुको तुलनामा निक्कै उत्कृष्ट मानिने यो रुखका जति सुन्दर पक्ष छन त्यतिकै मानवजिवनसगँ जोडिएका कुरुप विशेषता पनि छ्न भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।

हो , पछिल्ला अध्यणहरुले मसलाको रुख कै कारण मधेश मरुभूमितर्फ उन्मुख हुँदै गएको देखाएको छ । यो रुख पारिस्थितिक प्रणालीका हिसावले मात्र घातक हैन पानीका मुहानहरु सुकाउने मुख्य अस्त्र बनेको विज्ञहरु बताउँछन । लामो समयदेखि चुरे र वातावरणिय क्षेत्रमा काम गर्दै आएका नागदेव यादवका अनुसार एउटा वयस्क रुखले ६२ लिटरसम्म पानी पिउने गर्दछ । वरपर लामो दूरीसम्मको पानीलाई चुम्बक जसरी तान्ने हुदा उत्पादनमा समेत मसलाको रुख घातक वनिरहेको उन्को भनाई छ ।

यो रुखले पारिस्थितिक प्रणालीमा समेत उथलपुथल बनाईरहेको एक अध्यणले देखाएको छ । यहाँ न चराचुरुङ्गीले बासस्थान बनाउछन न त किराहरुले नै । वनमा लगाईएको मसलाका रुखहरुले त अन्य रुखहरुको अस्तित्व नै नष्ट गर्ने गरेको बिज्ञहरुको निष्कर्ष छ । यो रुख वातावरणिय हिसावले निक्कै घातक रहेको स्थानियहरुले समेत महसुस गर्न थालेका छन । ५ बर्ष अगाडीसम्म पानी पाईरहने मुहानहरु यो रुख कै कारण सुकेका र सुक्ने क्रम जारी रहेको बर्दिवास-७ रमदेव महतो बताउँछन् ।

`यो बिरुवा छिटो बढेपछि स्थानियहरुको आकर्षण त बढयो तर बिस्तारै यही रुखको कारण मरुभूमि बनेको कसैलाई थाहा नै छैन,´ उनले भने, `हामीले त लगाउन छाडिसक्यौ ।´

अन्य रुख भएको ठाउँमा बाक्लै घाँस पाइने तर मसला रुखहरु भएको ठाउँमा घाँस नै नपाइने गरेको महतोको अनुभव छ । महतोले आजकाल यही कारणले बाख्रा, बस्तु समेत पाल्न छाडेका छन् । जंगलभरि मसलाका रुखहरु फैलँदै गएपछी पशुपालनको समस्या बढिरहेको उनकाे बुझाई छ । `यो मैले मात्र हैन गाउँभरीका धेरै मानिसहरुले बुझेका छन्, ´ उनले भने, ` अब यो बिरुवा र रुखको अस्तित्व मधेशबाट नै मेट्नुपर्छ ।´

२०३४ सालतिर सागरनाथ वन परियोजनाले एक भारतिय प्रोजेक्टको माध्यमवाट नेपाल भित्र्याएको यो रुख अहिले मधेशभरि फैलिएको छ । सागरनाथ वन परियोजना अन्तर्गतका र वन डिभिजन अन्तर्गतका जंगलमा मात्र हैन किसानका खेतवारीमा समेत यो रुख व्यवसायिकरुपमा प्रयोग गरिएको छ ।

यसकाे पातमा समेत एसिड हुने गरेको विभिन्न अध्ययनले पुष्टि गरेको छ । जसका कारण पात जमिनमा झरेर जादा वरिपरिको हरियोपनलाई नष्ट गर्ने र अन्य झारपातहरु समेत उम्रन नदिएर जमिनलाई नै बन्झर बनाउने अर्को समस्या रहेको बिज्ञहरु बताउँछन् ।

स्थानीय बासिन्दाहरु मसलाको रुख कै कारण खेतीपातीवाट समेत पलायन हुनुपर्ने स्थिति सिर्जना भएको गुनासो गर्छन् । गौशाला नगरपालिका कि गीतादेवी भन्छिन्, `गाउँलेले खेतमा रोपेका विरुवाका कारण समस्या बढिरहेको छ । कलको पानी सुकेको छ भने इनार पनि धमाधम सुकिरहेका छन् ।´

तथ्यांकअनुसार सागरनाथ वन परियोजना अन्तर्गत १० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा यो बिरुवा लगाईएको छ । १ बिघामा १६ सयसम्म बिरुवा रोपिने हुँदा सागरनाथ वन परियोजनामा मात्र १ करोड भन्दा बढी मसलाका बिरुवाहरु हुन सक्ने जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख सन्तोष झा बताउँछन् ।

अझ किसानहरुले खेतका डिल र खेतमा व्यावसायिक खेती नै गरेको देखिएको छ । जस्ले उत्पादनमा समेत कमि आएको स्वयम् किसानहरुको अनुभव छ । `५ बर्ष अगाडिसम्म खेतमा राम्रै उत्पादन हुन्थ्यो तर आजकाल यो मसलाको रुख रोपेको २ सय मिटर वरपरसम्म उत्पादन नै हुन छाड्यो,´ रामगोपालपुरका स्थानीय किसान रामसरोज यादवले भने, `५ बर्ष अगाडि उत्पादित उपज बेच्थे, अहिले किन्नुपर्छ ।´

अहिले मधेशका निजी जमिनमा समेत गरेर झण्डै ६ करोड बिरुवा रहेको आकलन गरिएको छ । पर्यावरणविद् चिरञ्जीवी भट्टराई यो विरुवाको विषयमा थप अध्ययन गरि निष्कर्षमा पुग्नुपर्ने बताउछन् । यसैलाई लिएर मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयमा छलफल र बहस भइरहेको छ । वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका सूचना अधिकारी बेचन कुमार महतोको अनुसार मसलाको रुखलाई लिएर बिज्ञहरुबीच गम्भीर छलफल भइरहेको छ ।

रुखको स्वभाव कै कारण पर्यावरणमा असर पर्ने आ‌कलन गर्न सकिने बताउँदै जमिनमुनि र जमिनमाथिको भाग बराबर हुने हुदा पनि पानीको मात्रा अन्य बाेटबिरुवाको तुलनामा बढी पानी खपत् गर्न सक्ने उनकाे भनाई छ ।

`अनुभव नै वास्तवमा विज्ञान हो । त्यसो हुँदा स्थानीय तथा भुक्तभोगीहरुको अनुभव सुन्दा यो रुख हानिकारक नै भएको अनुमान लगाउन सकिन्छ ।´ सुचना अधिकारी महतोले भने । `थप अध्यण गरेर सरकारले सकेसम्म नीति नै बनाउदा राम्रो हो ।´

सडक सौन्दर्यका लागी समेत सडक बिभागले यो रुख दायाँबायाँ रोप्दै आएको छ । जुन दुर्घटनाको कारक समेत वनिरहेको देखिएको छ । यस्को हागा निक्कै कमजोर हुने हुदा सानोतिनो हावाहुरीले पनि असर पुर्‍याउन सक्ने हुदा सडक अवरोधका साथै दुर्घटना समेत बढीरहेको ट्राफिक तथ्यांकले पुष्टि गर्दछ ।

यस्को हागा भाचिएर सडकमा दुर्घटना हुदा एक बर्षको अवधीमा झण्डै १० जनाको मधेशमा ज्यान समेत गैइरहेको प्रहरीको तथ्यांक छ । कृषि बिज्ञ राजेन्द्र देवकोटाका अनुसार यो रुख २५ देखि ५० मिटर अनि २ मिटर सम्म को गोलाई हुन्छ | अस्ट्रेलियाको तास्मिनिया टापुमा यसको उत्पति भएको मानिन्छ | भारतमा १८४३ मा बेलायती नागरिकले तामिल नाडूमा ल्याएर रोपेपछि भारत लगायत यसको बिरुवा नेपाल सम्म विस्तार भएको मानिन्छ |