असार १, २०८२ आईतबार

शेख हसिनाले भनिन् – ‘मोहम्मद युनुसलाई बंगलादेश चलाउने कुनै संवैधानिक अधिकार छैन’



काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले मंगलबार आफ्नो पार्टी अवामी लिगका कार्यकर्ता र समर्थकहरूलाई अनलाइन सम्बोधन गरेकी छिन् ।

यस क्रममा उनले बंगलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाउने मागको विरोध गरिन् । शेख हसिना हाल भारतमा छिन्। गत वर्ष बंगलादेशमा भएको हिंसात्मक विद्यार्थी आन्दोलनपछि हसिना अगस्टमा भारत आएकी थिइन्। त्यसबेलादेखि बंगलादेशले उनको सुपुर्दगीको माग गर्दै आएको छ।

यसअघि पनि शेख हसिनाले अनलाइन माध्यमबाट आफ्ना पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आएकी छिन्।

शेख हसिनाले आफ्नो सम्बोधनमा भनिन्, “कसैले पनि बिर्सनु हुँदैन कि बंगबंधु शेख मुजीबुर रहमानले अवामी लिग मार्फत बंगालका जनतालाई एकताबद्ध गरेका थिए र देशमा स्वतन्त्रता ल्याए।”

आफ्नो प्रत्यक्ष सत्रको क्रममा शेख हसिनाले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसलाई पनि निशाना बनाइन्।

उनले भनिन् – मोहम्मद युनुससँग देश चलाउने कुनै संवैधानिक आधार वा जनादेश छैन। शेख हसिनाले मोहम्मद युनुसले विदेशी कोष प्रयोग गरेर ‘सुव्यवस्थित योजना’ मार्फत सत्ता प्राप्त गरेको आरोप लगाइन्।

शेख हसिनाले बंगलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाउन माग गर्नेहरूका बारेमा पनि बयान दिएकी छिन्। हसिनाले भनिन् कि यस्ता माग गर्नेहरूको साहसले उनलाई अचम्मित पार्छ।

शेख हसिनाले भनिन्, “उनीहरूले यो सोच्नु हुँदैन कि म सबै कुरा छोडेर देश छोडेर गएँ। संविधान अनुसार, जनताको निर्वाचित प्रतिनिधि र संसद सदस्यहरूको छनोट गरिएको उम्मेदवारको रूपमा, म बंगलादेशको प्रधानमन्त्री हुँ। उनीहरूको शक्ति (मुहम्मद युनुसको अन्तरिम सरकार) को कुनै वैधता छैन।”

शेख हसिनाको भाषणमा बंगलादेशबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।