बैशाख १९, २०८१ बुधबार

हस्पिटलले मृत्युको पुर्जा दिँदा उन्नाईस बर्षे कलिलो मन कस्तो भयो होला ?



sandhya-shahi९ असाेज

काठमाडौ –  जन्मेपछि मर्छु भन्ने सत्य कुरा भएपनि अाफ्नाे मृत्यूकाे समय विज्ञानले किटान गर्याे भने मान्छेले कस्ताे अनुभुति गर्ला । त्याे बेला अत्ताहस, पिडा, छटपटि कस्ताे हाेला ? धेरैले कल्पना गर्न नसक्ने कुरा हाे याे । बुढेसकालमा त बुढाबुढिले अाफै भन्ने गर्छन्, जीवन भन्दा मृत्यू प्याराे । तर किशाेरावस्था, यूवा अवस्था वा बयस्कअवस्थामा एकाध महिनाकाे किटान गरेर मृत्यू कुर्न सायदै कसैले साेँचेकाे विषय हाे ।   तर एक १९ वर्षिय यूवतिले मृत्यूलार्इ कुरेर बसेकी छन् ।

जुम्लाकी सन्ध्या शाहीलार्इ क्यान्सर रोग निको हुने सम्भवना नरहेको भन्दै विपी क्यान्सर अस्पताल भक्तपुरका चिकित्सकबाट मृत्यु कुरेर बस्न प्रमाणत्र दिर्इएकाे छ । मर्नु त अाखिर निश्चित नै भयाे, अाफू मरेपनि बाँच्नेहरूका लागि सरकारी अस्पतालबाट व्यहोर्नु परेका पीडा र व्यथीतिहरु स्वास्थ्यमन्त्रीलाई बताएर मात्र आफू मर्न चाहेको इच्छा पत्रमार्फत जाहेर गरेकी छन् । शाहीले स्वास्थ्यमन्त्री गगन थापालार्इ लेखेकाे पत्र ः

माननीय स्वास्थ्यमन्त्री
गगन थापाज्यू
नमस्कार।

खासमा जुन दिन मलाई भक्तपुर स्थित वीपी क्यान्सर हस्पिटलले मृत्युको पुर्जा दिएर घरमा बसेर मृत्यु कुर्न भन्यो। त्यो दिन, मेरो यो उन्नाईस बर्षे कलिलो मन कस्तो भयो होला।

हजुरलाई के भनु म । तर म त्यसदिन खुब रोए। धुरूधुरू रोए । नरोएर के गरू म । मेरो मुटु यति शोकाकुल र छियाछिया भएको थियो कि । त्यो कुरा शब्दमा कसरी लेखु म । बस रूने बाहेक मसँग केही थिएन उपाए। र अहिले पनि छैन।
मलाई हरेक मानिसलाई जस्तै बाच्ने, खेल्ने, रमाउने, घुम्ने अरू केके रहरहरू थियो । तर जब हस्पिटलको मौखिक मृत्युको पुर्जी आयो । यसपछि म अबको पुगनपुग तीन महिना बाच्छु अरे। यो कुराले हर रात। हर दिन मेरो मुटु घोचेको घोच्यै छ । म धेरै के पो बोल्न सक्छुर ?
माननीय मन्त्रीज्यू, त्यो दिन वा मेरो मरणको दिन सम्झन्छु । साचिँ त्यस दिन मेरा सारा आफ्नत कसरी रोलान । कति भक्कानिएलान । म कल्पनै गर्न सक्दिन । मुख्यकुरा आफुले खाईनखाई यो उन्नाईस बर्षसम्म हुर्काउने मेरो बाआ मा कति रोलान ।

उनिहरूलाई सम्झाउने मानिसहरूले के भनेर सम्झाउलान। म सोचिरहेको छु।

मलाई थाहा छ। म नेपालको कर्णाली भनिने भुगोलको जुम्ला जिल्लामा जन्मिए । हुर्के । जहाँ अन्गिनती दुखहरू छन् । अभावहरू छन् । जुन दुख र अभावहरूले म जस्ता नागरिकहरूले केही न केही दुखहरू पाइरहेका हुन्छन् । जस्तो कि म जब क्यान्सर रोगी भए ।

त्यस पछि आफैले अनुभव गरे । दुर्गमका हर नागरिकका लागि कति पिडादायिक भुगोल रहेछ भनेर । अनि जब आफु बाच्नका लागि हर मानिससँग आलाप विलाप गर्न थाले । बुझे मानिसका लागि दुर्गम शत्रु रहेछ भनेर । जे होस मैले अनुभव गरेका कुरा सत्य छन् ।

मर्नु अगाडी किन असत्य बोलौ र ? र त त्यहि कुराको प्रेरणाले आज तपाईलाई मेरो मृत्युबारे जानकारी गराउन लागिरहेको छु । अनि यो पत्र सकिनसकि लेखिरहेको छु । कृपया मलाई माफ गर्नुस है ।

मैले सानैदेखि तपाईको बारे सुनेको छु । तपाइको बारे पढेको छु । तपाईं जस्ता अरू पनि धेरै मानिसहरू हुँदाहुन यो देशमा । तर नचिने पनि तपाईलाई नजिकको जस्तो लाग्यो । सम्झे तपाईले कुरो बुझ्नु हुन्छ मेरो । अनि यो चिठी लेखेको हु ।

खास तपाईंलाई पनि मेरो मृत्युको खबरबारे जानकारी गराएको हुँ यसै पत्रबाट ।

मलाई थाहा छ । म मेरै मृत्यु मर्न लागेको छु । तर यति सानो उमेरमा म मर्नलागे । त्यस कुराले म साह्रै दुखी छु।

माननीय मन्त्रीज्यू, म पनि यहि देशमा जन्मे । यहि देशमा हुर्के । जहाँ तपाईं पनि जन्मनु भो र हुर्कनु भो । तर तपाईंलाई एउटा कुरा सोध्न मन छ। तपाईं बिरामी हुँदा वा विरामी लगेर हस्पिटल जादा हस्पिटलमा कति माया गर्छ ? कति आफ्नोपन देखाउँछ रु तपाइलाई याद होला । अनुभव होला। तर मलाई त त्यस्तो कुराको अनुभवै भएन ।

यादै भएन । र, त हजुरलाई मेरो मृत्युको जानकारी दिईरहेको छु । खासमा मैले धेरै दुख पाए । धेरै आपत खेपे । पाएको दुख सम्झिदा लाग्छ म यो देशको नागरिक हैन जस्तो । मेरो आँखाले कति हो कति बेथितिहरू देखे । त्यो बेथितिको सिकार भए । र, सम्झे बेथितिहरूले म जस्ता अरू हरू पनि दिनदिनै मरिरहेका होलान ।

अनि मनमनै सम्झेर तपाईलाई जानकारी गराउन मन लाग्यो र चिठी लेखिरहेको छु । हुन त म एक दिन मर्ने नै थिए । तर केही समय चाडै मर्ने भए । यसैले म दुखि त छु भन्नै पर्यो । हो म दुखि छु । अनि म मर्नु पहिले तपाईलाई भेटेर केही कुरा गर्न चाहान्छु । खासमा हाम्रो देशमा लापरबाही किन हुन्छ । बुझेर मर्न चाहान्छु ।

माननीय मन्त्रीज्यू । हुन त म बाचेर पनि देशको लागि के गर्न सक्थे होला र । तर म मर्ने पक्का भए पछि देशको हो या आफ्नो खुब माया लागिरहेको छ। किन हो खै । मैले देखेका बेथितिहरूप्रति मेरो मनमा धेरै घृणा छ । लाग्छ म अब त केही दिन पछि मर्छु पनि होला ।

तर मैले मेरो उपचार गर्दा पाएको दुख हजुरलाई सबै भन्न चाहन्छु । न कि म जस्ता यो देशका नागरिकले म जस्तो दुख नपाउन । पीडा नपाउन । बेथितिको सिकारले मृत्यु नपाउन ।
तपाईलाई मेरा धेरै कुराहरू भन्नु छ । जुन कुराहरू म चाहेर पनि यस पत्रमा लेख्न सक्दिन । भन्न सक्दिन । घाउ पनि दुखेर बढिरहेको छ । पिडाले मुटु कापिरहेको छ। म यो भन्दा बढि लेख्न सकिन । कृपया सक्नु हुन्छ भने म मर्नुपहिले म हजुर सगँ सबै कुरा भन्ने समय पाउँ ।

सक्नु हुन्न भने यो काम चाहि गरिदिनुहोला। देशका हर नागरिकलाई मृत्यु दिने बेथितिहरूको अन्त होस । लापरबाहिले एक बर्ष पछि मर्ने नागरिक एक बर्ष अघि न मरोस ।

नमस्कार ।
सन्ध्या शाही, जुम्ला