मंसिर १४, २०८२ आईतबार

नेपाली महिलाले मात्र सम्हाल्न थाले कूटनीतिक नियाेग



नेपालको कूटनीतिक क्षेत्रमा महिलाको सहभागिता पछिल्ला वर्षमा तीव्र रुपमा बढ्दै गएको छ। यस प्रगतिलाई झनै स्पष्ट बनाउँदै अहिले बेइजिङ र ब्रसेल्सस्थित नेपाली दूतावासहरूमा राजदूतदेखि तृतीय सचिवसम्म सबै कूटनीतिज्ञ महिला भएकाले नेपाल महिला–अग्रणी कूटनीतिक संरचना निर्माण गर्ने देशका रूपमा हाइलाइट भइरहेको छ।

चीनको राजधानी बेइजिङमा सहसचिव रोशन खनालले कार्यवाहक राजदूतको रूपमा दूतावासको नेतृत्व सम्हालेकी छन्। दूतावासका उपनियोग प्रमुख, काउन्सेलर, द्वितीय सचिव र तृतीय सचिव — सबै पदमा महिला अधिकारी नै जिम्मेवारीमा छन्। भूराजनीतिक रूपमा संवेदनशील र कूटनीतिक रूपमा सक्रिय बेइजिङ जस्तो स्थानमा पूर्ण महिला नेतृत्व हुनु नेपाली महिलाको क्षमताप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्ने विषय बनेको छ।

यस्तै, ब्रसेल्सस्थित नेपाली दूतावासमा पनि राजदूत सेवा लम्सालको नेतृत्वमा सम्पूर्ण कूटनीतिक टोली महिला नै छन्। छिट्टै उपनियोग प्रमुखका रूपमा उपसचिव ऋचा भट्टराई दूतावास पुग्दैछिन् भने द्वितीय सचिव र तृतीय सचिव दुवै पदमा महिला अधिकृतहरू कार्यरत छन्। ब्रसेल्स दूतावास युरोपेली युनियनसमेत सम्हाल्ने अत्यन्त महत्त्वपूर्ण नियोग भएकाले यहाँ पूर्ण महिला नेतृत्व हुनु नेपालका लागि थप गौरवको विषय बनेको छ।

परराष्ट्र मन्त्रालयका तथ्यांकअनुसार विदेशस्थित ३४ दूतावासमध्ये २१ मा महिला कूटनीतिज्ञ छन्। हाल परराष्ट्र सेवामा कार्यरत २९५ अधिकारीमध्ये ७६ महिला छन्, भने विदेशमा खटिएका १४८ कूटनीतिज्ञमध्ये ४० महिलाहरू विभिन्न तहमा कार्यरत छन्।

गणतन्त्रपछि लागू भएको समावेशीताले महिलालाई ठूलो संख्यामा सार्वजनिक सेवामा प्रवेशको अवसर दियो। विशेषगरी २०६७ सालतिर एमआरपी प्रोजेक्टका लागि भर्ती गरिएका महिला अधिकृतहरूले अहिले महत्त्वपूर्ण कूटनीतिक भूमिकामा उक्लिंदै उल्लेख्य सफलताको उदाहरण प्रस्तुत गरिरहेका छन्।

विशेषज्ञहरूका अनुसार बेइजिङ र ब्रसेल्समा देखिएको पूर्ण महिला नेतृत्व केवल प्रतिनिधित्वको मात्र होइन, महिलाको पेशागत क्षमता, कूटनीतिक दक्षता र नेतृत्व क्षमताको स्वीकृति पनि हो। नेपालले महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश र प्रधानमन्त्रीजस्ता महत्वपूर्ण पदहरूमा महिलालाई स्थापित गरिसकेको सन्दर्भमा, विदेशस्थित नियोगहरूमा बढ्दो महिला उपस्थिति देशको समावेशी प्रगतिलाई झनै मजबुत रूपमा प्रस्तुत गर्छ।

नेपालको कूटनीतिक क्षेत्रमा महिलाको यो उल्लेख्य सहभागिता विश्व समुदायका लागि पनि प्रेरणादायी उदाहरण बन्दै गएको छ।