बैशाख १३, २०८१ बिहीबार

फिजियोथेरापीको पढाइ छोडेकी नायिका



‘म एकदमै स्वस्थ छु।’ स्वास्थ्यसम्बन्धी कुरा गर्न आग्रह गरेपछि अभिनेत्री आश्मा गिरीको पहिलो प्रतिक्रिया थियो यो। न्यून रक्तचापबाट आफूलाई बेलाबेलामा समस्या उत्पन्न हुने विषय भने लुकाउन सकिनन् उनले।

सुनाइन्, ‘म आफूलाई जहिल्लै स्वस्थ रहेको महसुस गर्छु। बाबा–ममीले बेलाबेलामा भन्नुहुन्छ, म शिशु अवस्थामा अलि रोगी थिएँ रे, तर अहिले तन्दुरुस्त छु। अहिले शारीरिक र मानसिक रुपमा ठिकठाक भए पनि न्यून रक्तचापका कारण भने कहिलेकाहिं चिन्तित हुने गरेकी छु।’ यही समस्याका कारण आश्मा चकलेट, नरिवललगायतका ग्लुकोजयुक्त खानेकुरा बोकेर हिँड्छिन्।

सन् २०१६ मा भएको ‘मिस टिन’ प्रतियोगितासँगै मोडलिङ र अभिनय यात्रा प्रारम्भ गरेकी आश्मा यतिबेला फिल्म ‘ड्रिम गर्ल’ मार्फत दर्शकमाझ आउने तयारीमा छन्। ‘ड्रिम गर्ल’ ठूलो पर्दाको फिल्मका लागि उनको डेव्यू अभिनय पनि हो। यो फिल्ममा आश्माले अभिनेता अकाश श्रेष्ठसँग स्क्रिन सेयर गरेकी छन्। यसअघि उनी विभिन्न ‘म्युजिक भिडियो’मा देखापरेकी थिइन्।

धनुषाको महेन्द्रनगरमा जन्मिएर कक्षा ७ सम्म उतै अध्ययन गरेकी आश्माको बसाइ त्यसयता काठमाडौंमै छ। बाबा–आमाको सपना थियो, आश्मालाई डाक्टर बनाउने। तर, उनी ब्याचरल इन सोसल वर्क अध्ययनरत छिन्।

औपचारिक अध्ययनका सम्बन्धमा आश्माका केही रोचक किस्सा छन्, जसले उनलाई यतिबेला दुःखी बनाएको छ। भन्छिन्, ‘औपचारिक अध्ययनको क्रममा विज्ञान संकायमा ं२ सकेर बाबा–आमाको सपना पूरा गर्न म भारतको म्याङलोर पुगेँ। डा एमभी सेठ्ठी कलेज अफ फिजियोथेरापीमा ३ वर्ष अध्ययनपछि म पुनः नेपाल नै फर्किएँ। ५ वर्षको कोर्ष मैले ३ वर्षमात्र पढेर छोडेँ,’ उनले थपिन्, ‘यस विषयले मलाई समयसमयमा घोचिरहन्छ। किनकि मैले अवसर पाएर पनि पूरा गर्न सकिनँ।’ तर, अभिनय क्षेत्रमा पाएको साथ, सहयोग र चर्चाले भने पुराना कुरालाई बिर्साइरहेको उनले बताइन्। ‘मेरो रोजाइ र चाहनाको कम गर्न पाइरहेको छु। यसबाट म निकै खुसी र सन्तुष्ट छु,’ आश्माले सन्तुष्टि पोखिन्।

घरभन्दा टाढाको म्याङलोर बसाई आश्माका लागि कम गाह्रो थिएन। त्यसमा पनि म्याङलोरको तापक्रम र आफ्नो शरीरको न्यून रक्तचापले आश्मालाई टिकिनसक्नु भयो। मोडलिङ, ¥याम्प, फोटोसुट जस्ता ग्यामरको दुनियाँमा उनको रुची थियो। त्यसैले फिजियोथेरापीको अध्ययनलाई विश्राम लगाएर उनी नेपालमै रमाउन थालिन्।

नेपाली फिल्म क्षेत्रमा स्थापित जोसुकैलाई पनि त्यति सहज छैन। आश्मा भने आफ्नो भविष्य अभिनय क्षेत्रमा नै रहेको दावी गर्छिन्। भन्छिन्, ‘मलाई भविष्यको उति चिन्ता छैन। किनकि जीवन चलाउँदै जाने हो,’ उनी भन्छिन्, ‘अभिनय क्षेत्र नै मेरो रोजाइ र जिउने आधार पनि भएकाले यही क्षेत्रमा स्थापित हुन्छु भन्ने आत्मविश्वास छ।’ जीवनमा सफल हुन जति मिहिनेत गर्नुपरे पनि तयार रहने दृढसंकल्प छ, आश्मासँग।

ग्ल्यामरको दुनियाँमा शारीरिक सुन्दरता र आर्कषक मुहार निकै महत्वपूर्ण विषय हो। आफ्नो सुन्दरतालाई कायम राख्न निकै मिहिनेत गर्ने गरेको आश्मा बताउँछिन्। आकर्षक देखिन नियमित व्यायाम, पर्याप्त पानी र मेकअप उनका लागि प्रमुख विषय हुन्।

भन्छिन्, ‘बिहान उठ्नेबित्तिकै पर्याप्त पानी पिउने र कम्तीमा १ घण्टा व्यायाम मेरो दैनिकी हो। ‘पछिल्लो समयमा फिल्मको सुटिङ, डबिङ तथा प्रमोसनले दैनिकीलाई निरन्तरता दिन सकिरहेकी छैन,’ रोमान्टिक बन्दै उनी सुनाउछिन्, ‘अब भने समय निकालेर फिटनेस क्लाससहित नियमित व्यायाममा जुट्छु।’

अभिनय यात्राको प्रारम्भिक समयमा ६९ केजी तौल भएकी आश्माले घटाएर ४८ केजीमा झारेकी छिन्। यसका लागि उनले लामो समय जुम्बा, जिम र डान्सिङ क्लासमा खर्चेकी थिइन्। त्यसपछि मात्र उनको शारीरिक व्यायामप्रति लगाव बढेको हो। उनी भन्छिन्, ‘आफूलाई फिट राख्ने उपाय शारीरिक व्यायाम नै हो तर व्यस्तताले यी सबै कार्य गर्न पाइरहेकी छैन, खानपानमा पनि त्यति ध्यान दिन सकिरहेकी छैन।’

शारीरिक रुपमा आर्कषक बनाउन महिलाले छालाको स्यहारमा समेत ध्यान पुर्‍याउनुपर्ने बताउँछिन् आश्मा। काठमाडौंमा बस्ने महिला वा पुरुष सबैले धुलो, धुँवा र प्रदुषणबाट बँच्न छालाको स्यहार गर्नु अत्यावश्यक रहेको उनको बुझाइ छ। दैनिक डाक्टरको सल्लाहअनुसार उपयुक्त फेसवास र छलाअनुसारको क्रिमको प्रयोग गर्ने गरेको उनी बताउँछिन्।

महिनावारीको गडबडीले आश्मालाई सताउने गरेको छ। समयमा महिनावारी नहुनु, महिनावारीका समयमा अत्याधिक दुखाई खेप्नुपर्ने समस्याबाट ग्रसित छिन् उनी। सुनाउँछिन्, ‘उपचारका लागि धेरै पटक डाक्टरकहाँ पुगेँ तर समस्या सुल्झन सकेको छैन।’

महिनावारीको समय २–३ दिन लामो रेस्ट लिनुका साथै दुखाइ कम गर्ने अनेक उपाय अपनाउने गरेकी छन् आश्माले। भन्छिन्, ‘म महिनावारीको समयमा अनारको जुस र पानी धेरै पिउँछु। आइस पेटमा राखेर हल्का मसाज गर्नाले पनि दुखाइ कम हुन्छ। त्यसकारण पिरियडको समयमा अत्याधिक दुखाइ हुने महिलालाई पर्याप्त रेस्ट, पर्याप्त पानी, सन्तुलित भोजनका साथै पेटको दुखाइ कम गर्न आइसले हल्का मसाज गर्न सुझाव दिन्छु।’