बैशाख १०, २०८१ सोमबार

नेपाल टेलिकममा पहिलो महिला प्रबन्ध निर्देशक



kamini-rajbhanddari७ असोज

काठमान्डौँ – सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले टेलिकमकी नायब प्रबन्ध निर्देशक राजभण्डारीलाई तीन वर्षका लागि प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । राजभण्डारी टेलिकमकी पहिलो महिला प्रबन्ध निर्देशक हुन् । सूचना तथा सञ्चारसचिव दिनेश थपलिया संयोजकत्वको समितिले टेलिकम प्रबन्ध निर्देशकका लागि मन्त्रिपरिषद्मा राजभण्डारीसहित टेलिकमकै अर्का नायब प्रबन्ध निर्देशक सुनीलकुमार पोखरेल र नेपाल वायु सेवा निगमका पूर्वमहाप्रबन्धक मदन खरेलको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले ‘टेलिकम प्रबन्ध निर्देशकको सेवा सुविधासम्बन्धी निर्देशिका २०७२’ अनुसार राजभण्डारीलाई तीन वर्षका लागि टेलिकमको कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । कार्यमूल्यांकनका आधारमा उनको करार दुई वर्ष समय थप्न सकिने सचिव थपलियाले जानकारी दिए ।

को हुन् राजभण्डारी ?

नेपाल टेलिकममा ३० वर्ष बिताइसकेकी नवनियुक्त प्रबन्ध निर्देशक कामिनी राजभण्डारी दुई वर्षअघिदेखि नायब प्रबन्ध निर्देशकको जिम्मेवारीमा थिइन् । सन् १९८५ मा सेवा सुरु गरेकी राजभण्डारी टेलिकमकी प्रमुख प्राविधिक पनि हुन् । उनी विद्युत् प्राधिकरण र टेलिकमको संयुक्त लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी त्रिशूली जलविद्युत् कम्पनीको पनि सञ्चालक हुन् । राजभण्डारीले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट १९९१ मा एमबिए र २००१ मा म्यानेजमेन्ट अफ टेक्नोलोजी उत्तीर्ण गरेकी छन् । एक महिनाभित्रै कार्यसम्पादन सम्झौता टेलिकमको प्रबन्ध निर्देशकका लागि १३ जनाले निवेदन दिएका थिए । तीमध्ये सबैभन्दा वरिष्ठ राजभण्डारी नै थिइन् । ‘टेलिकमको गुणस्तर सुधार, आम्दानी वृद्धि, सेवा विस्तार र आन्तरिक सुधारको योजना उहाँ (राजभण्डारी)को राम्रो थियो,’ थपलियाले भने, ‘टेलिकमले अनुभवी र पहिलोपटक महिला कार्यकारी प्रमुख पाएको छ ।’ अब नवनियुक्त प्रबन्ध निर्देशकसँग एक महिनाभित्रै कार्यसम्पादन सम्झौता गर्ने उनले जानकारी दिए ।