बैशाख १४, २०८१ शुक्रबार

काठमाडौं त आइयो, सुत्केरी नहुन्जेल कहाँ बस्ने ?



Video Xray
काठमाडौं –  गुल्मीकी आशा आचार्य सुत्केरी हुन शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएकी छन् । सुत्केरी हुनै जिल्लाबाट राजधानी आएकी आशालाई उपचारभन्दा बासको चिन्ता छ । आशाको जस्तै चिन्ताले टाउको समातेर बस्ने गर्भवती महिला राजधानीका अस्पताल परिसरमा थुप्रै भेटिन्छन् । उनीहरू सबैको साझा चिन्ता हो– काठमाडौं त आइयो, सुत्केरी नहुन्जेल कहाँ बस्ने ?

जिल्लाका अस्पतालमा स्त्री रोग विशेषज्ञ उपलब्ध नहुँदा राजधानी आउनुपरेको आचार्यले बताइन् । ‘उताको अस्पतालमा भिडियो एक्सरे मेसिनसम्म त छैन, सुत्केरी हुने व्यवस्थाको कुरै नगरौं,’ उनले भनिन्, ‘बच्चा पेटमा आएको थाहा पाउनेबित्तिकै काठमाडौं आएर बस्न थालें ।’ काठमाडौंमा छानो दिने कोही आफन्त नभएकाले भाडाको घरमा बस्दै नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जाने गरेको उनले सुनाइन् । ‘कति बेला के पर्ला, गाउँमा डाक्टर छैनन्, के गर्नु ?’ उनले गुनासो गरिन् । कमजोर आर्थिक अवस्थाकी उनले ऋण लिएर, घर–व्यवहार अलपत्र छाडेर राजधानी आएको सुनाइन् ।

विशेषज्ञ चिकित्सकको निगरानीबिना सुत्केरी गराउनु असुरक्षित ठानी राजधानी धाउनुपरेको उनीहरूले सुनाए । गोरखाकी मीरा आले पनि थापाथलीस्थित प्रसूति गृहमा सुत्केरी गराउन आएकी छन् । गाउँको अस्पतालमा डाक्टर नभएपछि काठमाडौं आउनुपरेको उनले सुनाइन् ।

‘धेरैपटक आफैं गर्भपतन भयो, गाउँमा यस्ता जटिल समस्या हेरिदिने डाक्टर पाइँदैनन् अनि काठमाडौं आएको,’ उनले भनिन् । काठमाडौंमा अभावमै गुजारा गरिरहेको उनले सुनाइन् । ‘साथी कोही छैनन्, कहिलेकाहीं श्रीमान् भेट्न आउनुहुन्छ,’ उनले भनिन्, ‘गाउँमै राम्रा डाक्टर भएको भए यस्तो दु:ख पाइन्थेन ।’ अवस्था जटिल रहेकाले सुत्केरीपछि पनि डाक्टरले केही महिना यतै बस्नुपर्ने बताएपछि मीराको चिन्ता झन् बढेको छ । ‘खर्च त ऋण गरेर पनि ल्याउँला, कुरुवा बसिदिने कोही छैन,’ उनले भनिन्, ‘सासू बूढी हुनुहुन्छ, श्रीमान्ले घर हेर्नुपर्छ ।’

बच्चा उल्टो बस्ने, शल्यक्रिया गर्नुपर्ने र अन्य जटिल अवस्थाका महिला जिल्लाबाट राजधानीमै सुत्केरी हुन आउने गरेको प्रसूति गृह थापाथलीका निर्देशक डा. अमिरबाबु श्रेष्ठले बताए । भर्ना गर्न नमिल्ने हुँदा उनीहरूलाई बाहिर बास जुटाउन, कुरुवा पाउन अप्ठ्यारो भएको उनको भनाइ छ ।

बाहिरबाट यस्ता बिरामी कमै आए पनि राजधानीमा उनीहरूले भोग्नुपर्ने समस्या जटिल रहेको शिक्षण अस्पतालका निर्देशक डा. दीपक महराले बताए । सबै जिल्लामा विशेषज्ञ डाक्टर पठाउन नसकिएको स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्र उप्रेतीले जनाए । कतिपय जिल्लामा करारका तालिमप्राप्त स्वास्थ्यकर्मीको भरमा अस्पताल छोड्नुपरेको उनले बताए । मन्त्रालयले विशेष सुविधा दिएर जिल्ला पठाउने भनेर आवेदन खुलाउँदा पनि कमै चिकित्सकको आवेदन परेको उनले जनाए । ‘आवेदनअनुसार पास भएका डाक्टर पनि जानै मानेनन्,’ उनले भने, ‘गएकाहरू धेरै दिन टिक्दैनन्,’ उनले भने ।
मन्त्रालयले विभिन्न अस्पताल प्रतिष्ठानसँग मिलेर ७५ वटै जिल्लामा विशेषज्ञ पठाउने तयारी गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।