बैशाख १०, २०८१ सोमबार

थपिँदै बेपत्ता महिला



१३ असाेज , काठमाडाै – वरुणेश्वर ७ की १९ वर्षीया ईश्वरी बानियाँ भदौ ५ गतेदेखि बेपत्ता छिन् । आफूखुसी घरबाट हिँडेकी उनी फर्केर नआएको भन्दै सासू हर्कमायाले प्रहरीमा उजुरी हालेकी छन् ।

माधवपुर–३ की १८ वर्षीया सम्झना सार्की साउन २४ गते घरबाट घाँस काट्न जान्छु भन्दै निस्किएकी थिइन् । त्यसयता उनी पनि बेपत्ता छिन् । फर्केर आउने आसमा महिनादिन बिताइसकेको परिवारसँग उनले सम्पर्क गरेकी छैनन् । ससुरा बलबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालय, ओखलढुंगामा बुहारी बेपत्ता भएको निवेदन दर्ता गराएका छन् ।

कालिका ४ घर भई फूलबारी ६ मा बस्दै आएकी २८ वर्षीया बालकुमारी सुवेदी पनि भदौ २३ गतेदेखि सम्पर्कमा छैनन् । परिवारले प्रहरीमा निवेदन हालेको छ । जिल्लाभित्र महिला बेपत्ता भएका यी प्रतिनिधि घटना मात्रै हुन् ।

पछिल्लो समय यो क्रम बढदो छ । बेपत्ता महिलाको आँकडा चुलिन थालेसँगै प्रहरीले यस्ता घटनामाथि तथ्यांक संकलन कसिलो पारेको छ । आर्थिक वर्ष ०७२र७३ र हालको चालु आवबीच तुलना गर्दा पुरुष र बालबालिकाभन्दा महिला हराउने दर दोब्बर छ । ०७२र७३ मा यहाँबाट हराएका जम्मा ७८ मध्ये ५५ जना महिला थिए । तिनमा २२ जना भेटिए, ३३ जना अझै सम्पर्कमा छैनन् । प्रहरीको तथ्यांकअनुसार उक्त आवमा ८ पुरुष, ८ बालक र ७ बालिका हराएका थिए ।

त्यसै वर्ष हराएको भनी निवेदन परेका मध्ये २ पुरुष, ६ बालक र ६ बालिका भने भेटिए । चालु आवको साउन र भदौमा ९ महिला र एक बालिका गरी १० जना बेपत्ता भएको उजुरी छ । तीमध्ये १ जना फेला परेका छन् ।

बालबालिका पनि मानेभन्ज्याङ ४ स्थायी ठेगाना भई सिद्धिचरण नगरपालिका ३ बस्दै आएकी १५ वर्षीया मनिता विक असार ३० गतेदेखि बेपत्ता रहेको प्रहरीमा निवेदन छ । रमाइलो डाँडाबाट घर जान भनी हिँडेकी उनी अझै परिवारको सम्पर्कमा आएकी छैनन् ।

अघिल्लो आर्थिक वर्ष बेपत्ता भएका ६ पुरुष, २ बालक र २ बालिका भेटिएका छैनन् । हराएको निवेदन हाल्ने परिवारले आफन्त भेटिएपछि प्रहरीलाई खबर नगरिदिने समस्या पनि छ ।

यसले अनावश्यक काममा प्रहरी अल्झिनु त पर्छ नै, बेपत्ताको आधिकारिक तथ्यांक पत्ता लगाउन सकिँदैन । परिवारलाई बारम्बार फोन गरेर बुझिराख्न सम्भव नहुने प्रहरीले जनाएको छ । मातहत प्रहरी चौकीलाई भने हराएकाको अवस्था ‘अपडेट’ का लागि निर्देशन दिने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मिलन केसीले बताए ।

दोस्रो विवाह गर्ने धेरै
पात्ले–८ की २५ वर्षीया हेमा विश्वकर्मा साउन २५ गतेबाट हराइन् । तुरुन्तै उनका ससुरा वीरबहादुर विश्वकर्माले प्रहरीमा उजुरी दिए । प्रहरीले खोजी गर्दा हेमालाई एक युवकसहित भदौ ८ गते इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लियो । उनले वैदेशिक रोजगारीमा रहेका पतिको गालीगलौज खप्न नसकी दोस्रो विवाह गरेर घर छाडेको प्रहरी भनाइ छ ।

भेटिएका अधिकांश महिलाले घरेलु हिंसाका कारण घर छाड्न र दोस्रो विवाह गर्न बाध्य भएको बयान दिने प्रहरी निरीक्षक दीपककुमार साहले बताए । प्रहरीका अनुसार थोरै संख्याका महिला आफन्तकहाँ फेला पर्छन्, धेरैजसोले चाहिँ दोस्रो बिहे गरेका हुन्छन् । घर छाड्नेमा पति वैदेशिक रोजगारीमा रहेका महिलाको अधिकता छ । दोस्रो विवाह गरिसकेका महिलालाई फर्काइदिनुपर्‍यो भन्दै आफूकहाँसमेत फोन आउने गरको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताएकाे कान्तिपुर दैनिकमा खवर छ।