बैशाख १४, २०८१ शुक्रबार

बीस वर्षमुनिका चार सय किशोरी गर्भवती



दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकामा एक वर्षमा तीन सय ७५ जना किशोरी बिबाह गर्ने उमेर नपुग्दै गर्भवती भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

कानुनले महिलाको विवाह गर्ने उमेर २० वर्ष तोकेपनि त्यो भन्दा कम उमेरमा गर्भवती हुने किशोरी धेरै रहेको तथ्यांक महानगरपालिकाले सार्वजनिक गरेको हो ।

यो तथ्यांकले बालविवाह न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन नसकेको उपमहानगरकाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताए।

अझै पनि तुलसीपुरमा बालविवाह न्यूनीकरण हुनसकेको छैन्”, उनले भने , “चालु आर्थिक वर्षको आठ महीनामा ३७५ किशोरी गर्भवती जाँच गर्न आएका छन् ।”

तुलसीपुरमा बालविवाह न्यूनीकरणका लागि घर–घरमा प्रमुखको पत्र, सचेतनामूलक नाटक, अन्तक्र्रिया, पुजारीलाई सचेतना प्रदान गरेपनि अझै बालविवाह न्यूनीकरणमा कमी हुन नसकेको तथ्याङ्कले देखाएको छ ।

१७ गर्भपतन, २८४ गर्भ निरोधक साधन प्रयोग
तथ्यांक अनुसार चालु आर्थिक वर्षमा २० वर्ष भन्दामुनिका १७ ले गर्भपतन गराएका छन् ।
२० वर्षभन्दामुनिका ११ जनाले पिल्स, १८३ ले डिपो, ८२ ले इम्पलान्ट, आठ जनाले आइयुसिडी प्रयोग गरेको पनि उपमहानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।

अस्पतालमा बच्चा जन्माउने बढे
महाशाखाको तथ्याङक अनुसार अस्पताल गएर सुत्केरी हुनेको सङ्ख्या भने बढ्दै गएको पाइएको छ ।

उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म एक हजार २८९ जना महिला अस्पताल गएर बच्चा जन्माएका भएका छन् ।

त्यसमध्ये एक हजार ८२ सामान्य रुपमा सुत्केरी भएका थिए । १४ जनाको उल्टो बच्चा भएकोले भ्याकुम मार्फत ११, अप्रेसन गरेर ७७ जनाले बच्चा जन्माएका छन् । जन्मेकामध्ये आठको मृत्यु भएको अस्पत्तालले जनाएको छ ।