बैशाख १४, २०८१ शुक्रबार

गाउँमै पुगेर गर्भवतीको भिडियो एक्स-रे



हुम्ला – हुम्लाको सिमकोट गाउँपालिकाले गाउँमै स्वास्थ्यकर्मी पुगेर गर्भवतीको जाँच गर्ने व्यवस्था मिलाएको छ ।

गर्भवतीले नियममित स्वास्थ्य परिक्षण गराउनुपर्ने भएपनि स्वास्थ्य संस्था टाढा भएका कारण जान नसकेका महिलाहरुका लागि गाउँमै पुगेर गर्भ परीक्षण गराउने व्यवस्था मिलाएको हो ।

जाँचका लागि अस्पतालका डा. टसी लामाको टोलीसहित स्वास्थ्यकर्मी गाउँमा पुगेको थियो ।
जिल्ला अस्पतालसम्म गर्भ जाँच गर्ने पहुँच नपुगेका १६ महिलाको गर्भ जाँच गरिएको डाक्टर लामाले जानकारी दिए ।

गर्भ जाँच गरिएका एक महिलाको गर्भमा समस्या देखिएको र बाँकी १५ को गर्भ सबै राम्रो देखिएको उनले बताए ।

सिमकोट गाउँपालिकाभित्रका आठवटै वडामा गर्भवती महिलाको घरमा नै पुगेर भिडियो एक्स–रे र गर्भ जाँच गरिने कार्यक्रम रहेको गाउँपालिका स्वास्थ्य शाखाका महिला स्वास्थ्यकर्मी निरुता खड्काले बताइन् ।

पहिले पहिले गर्भ बसेपछि डर र लाज मानेर घरदेखि बाहिर ननिस्कने दुर्गम हुम्लाका महिला अहिले भने खुलैरै स्वास्थ्य संस्थासम्म पुग्ने गरेका छन् ।

तर विकट गाउँहरुका महिलालाई अस्पत्ताल टढा हुँदा नियमित जाँच गराउन जान समस्या छ ।

हिमाली जिल्लाका महिलाका लागि सरकारले स्वास्थ्य संस्थामा गएर चार पटक गर्भ परीक्षण गराए बापत रु आठ सय र स्वास्थ्य संस्थामा नै सुत्केरी हुनेलाई रु तीन हजार दिने व्यवस्था गरेको छ ।

स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क सुत्केरी सेवा प्रदान गरिँदै आएको पनि उनले बताए ।