बैशाख ८, २०८१ शनिबार

भारत लैजाँदै गरेका तीन महिलाको उद्धार



Bechbikhan

नेपालगन्ज – नेपालगन्ज स्थित जमुनाहा नाकाबाट भारत लैजादै गरेको अवस्थामा तीन महिलालाई उद्धार गरिएको छ । बाँके, ताप्लेजुङ्ग र वागलुङका तीन महिलालाई मानव बेचविखन तथा ओसार–पसार विरुद्ध क्रियाशील संस्था के आई नेपाल र नेपाल प्रहरीको संयुक्त प्रयासबाट उद्धार गरिएको हो ।

महिलालाई भारततर्फ लैजान खोज्ने मोतिपुर-५, मदाहा, बर्दियाकी बिमला सुनार र दैलेख, जगन्नाथ-३ का शेरबहादुर कसेरालाई प्रहरीले पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसारको मुद्धामा अनुसन्धान अगाडी बढाएको छ । नेपाल प्रहरीको सक्रियाताका कारण आरोपित सुनार र कसेरा पक्राउ परेका हुन ।

बेचबिखनकी मुख्य योजनाकार काठमाण्डौं बस्ने अन्दाजी ३५ वर्षीया शान्ताले पीडित तीनै जना महिलालाई विगत केही महिनादेखि भारत पठाउने योजना बनाइरहेको प्रहरीले जनाएको छ । शान्ताले नै बिमला र शेरबहादुरलाई परिचालन गरेकी थिईन् । शान्ताको योजनामा शेरबहादुरले ती महिलालाई नेपालगन्ज ल्याएका थिए ।

शेरबहादुरले नाकामा कसैले सोधेमा ‘रुपैडिहा बजार जाने हो’ भनी उत्तर दिनु भनी सिकाएर आफू भने रिक्सा चढेर अगाडी गएका थिए । के आइ नेपालका सीमा नाकामा कार्यरत कर्मचारीले शंका लागी सोधपुछ गर्दा सो कुरा खुलेको थियो । मुख्य योजनाकार शान्तिलाई प्रहरीले खोजि गरिरहेको जनाएको छ । के आई नेपाल, नेपालगन्ज प्रमुख राधिका गिरीले मानव बेचबिखनमा संलग्न दलालहरुले सोझा साझा महिलाहरुलाई राम्रो काम लगाई दिने बहानामा बेचबिखन गर्दै आईरहेका बताएकी छिन् ।