बैशाख १४, २०८१ शुक्रबार

नगरपालिकाकै महिलालाई बाटो र घरमै सुत्केरी हुनुपर्ने बाध्यता



बैतडी – स्टेचरमा बोकेरै टाढाको स्वास्थ्यचौकी पु¥याउँदा पुर्चौडी नगरपालिका ९ तल्लादेहीकी २५ वर्षीया सिता ढुङगाना बाटैमा सुत्केरी भईन ।

बच्चा जन्मिएपनि साल अड्किएर बेहोस भएकी उनलाई स्वास्थ्यकर्मीले बाटोमै पुगेर उपचार गरे । तर अत्यधिक रक्तश्रावका कारण गम्भिर भएकी उनको स्वास्थ्यकर्मी बाटोमै नपुगेको भए अवस्था जोखिम थियो ।

‘त्यही पुगेर सेवा नदिएको भए उनको अबस्था गम्भीर हुने थियो,’ तल्लादेही स्वास्थ्य चौकी ईन्चार्ज हेम सिंह साउदले भने ‘बाटोमै सुत्केरी भएकी सितालाई बोकेर स्वास्थ्य चौकी लैजाँदै स्वास्थ्यकर्मी ।’

सितालाई स्वास्थ्यकर्मीले बाटोमै उपचार मात्र गरेनन्, बोकेरै स्वास्थ्य चौकी पुर्याए । सुत्केरी महिलालाई छुनुहुन्न भन्ने रुढिवादी मान्यताले केही स्थानीयले उनलाई बोक्न नमानेपछि स्वास्थ्यकर्मी मिलेर बोके । सलाइन पानी दिए र तल्लादेही स्वास्थ्य चौकी पुर्याएपछि अहिले पनि उनको उपचार भइरहेको छ ।

‘हाम्रो काम स्वास्थ्य चौकीमा मात्रै सेवा दिने हैन । घरमा, बाटोमा गएर सेवा गर्ने हो’ अनमी पशुपती कुमारी बोहोराले भनिन् ।

‘रक्तश्राव भएर निकै समस्या भएको थियो । अचेत थिएँ । स्वास्थ्यकर्मी त्यहीँ पुगेर उपचार गरेपछि बाँच्न सफल भएँ’ सिताले स्वास्थ्य चौकीको बेडबाटै भनिन् ।

सिता जस्तै पुर्चौडी नगरपालिका ५ तल्लादेही २० वर्षीया कमला भण्डारीले पनि एक महिना अघि बाटोमै शिशु जन्माइन् । बोकेर स्वास्थ्य चौकी लैजानुपर्ने समस्या भएकाले उनले बीच बाटोमै शिशु जन्माइन् ।

उनलाई पनि बाटोमै गएर स्वास्थ्यकर्मीले सेवा दिएका थिए । यो ठाउँ सदरमुकाम गोठालापानीबाट सबैभन्दा टाढा छ । उक्त ठाउँमा अहिले पनि धेरै महिलाहरुले घर र बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता रहेको अनमी पशुपतीले बताइन् ।

बैतडीमा १ सय २६ ठाउँमा प्रसूति केन्द्र छन् । धेरै ठाउँमा सेवा भए पनि संस्थागत सुत्केरी सेवा ६४ प्रतिशत मात्र रहेको जिल्ला अस्पताल बैतडीकी पब्लिक हेल्थ नर्स ममता जोशीले बताइन् । बाँकी महिलाले घर तथा बाटोमै शिशु जन्माउने गरेको उनको भनाइ छ ।

आधा घण्टाको पहुँचमा स्वास्थ्यकर्मी हुनुपर्ने प्रावधान भए पनि बैतडीमा केही गाउँ दुई, तीन घण्टा टाढा रहेको उनले बताइन् ।

दुर्गम गाउँका महिलाको स्वास्थ्यमा पहुँच पुग्न नसक्दा उनीहरुले बाटो र घरमै सुत्केरी हुनुपर्ने बाध्यता रहेको पब्लिक हेल्थ नर्स जोशी बताउँछिन् ।