बैशाख १४, २०८१ शुक्रबार

पेटमा भएको बच्चाका लागि अहिले देखि नै स्याउ रोप्दै आमाहरु



हुम्ला – गर्भवती महिलालाई के के कुराको आवस्यक पर्ला भनेर सोध्यो भने जवाफ आउँछ – पोसिलो खानेकुरा, माछामासु, नगद, औषधी आदि । तर हुम्लाको सिमकोट गाउँपालिकामा गर्भवतीलाई स्याउका बिरुवा दिईएको छ । तर यो के का लागि ?  गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीका अनुसार जन्मने बच्चाको पालनपोषण र अध्ययन खर्चको लागि समस्या नहोस भनेर स्याउका विरुवा वितरण गरीएको हो ।

‘सुनौला हजार दिनका आमाहरुलाई लक्षित गरि यो पटक गाउँपालिकाभरिका गर्भवतीहरुलाई स्याउका बिरुवा वितरण गर्न लागिएको हो’, उनले नारीखवरसंग भने – ‘यसले उनीहरुको दिर्घकालिन विकासमा ध्यान दिन्छ ।’ यो पटक सिमकोट गाउँ पालिकाले ५ हजार २ सय भन्दा बढी बोट वितरण गर्ने उनको भनाई छ ।

एक घर एक बगैंचा नितिलाई आत्मसात गर्न स्याउ वितरण गर्ने सोच राखेर गर्भवती दलित र जनप्रतिनिधिलाई समेत समेटिएको उनको भनाई छ । जसमा एउटा वडा बाट ५ जना दलित अनिवार्य र सम्पूर्ण गर्भवती र सम्पुर्ण गाउँसभाका सदस्यहरुलाई बिरुवा वितरण गरीने उनले बताए । ‘त्यसका लागि माग फारम भर्ने व्यवस्था गरीएको छ, माग फारमको आधारमा वितरण गरीन्छ’ कार्यकारी अधिकृत दर्जीले भने ।

उनीहरुलाई लालपुर्जा हेरेर विरुवा रोप्ने ठाउँ भए नभएको आधारमा वितरण गरीने उनले बताए । ‘हुम्लाको खाद्यान्न संकट पार लगाउन र सुनौला हजार दिनलाई सहयोग गर्ने र दलितहरुलाई पनि आय आर्जनमा सहभागी गराउने उदेश्य साथै प्रतिनिधिहरुले नमुना बगैँचा बनाई देखाउनका लागि यो कार्यक्रम शुरु गरीएको हो’ उनले भने – ‘लगाईएको स्याउ उत्पादन हुनेबेला सम्म हुम्लामा गाडी पुग्छ अनि स्याउ मुगु सुर्खेत र नेपालगंजका बजारमा झारेर विक्री गरी उनीहरुको आर्थिक विकास हुने छ ।’