बैशाख १५, २०८१ शनिबार

गुगलले ल्यायो हराएको फोन अफ हुँदा पनि फेला पार्न सकिने फिचर



काठमाडौं । हराएका डिभाइसहरू फेला पार्न गुगलले अन्ततः ‘फाइन्ड माई डिभाइस नेटवर्क’ शुरु गरेको छ । गत वर्ष ‘फाइन्ड माई डिभाइस नेटवर्क’ घोषणा गरेको गुगलले निरन्तर परीक्षण पछि हिजो सोमबार ९८ अप्रिल० देखि मात्रै यसलाई प्रयोगकर्तामाझ उपलब्ध गराउन थालेको हो ।

यो फिचर आएसँगै सजिलै र सुरक्षित रूपमा एन्ड्रोइड प्रयोगकर्ताले फोन, स्मार्टवाच, इयरबड र ट्रयाकरलाई फेला पार्न सक्ने गुगलले जनाएको छ । गुगल फाइन्ड माई डिभाइस नेटवर्क अमेरिका र क्यानडाबाट सुरु भएको छ र यसको अपडेट अन्य देशहरूमा पनि जारी भइरहेको छ ।

सामान्यतया सबैभन्दा ठूलो समस्या उपकरणको अफलाइन मोडमा हुन्छ । गुगलले फाइन्ड माई डिभाइस नेटवर्क मार्फत यो समस्या समाधान गरेको बताएको छ । तर फाइन्ड माई डिभाइस नेटवर्कमा जडान भएको डिभाइस ट्र्याक गर्नका लागि उक्त डिभाइस इन्टरनेटमा जडान हुनु आवश्यक नरहेको बताएको छ ।

पिक्सेल ८, पिक्सेल ८ प्रो प्रयोगकर्ताहरूले फोन बन्द गरेपछि पनि आफ्नो फोन ट्र्याक गर्न सक्षम हुने गुगलले बताएको छ । पिक्सेल बाहेक, अन्य कम्पनीका फोन र ग्याजेटहरूमा उपलब्ध यो सेवा छिटै उपलब्ध हुने गुगलले बताएको छ ।

ब्लुटुथ प्रोक्सिमिटीका आधारमा फाइन्ड माई डिभाइसले यी सबै काम गर्ने कम्पनीले ब्लगमा उल्लेख गरेको छ । आफ्नो डिभाइसमा यो फिचर उपलब्ध भएपछि प्रयोगकर्ताले त्यसको सूचना इमेलमार्फत पाउने बताइएको छ ।

त्यसपछि हराएका डिभाइस इन्टरनेटमा कनेक्ट नभएपनि प्रयोगकर्ताले म्यापमा उक्त डिभाइस रहेको स्थान हेर्न र नोटिफिकेसन रिङ बजाउन सक्ने छन् ।