जसले खुट्टा भाँचिएर पनि : चारजनालाई काखीमा च्यापेर हुरीबाट जोगाइन्

नारी खबर / चैत्र २०, २०७५ - बुधबार



बारा– आइतबार साँझ करिब सात बजेतिर बाराको फेटा गाउँपालिका–६ पुरैनाकी मोलेसा खातुन परिवारसँग बसेर खाना खाँदै थिइन्। खाना खाँदा–खाँदै एक्कासी बत्ति गएर अन्धकार भयो। बत्ति आउला र खाना खाउँला भनेर बसेका उनीहरुको त्यो चाहना पूरा हुन पाएन।

यत्तिकैमा हावा हुरी चल्न थाल्यो। चारजना छोराछोरीलाई काखीमा च्यापेर बसिन्। उनका श्रीमान मस्तुफा मियाँ हावाहुरीको अवस्था हेर्न बाहिर निस्किए। बाहिर निस्किएका उनी फर्केर भित्र पस्नै पाएनन्। हुरीले उनलाई पनि आफूसंगै लगेर गयो।

हुरीले उनको घर भत्कायो। भत्किएको घरले उनका चारजना छोराछोरी र उनका सुसुरालाई मात्रै च्यापेन, उनको आफ्नो दायाँ खुट्टा समेत भाँचिन पुग्यो।

उनलाई आफ्नो भन्दा पनि छोराछोरीको ज्यान कसरी बचाउने भन्ने चिन्ताले सताउन थाल्यो। आफैले आफ्ना चारजना छोराछोरी र सुसुराको उद्दार गरिन्। उनका ससुरा केहीदिन अघिमात्रै छोराबुहारीलाई भेट्न आएका हुन्।

काखीमा च्यापेर छोराछोरीलाई त हुरीबाट जोगाइन्, तर हुरीले उडाएका उनको श्रीमानको कुनै अत्तोपत्तो थिएन्। हुरी थामिएपछि उनले करिब एक घण्टा श्रीमान्‌को खोजी गरिन्।

घाइते भएकी उनी मंगलबार अस्पतालबाट डिस्चार्ज भएकी छन्। दायाँ खुट्टा भाँचिएकी उनको अवस्था अहिले सामान्य छ। उनका श्रीमान सहित उनीहरु अहिले उनको माइतीमा बसेका छन्।

उनी अहिले करिव २६ वर्षकी भइन्। उनको विवाह भारत मोतिहारीका मुस्तुफा मियाँसँग भयो। परिवारको आर्थिक अवस्था कमजोर थियो। उनीहरु माइतीको जग्गामा सानो झुपडीमा बनाएर बसेका थिए। श्रीमान दिनभरि ज्याला मजदुरी गरेर परिवारको पेट पाल्दै आएका थिए।

आइतबार राती बारा र पर्सा लगायत तराईका जिल्लामा आएको हावाहुरीले अकल्पनिय क्षति गर्‍यो। जसबाट २८ जनाले ज्यान गुमाए भने करिब ६ सय भन्दा बढी घाइते भए। हावाहुरी यति निदर्यी भएर आयो कि क्षणभरमा घरहरु भत्किएर बस्तीहरु पुरै खण्डहरमा परिणत भए। देशसञ्चारबाट


प्रतिक्रिया दिनुहोस


सब्य र भब्य तरिका ले आफ्नो धारणा राख्नुहोस।

error: Content is protected !!