बैशाख १५, २०८१ शनिबार

कांग्रेस उम्मेदवारसँग मेयरमा हारेकी विमला कांग्रेसलाई नै हराएर राष्ट्रियसभा उपाध्यक्ष



काठमाडौं । कपिलवस्तुकी विमला घिमिरे राष्ट्रियसभा उपाध्यक्ष बनेकी छन् । बुधबार भएको उपाध्यक्षको निर्वाचनमा घिमिरे कांग्रेस उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

५९ सदस्यीय राष्ट्रियसभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी छन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका हुन् । उपाध्यक्षकी अर्की प्रतिस्पर्धी कांग्रेसकी पुडासैनीले १६ मत मात्र पाइन् ।

२०७६ सालमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा घिमिरे लुम्बिनीबाट विजयी भएकी थिइन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ८ हजार तीन सय ३८ मत प्राप्त गर्दै उनले काँग्रेस उम्मेदवार गिरिजादेवी न्यौपानेलाई पराजित गरेकी थिइन् । कपिलवस्तुको वाणगंगा निवासी घिमिरेको जन्मस्थान भने अर्घाखाँची हो ।

घिमीरे २०७४ सालको स्थानीय तहको निर्वाचनमा कपिलवस्तुको बाणगंगा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मङ्गल प्रसाद थारुसँग ४ सय ६० मतले पराजित भएकी थिइन् । उपमेयरसहित ११ मध्ये ७ वडामा एमालेका उम्मेदवार विजयी हुँदा उनी पराजित भएकी थिइन् । त्यो वेला पार्टीभित्र अन्तर्घात गरी हराइएको चर्चा चलेको थियो । त्यसको २ वर्षपछि उनी राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित भएकी थिइन् ।

घिमिरे सामन्ती प्रवृत्तिको विरोध गर्दै राजनीतिमा होमिइएकी थिइन् । बुवा भारतमा काम गर्ने र परिवारमा जेठो सन्तान भएपछि घरधन्दा पनि मिलाउनुपर्थ्यो । यस्तो थिचोमिचो हटाउनका लागि उनले स्कुल जीवनबाटै राजनीति सुरू गरेकी थिइन् ।

पहाडको कष्टकर जीवनशैली टार्न बिमलाका बुबाआमा दिनप्रसाद घिमिरे र रुपकला मधेश झरे । २०४० सालमा २ छोरी १ छोरासहित अर्घाखाँचीको ढिकुराबाट कपिलवस्तुको कोपवा बसाइ सरेका हुन् घिमिरे परिवार । नयाँ ठाउँमा चिन्ने कोही थिएन । विपन्न र सामान्य मानिस हेपिएर बस्न बाध्य थिए । खेतबारीमा सिँचाइ गर्न अन्तिममा पालो पर्ने र महिलालाई दबाएर राख्ने प्रवृत्ति थियो ।

त्यो समयमा राजनीतिमा महिला, घरका पनि रिसाउने समाजले स्वीकार नगर्ने । बाटोमा हिँड्यो कुरा काट्ने, यसलाई कसले बिहे गर्ला भन्दै होच्याउने । कम्युनिस्ट भने पछि वृद्धलाई मार्ने, धर्म मास्न आएकी, जातभात नमान्ने भन्दै टिका टिप्पणी गर्थे । तर, पनि उनी राजनीतिमै निरन्तर लागिरहिन् । एकपटक शिक्षक भइन् । सिद्धार्थ सामाजिक विकास केन्द्र संस्थामा जागिर पनि खाइन् । जागिरले राजनैतिकमा बाधा पुगेपछि एक वर्षमै राजीनामा दिएको उनका समकक्षीहरू बताउँछन् ।

‘दिदी पढ्दा पढ्दै राजनीतिमा होमिनु भयो । पढेर जागिर खानु होला भनेको नेता बनेर हिँड्नु भयो । पार्टी संगठन विस्तार अभियान चलेको थियो । यताउता गर्दा पढ्ने समय भएन । उच्च शिक्षा अध्ययन गर्न पाउनु भएन । २०४८ सालमा अनेमसंघको जिल्ला सचिव हुनु भयो,’ भाइ प्रकाश घिमिरेले बताए ।

उपाध्यक्ष घिमिरेले कपिलवस्तुका महिला आन्दोलनमा अग्रणी भूमिका खेखेकी उनी एमाले पोलिटब्युरो सदस्यको जिम्मेवारीमा छन् । उनी १८ वर्षको उमेरमा अखिल नेपाल महिला सङ्घ ९अनेमसंघ० कोपवा गाउँ कमिटीको सहसचिव हुँदै राजनीतिक यात्रा सुरुवात गरेकी थिइन् । त्यसको १ वर्षपछि संघको जिल्ला सचिव भई काम गरेकी थिइन् । एमालेको नवौँ अधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएकी विमला दशौँ महाधिवेशनमा पोलिटब्युरो सदस्यको जिम्मेवारी पाएकी हुन् ।

२०४७ सालमा अनेमसंघ हुँदै राजनीति प्रवेश गरेकी घिमिरे २०७८ सालमा नेकपा ९एमाले० केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । त्यस्तै उनी तत्कालीन नेकपाको केन्द्रीय सदस्य, २०६८ मा नेकपा एमालेको कपिलवस्तु जिल्ला कमिटी सचिव, २०६६ मा पार्टी जिल्ला कमिटी उप सचिव, २०६२ मा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य र २०५९ मा जिल्ला कमिटी सदस्य भएर काम गरेकी थिइन् ।

अनेमसंघमा रहँदा उनी जिल्ला कमिटी सचिव, पार्टी इलाका कमिटी सदस्य, अनेमसंघ जिल्ला सचिव भएर काम गरेकी थिइन् ।

यसैबिच राष्ट्रियसभा उपाध्यक्ष निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष घिमिरेले उपाध्यक्षको भूमिकालाई लिएर हुँदै आएका टीकाटिप्पणी र मनोविज्ञानलाई चिर्दै क्रियाशीलताका आधारमा पदको गरिमा स्थापित गर्ने बताइन् । उनले भने, ुसंविधान र नियमावलीले दिएको भूमिकाभित्र रही थप क्रियाशील हुनेछु । राष्ट्रियसभामा महिला सदस्य सशक्तिकरणका विषयमा पनि मेरो भूमिका रहनेछ ।ु

उपाध्यक्ष घिमिरेले आफूले प्राप्त गरको उपाध्यक्ष पदलाई सानो वा ठूलो भनी मूल्यांकन गर्न नहुने तर्क गर्दै आफूले गर्ने कार्य सम्पादनबाट उदाहरण प्रस्तुत गरी उठेका विभिन्न प्रश्न र मनोविज्ञान बदल्न प्रयास गर्ने अठोट गरिन् । प्राप्त अधिकारको अधिकतम सदुपयोग गर्ने पक्षमा आफू रहेकाले थप अधिकारका लागि चर्चा परिचर्चा गर्न आवश्यक नरहेको उल्लेख गर्दै उनले आवश्यकताका आधारमा नियमावली संशोधन हुने विश्वास व्यक्त गरिन् ।

वामपन्थी खेमामा रही महिला सशक्तिकरणको अभियानमा तीन दशकभन्दा बढी समयदेखि क्रियाशील घिमिरे हाल नेकपा ९एमाले० को पोलिटब्युरो सदस्य छिन् । उनी चार वर्षदेखि राष्ट्रियसभा सदस्यको जिम्मेवारीमा रहेकी छन् ।