बैशाख १३, २०८१ बिहीबार

घरभाडाको खबरपछि साँसद आमालाई अमेरीकाबाट छोरीको चिठी



आदणीय आमा गोमा देवकोटा !
आज यहाँ धेरै चिसो छ । हिजो बाट पानी परेकाले दिन पनी रात जस्तै अध्यारो भएको छ । आज कतै घाम देखीएको छैन । म तिम्री नातीनीको गुलाबी बर्कोमा बेरीएर तिमीलाई यो चिट्ठी लेखीरहेको छु ।
आमा, हुनत तिमीलाई लाग्यो होला बिहानभरी फेसटाईममा आमाछोरी हेराहेर गरेको यो चिट्ठी लेख्ने के परेछ भनेर । तिम्रो लागी त यो खासै ठुलो कुरा होइन आमा । त्यो बेला महिलाले बोल्दा पोथी बास्यो भन्ने समाजमा पनि हलो जोतेर समाजलाई जिल्याउने तिमी चमत्कारी महिला हौ । लोग्ने मर्दा सेतो कपडा बेरेर किरीया बस्न छाडेर बलेर खरानी भएको लोग्नेको हड्डी बटुलेर काठमाण्डौंमा न्याय माग्न पुग्यौं ।
आमा तिमी साहासकी देबी हौं । त्यो महिलाले घरको दैलो काट्नुहुन्न भन्ने समाजमा रातबिरात भिर पखेराहरु छिचल्दै महिलाका हक र हितका लागी झण्डै नेपाल छिचोल्यौ तिमीले ।
आमा तिमी न्ययकी मुर्ति हौं । तर मेरी आमा म तिम्री छोरी भएर पनि मेरो छाती तिम्रो जस्तो विशाल भएन । म तिमी जस्ती साहसिली जन्मिन । मलाई ति साना कुरकुरे झार पनि उत्तीस जस्तै अग्ला लाग्छन् । मलाई छुचुन्द्राहरुको चिच्याहट पनि हात्ती गर्जेको जस्तै भान हुन्छ । तेसैले आमा तिमीमाथी लगाईएको यो सानो दाग पनि मलाई चन्द्रमामा लागेको विशाल दाग जस्तै लागेको छ ।
आमा ! धेरै पहीलाको कुरा हो, म सानी केटी थिएँ । भर्खरै प्रजातन्त्र आएको हुँदा भिमानमा (सिन्धुली) फागुन १२ गते बुबा शहिद ऋषी राज देबकोटा आजादको संम्झनामा ठूलाठूला सभा हुन्थे । कहिले मोहनचन्द्र अधिकारीले मदन भण्डारीहरु ती सभामा पुग्नुहुन्थ्यो । सभा सुरु हुनु भन्दा पहिला हजारौं मानिसहरुले भिमान बजार परिक्रमा गर्थे ।
सिन्धुलीबाट मात्र नभई मानिसहरु एक, दुई दिन हिडेर धनुषा, महोत्तरी, उदयपुर र सर्लाही जिल्लाबाट समेत त्यहाँ भेला हुन्थे । त्यहाँ आउनु हुने सबै नै कतै न कतैबाट ‘आजाद’को बिचार र जीवनशैलीबाट आफु प्रभावित भएको कुरा सुनाउँथे । सबैले उहाँको सरल, अनुसाशित, नैतिक बानीको बयान गर्थे ।
बुबाको कालो सेतो रगंको त्यो फोटो (त्यही एउटा फोटोमात्र हामी संग थियो) रातो अबीर र मालाले त्यो दिन सजाईएको हुन्थ्यो । जुलुसको अगाडी भागमा बुबाको फोटो बोकिएको हुन्थो । म पनि तिनै हुलका हुल मानिसहरुको भिडमा मेरो बुबाको फोटो हेर्दै संगसंगै हिड्थेँ । कतिचोटी त ति मानिसहरुले मलाई नै बुबाको फोटो बोक्न पनि लगाउँथे । फोटो बोक्दा भने मेरो सानो मस्तिस्कमा नानाभाँतीका कुरा खेल्थे । मलाई कता कता लाज पनी लाग्थ्यो । मनमनै सोंच्थेँ कसैले भन्ने त हेईन् ‘आफ्नो बाउको फोटो आफै बोकेकी छ भनेर?’ म आफैमाथी गिज्याउथेँ नि ‘आफ्नै बाउको फोटो के बोकेकी जोशीला, भनेर ।
म सुटुक्क फेरी कसैलाई बुबाको फोटो थमाएर फेरी त्यहि भिड भित्र ‘शहीद आजाद अमर रहुन्’ भन्ने नारा लगाउदै अघि बढ्थँे । मलाई सधैँ लाग्थो ‘मेरा बुबाले जनताको लागी ज्यान बलिदान दिएका हुन् उनीमाथी हाम्रो होईन जनताको हक लाग्नुपर्छ । उनको संम्झना हामीले होईन जनताले गर्नछन् ।’ आजसम्म त्यही सोँचेर पनि मैले कहिल्यै मेरो आमा र बुबाको नाम बेचेर कुनै स्वर्थ पूरा गरेको छैन । कहीँ कतै बाट मेरो बाउको रगत भजाएको छुईन । कसैले चिनीहालेर सोधे पनि मलाई आफैले आजाद या गोमा देबकोटाकी छोरी हुँ भन्न त्यती मन लाग्दैन ।
हुन त मेरी आमा र बुबा दुबैले आफूलाई हामी परिवारमा मात्र सिमीत राख्नुभएन । देशलाई आमा, जनतालाई आफ्नो सिङ्गो परिवार ठानेर मेरा आमा बुबा राजनीतीमा लाग्नुभयो । कहिले काहीम् फागुन १२ वा बुबाको मुख हेर्न दिन आउँदा म र मेरी आमाको थोरै भनसुन हुने गर्छ । आमा भन्नुहुन्छ, ‘आजनी बुबालाई संम्झेनौं है ?’ म भन्छु ‘आमा, बुबा हाम्रो हुनुहुन्नथ्यो । उहाँलाई हाम्रो माया थियो भने उहाँ आज बाँचेको हुनुहुन्थ्यो । अरुका बाउले जस्तै धन कमाएर हामीलाई एउटै घरमा राखेर पढाउने हुर्काउने गर्नुहुन्थ्यो । देशको होईन हामी छोराछोरीको परीबारको भविष्य कोर्नु लाग्नुहुन्थो ।’
आमालाई मेरो कुरा त्यती चित्त बुझ्दैन तर पनि मेरो कुरामा मन दुखाउनुहुन्न । आमा हाम्रो केटाकेटीले भोगेको दुःख संम्झनुहुन्छ र पिलिक्क रुनुहुन्छ सधैँजस्तै । बुबाआमा बिना अर्काको घरमा बिताएको हाम्रो बाल्यकाल, छोराछोरी बिरामी हुँदा टाउको छाम्न नपाएको आमाको आफ्नो पिडा, स्कुल जाँदा कोर्न नपाएको त्यो हाम्रो चुल्ठो, भोक लाग्दा जोड्न नपाएको त्यो घरको चुलो संम्झेर मेरो घाउमा आमा केही मलम लगाउने कोसीस गर्नुहुन्छ र भन्नुहुन्छ – ‘छोरी देश र जनता भनेको तिमी पनि हौ । देशको भलो हुँदा तिम्रो पनि भलो हुन्छ । छोरी, बुबाले तिमीलाई पनि उत्तिकै माया गर्नुहुन्थ्यो, जति यो देश र जनतालाई गर्नुभयो ।’
आमा, हो तिमी तिनै आमा हौ मेरी आमा, अनि तिम्रो त्यो दुःखमा अझै धेरै दुःख थप्न जन्मिएकी त्यही छोरी हुँ म । हो म त्यही बाबुकी छोरी हुँ, जसले जनताले उठाएको लेबीले नेताहरुले हिन्दी फिल्म हेरे भनेर तत्कालीन मसाल पार्टीको पोलीटब्युरो बाट राजीनामा दिएका थिए । म तिनै बाउकी छोरी हुँ जसले सबैले नडाराई बोल्न र लेख्न पाउनुपर्छ भन्ने अधिकार माग्दामाग्दै छातीमा गोली थापेर शहीद भएका थिए ।
मेरी आमा, जसले हामी नेपालीको गाँस बास र कपासको हकको सुरक्षाको लागि लड्न गोली ठोकेर मारीएका श्रीमानको रगत सुक्न नपाउदै आफ्ना नाबालक चार सन्तानलाई जनताको जिम्मामा छाडेर हिँडेकी थिईन् । त्यस दिन देखी जलाएर खरानी भएको श्रीमानको खरानीलाई निधारमा टिका लगाएर हिँडेकी मेरी आमा आजसंम्म लगातार नेपाल र नेपालीको भविष्य फेर्न भएका हरेक आन्दोलनको मोर्चामा अग्रपंक्तिमा त्यो चाउरीएको बुढो तर जोशीलो शरीर लिएर तपाईं सबैको माझमा भेटिन्छिन् ।
उनले यो आन्दोलमा हिँड्दा छोराछोरीको माया हराईन । उनीहरुको समिप्य गुमाईन । आमा बन्ने मौंका चुकाईन् । आमा, आज कती पनि धक् नमानी म तिम्रो कुरा गर्छु । बुबाको फोटो बोक्दा मानिसले कुरा काट्लान् कि भनेर लजाउने त्यो सानी केटी म, आज कसैले के भन्लान् कि नभनी भन्छु – ‘तिमी, नेपाली राजनीतिको त्यो तारा हौं, जसले ईमानदार भएर पनि नेपालमा राजनीति गर्न सकिन्छ भन्ने शिक्षा दिएकी छौं । आमा, तिम्रो उर्वर समय तिमीले हामीलाई हुर्काउन होईन देश अघि लगाउन व्यतित ग¥यौ । तर पनि म कसरी ट्वाल्ल परेर हेरुँ तिमीले नगरेको बैमानीको दाग लागेको ?’ त्यसैले तिम्रो सम्मान आज मैबाट सुरु गर्छु ।
संम्झन्छु त्यो कालो रात, जुनबेला तिमी बर्ष दिनमा एक दुई दिन मेरी आमा बनेर मलाई भेट्न ति जनताको झुपडीमा आउँथ्यौ । तर खाली हात । मेरो साना हातहरुले तिम्रो पोल्टो खोतल्थ्यो । त्यो पोल्टोमा मेरो लागि केही कोशेली छ की? भन्ने आशमा । तर त्यो पोल्टोमा म पाउथेँ एक जोर कसैले दिएका आङ डाक्ने जडेउरी तिम्रो लुग्गी चोलो, पार्टीको हँसिया हथौंडाले रंगीन रसीद, प्याड र हजारौं नगद रुपैयाँ । पैसा देखेर म रुन्थेँ, अनी बिलौंना गर्थे – त्यत्रो पैसा भएर पनि पिपलगेडी नल्याईदिएकोमा । म रुन्थेँ सुन्तला मिठाईँ खान नपाएकोमा । सायद त्यो बेला पिपलगेडी मिठाईँ एक रुपैयाको असीवटा आउँथ्यो ।
सुन्तला चकलेट चारवटा । ग्लुकोज बिस्कुटको पुरीयालाई सायद दुई रुपैयाँ पचास पैसा पर्थ्याे होला । आमा सम्झाउनु हुन्थ्यो, ‘छोरी यो जनताले पेट काटेर बुझाएको लेबी हो, यो पार्टीको सम्पती हो ।’ चकलेट र बिस्कुट नपाउँदा नरोऊ बरु, जनताको मायाले पेटभरी भात खान पाएकोमा खुशी हुनुपर्छ’ भन्दै मेरो र आफ्नो आँसु संगै पुछ्नुहुन्थ्यो ।
आमा, तिमी पहिलो पल्ट साँसद हुँदा हाम्रो अबस्था के थियो ? तै पनि तिमीले नेपाली राजनीतीको एउटा ठूलो दाग सांसदले पाएको पजेरो सुविधा पनि नलिने घोषणा गरेकी थियौं । तर तिम्रो त्यो सानो तर राम्रो काम कसैले देखेनन् । बरु तिमी पनि त्यहि पजेरो बेचेर खाने सांसद भनियौ । आज फेरी काठमाडौंमा घर भएर पनि घर भाडा लिएर खाने साँसद भयौ तिमी । तिनीहरुले देखेनन् तिम्रो त्यो ईमानदारीता जब कि तिमीले उहिल्यै संसद सचिवालयमा गईगई कर्मचारीले गरेको गल्ती सच्चाएर पैसा फिर्ता गरीसकेकी थियौ ।

तिम्री छोरी, जोशीला
हाल -मेरील्यान्ड, अमेरीका