बैशाख १४, २०८१ शुक्रबार

क्यान्सरसँग लडिरहेकी यी दुई वर्षे बालिका, जसले खोजिरहेकी छिन् दुर्लभ रगत



दुई वर्षे जैनव मुघलको शरीरमा संसारकै दुर्लभ रगत छ।

उनी अहिले क्यान्सरसँग लडिरहेकी छिन्। उनी बाँच्नको लागि ७ देखि १० रक्तदाताहरु तयार हुनुपर्छ। जुन अहिलेसम्म पाइएको छैन। 
किनकी जति उनी दुर्लभ छिन्, त्यति नै उनलाई चाहिने रगत पनि।

उनलाई चाहिने रगत पाकिस्तानी, भारतीय र इरानी मूलका व्यक्तिहरुले दिन सक्छन्, जुन रगत जैनवसँग मिल्छ।
विश्वको ४ प्रतिशतभन्दा कम जनसंख्यामा यो रगत मिल्छ।

‘वन ब्लड’ नामक संस्थाले विश्वव्यापी रुपमा डोनर खोज्ने काम गर्छ। यो साउथ फ्लोरिडा गैरनाफामूलक संस्था हो जसले विश्वव्यापी रुपमा यी बालिकालाई डोनर खोज्न पहल चालिरहेको छ। यसले आफ्नो वेबसाइटमा यसबारे विस्तृत रुपमा भिडियोसहित बालिकाको सहयोगको लागि डोनरको आह्वान गरेको छ।

वन ब्लडकी ल्याब म्यानेजर फ्रेडा ब्राइट भन्छिन्, ‘हामीसँग ती जातीय समूहबाट त्यस्तै उपयुक्त रगत भेट्टाएर यी सानी बच्चीलाई बचाउने शून्य प्रतिशत सम्भावना छ। हामी विश्वभरि नै यी बालिकालाई चाहिने रगतको खोजीमा छौं।’
अमेरिकामा बसोबास गर्ने यी जातीय समूहको रक्तदाता पत्ता लगाउन यसले मद्दत गर्ने वन ब्लड बताउँछ।

मनिसको रगतको प्रकार एन्टिजिनबाट थाहा पाइन्छ। जैनावको रगतमा ‘इन्डियन बी’ नामक एन्टिजिन छैन। एन्टिजिन यस्तो तत्व हो, जसले प्रतिरक्षा प्रतिक्रिया बढाउने काम गर्छ। उनको शरीरले उनलाई दान गरेको रगतसँग लड्नेछ। त्यसैले जैनवको जस्तै उनलाई रगत दिने रक्तदाताको पनि रगतमा एन्टिजिन नभएको हुनुपर्छ । ‘ओ’ र ‘ए’ रगत समूहका हुनुपर्छ ती मानिसहरु। 

द अमेरिकन रेयर डोनर प्रोग्रामकी सिनियर डिरेक्टर सान्ड्रा नान्सी भन्छिन्, ‘त्यस्ता रक्तदाताहरु एकदम दुर्लभ हुन्छन्।’

नान्सीका अनुसार कार्यक्रमले कम्तीमा ५९ प्रकारका दुर्लभ रगतहरु पत्ता लगाएको छ जसमा १ सय २०  हजार जना दर्ता गरिएका रक्तदाताहरु छन्। उनका अनुसार यति सबैमा जैनवलाई म्याच हुने कुनै पनि प्रकारको रगतको प्रकार भेटिएन। 

यो सर्च डोनर कार्यक्रमम सेपेम्बरबाट सुरु गरिएको हो। 

तर भगवानको कृपाले उनीहरुले ३ जना डोनर पाएका छन्। अहिलेसम्म उनी उपचार गराइरहेकी छिन्। उनका पिता राहित मुघल भन्छन्, ‘हामीलाई पक्कै पनि अझै रगतको आवश्यकता पर्नेछ।’
जैनवलाई ‘न्युरोब्लास्टोमा’ नामक क्यान्सर लागेको छ, जुन उनको नशाको कोषिकामा छ, जसको उपचारका लागि केमोथेरापी चाहिन्छ।

ब्राइटका अनुसार उनी बाँच्नको लागि क्यान्सरसँग लड्न तथा क्यान्सर उपचारका लागि पूर्ण रुपमा रगत दानको आवश्यकता पर्छ।

अमेरिक रेयर डोनर प्रोग्रामका अनुसार रगतले उनलाई निको पार्ने होइन, तर रगतको सहयोग उनको सम्बन्धित क्यान्सरका लागि एकदमै महत्वपूर्ण छ। 

वन ब्लडका साथै अमेरिकन रेड क्रस, एडभान्सिङ ट्रान्सफ्युजन एन्ड सेलुलर थेरापिज वर्डवाइड एएबिबि, जुन पहिले अमेरिकन एसोसिएसन अफ ब्लड बै्र्रंक्स नामले चिनिन्थ्यो, यी सबै मिलेर रगत जुटाउन सहयोग गर्न लागिपरेका छन्।

‘दुर्लभ रगत त्यो रगत हो जुन तपाईंले चाहिएको बेला जति कोसिस गर्दा पनि पाउन सक्नुहुन्न,’ नान्सी भन्छिन्, ‘यदि कोही मानिस दुर्लभ रक्तदाताको रुपमा पहिचान भएको छ भने र रगत दान गर्न सक्षम छ भने रगत दान गरोस्। 

वन ब्लडले तयार पारेको भिडियोमा बच्चीका पिताले सहयोगका लागि अपिल गरेका छन्, ‘तपाईं यदि मध्यपूर्वको व्यक्ति हुनुहुन्छ भने मेरो छोरीको लागि रगत दान गरिदिनुस्। मेरो छोरीको जीवन तपाईंको रगतमा निर्भर छ।’ सिएनएनबाट